तेस्रो संस्करणको सहिद स्मृति हेटौंडा गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा साविक विजेता आयोजक रिगल हेटौंडा रिसोर्ट मकवानपुर–११ लाई १–० गोलअन्तरले पराजित गर्दै त्रिभुवन आर्मीले १० लाख पुरस्कार राशिसहित उपाधि जितेको हो ।
साविक विजेता आयोजक मकवानपुर–११ उपविजेतामा सीमित हुँदै नगद ५ लाख रुपैयाँ प्राप्त गरेको छ । त्रिभुवन आर्मीका लागि कप्तान टेकबहादुर बुढाथोकीले खेलको ३८ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो ।
फाइनलमा म्यान अफ द म्याच टेकबहादुर बुढाथोकी घोषित भए । प्रतियोगिताको उत्कृष्ट फरवार्ड मकवानपुरका रञ्जन विष्ट घोषित भए भने उत्कृष्ट प्रशिक्षक नवीन न्यौपाने, उत्कृष्ट डिफेन्डर दीपक गुरुङ, मिडफिल्डर सेसेहाङ आङदेवे र गोलकिपर विवश चौधरी त्रिभुवन आर्मीबाट घोषित भए । विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
प्रतियोगिताका विजेता तथा उपविजेतालाई अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पा, बागमती प्रदेश सभाका प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँ, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले पुरस्कार वितरण गरेका थिए ।
अमिरलाई बुलेट
तेस्रो संस्करणको सहिद स्मृति हेटौंडा गोल्डकप प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित हुँदै आयोजक रिगल हेटौंडा रिसोर्ट मकवानपुर–११ का खेलाडी अमिर श्रेष्ठले रोयल इनफिल्ड (बुलेट) बाइक जितेका छन् । उत्कृष्ट खेलाडीलाई रोयल इनफिल्ड बाइक हेटौंडा स्कुल अफ म्यानेजमेन्टले प्रायोजन गरेको हो । नेपालका प्रतियोगितामा बाँडिने सर्वोत्कृष्ट खेलाडीले पाउने पुरस्कारमध्ये अहिले सम्मकै महंगो पुरस्कार दिइएको हो ।
पुरस्कार वितरण कार्यक्रममा बोल्दै एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले हेटौंडामा छिट्टै फुटबलको तालिम केन्द्र सञ्चालन गर्ने बताएका छन् ।
यस्तै अर्को वर्ष हुने गोल्डकपमा पुरस्कारको राशि बढ्ने भएको छ । प्रथम हुने टिमले अर्को वर्ष १५ लाख र दोस्रो हुने टिमले १० लाख पुरस्कार पाउने छन् । कार्यक्रममा बोल्दै प्रतियोगिताको संरक्षक हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले उपमहानगरले अब आउने बजेटमा व्यवस्था गरेर पुरस्कार राशि बढाउने बताएका हुन् । प्रतियोगिता प्रताप विष्टको संयोजकत्वमा भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।