उपाधि होडमा आर्मी र आयोजक

हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति राष्ट्रिय गोल्डकप तेस्रो संस्करणको फाइनल प्रतियोगिता भोलि हुने भएको छ । उपाधिका लागि आयोजक रिगल रिसोर्ट मकवानपुर–११ र विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब भिड्ने भएका छन् ।

उपाधि भिडन्तका लागि दुवै टोलीले विजयी हुने दाबी गरेका छन् । शुक्रबार भएको प्रि म्याच कन्फ्रेन्समा बोल्दै आर्मीका म्यानेजर चुनबहादुर थापाले उपाधि जित्न आर्मी आतुर रहेको बताए ।

उनले भने, ‘हामीले हिजो बलियो विदेशी टोलीलाई हराएका छौं, त्यसले हामीमा उत्साह छ । उपाधि हामीले लैजानेमा विश्वस्त छौं ।’ यस्तै आर्मीका कप्तान टेकबहादुर बस्नेतले पनि फरेस्ट्री मैदानमा आर्मीले ३ वटा प्रतियोगितामा फाइनल पुगिसकेको र चौथो फाइनलका लागि तयार भएको बताएका छन् । उनले हेटौंडाबाट आर्मीले ट्रफी लैजाने विश्वास दिलाएका छन् ।

यसो त डिफेन्डिङ च्याम्पिएन घरेलु टिम रिगल रिसोर्ट मकवानपुर–११ ले यो वर्ष पनि उपाधि अरूलाई नदिने तयारी गरेको छ । सेमिफाइनलमा मछिन्द्रसँग खेल्दा केही खेलाडी अन फिट रहे तापनि फाइनलका लागि तयार रहेको प्रशिक्षक विजयलाल श्रेष्ठले बताए । टिमका म्यानेजर युवराज लामाले परिचित खेल मैदान, घरेलु दर्शकको साथले मकवानपुको टोलीले उत्कृष्ट प्रदर्शन गर्ने बताए । यस्तै टिमका कप्तान अशोक बरालले खेलमा मकवानपुरको दबाब हुने बताउँदै सेमिफाइनलमा भएका गल्ती नदोहोर्‍याउने बताएका हुन् ।

प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख तथा उपविजेताले ५ लाख पाउनेछ । त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट हुने खेलाडी बुलेट बाइक प्राप्त गर्नेछन् । खेल भोलि दुई बजेबाट हुने आयोजकले जनाएको छ ।





  • प्रकाशित मिति : चैत ६, २०७७ शुक्रबार १७:४९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया