कोरोना प्रभावित ५ लाख व्यवसायीले लिए राहत प्याकेज

महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण विश्वभरका व्यवसायीहरू प्रभावित बनेका छन् । यसबाट नेपाल पनि अछुतो रहन सकेको छैन । कोरोना प्रभावित व्यवसायीलाई राहत स्वरुप सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत् कर छुटको सुविधा घोषणा गरेको थियो । सरकारको घोषणा अन्तर्गत हालसम्म ५ लाखभन्दा बढीले सो सुविधा प्राप्त गरिसकेको आन्तरिक राजस्व विभागले जनाएको छ ।

कोरोना प्रभावित व्यवसायलाई राहत दिन तथा शिथिल भएको आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यसहित सरकारले उक्त सुविधाको घोषणा गरेको थियो ।

विभागका निर्देशक एवम प्रवक्ता अर्जुन ढकालका अनुसार सरकारले चालु आवको बजेटमार्फत् लघु, घरेलु तथा साना उद्यम र पर्यटन व्यवसायीलाई आयकरमा २० देखि ७५ प्रतिशतसम्म छुट दिने घोषणा गरेको थियो । सोही घोषणाअनुसार ५ लाख १२ हजारभन्दा बढी व्यवसायीले २ अर्ब १६ करोड रुपैयाँ कर छुट लिएको ढकाल बताउँछन् ।

तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आव ०७७/७८ को बजेटमार्फत् कोरोना प्रभावित व्यवसायलाई आर्थिक वर्ष ०७६/७७ को आयकरमा छुट दिने घोषणा गरेका थिए । उक्त घोषणाअनुसार आन्तरिक राजस्व विभागले आयकरमा छुट दिइरहेको विभागका प्रवक्ता ढकालले स्पष्ट पारे ।

सरकारले बजेटमार्फत् २० लाखसम्म कारोबार गर्ने करदातालाई आर्थिक वर्ष ०७६/७७ को आय विवरणअनुसार लाग्ने आयकरमा ७५ प्रतिशत छुट दिने घोषणा गरेको थियो । यस्तो सुविधा ५ लाख १२ हजारभन्दा बढी करदाताले लिएको आन्तरिक राजस्व विभागको तथ्यांकमा छ । ती करदाताले यस सुविधाअनुसार १ अर्ब ५० करोड रुपैयाँको छुट लिएका छन् ।

विभागका अनुसार बजेटमा घोषणा भए अनुरूप २० लाख रुपैयाँसम्मको कारोबार गर्ने व्यवसायीलाई सरकारले आयकरमा ७५ प्रतिशत छुटको व्यवस्था गरेको छ ।



जसअन्तर्गत हालसम्म ४ लाख ४३ हजार व्यवसायीले १ अर्ब ५० करोड रुपैयाँ छुट लिइसकेको विभागको भनाइ छ । त्यस्तै, २० देखि ५० लाख रुपैयाँसम्मको कारोबार गर्ने व्यवसायीलाई ५० प्रतिशत आयकर छुटको व्यवस्था दिएको छ ।  यसअन्तर्गत १९ हजार ७२३ जना व्यवसायी लाभान्वित भएका छन् । उनीहरूले २० करोड ८५ लाख रुपैयाँ बराबरको आयकर छुट लिएका छन् ।

५० लाखदेखि १ करोड रुपैयाँसम्म कारोबार गर्ने व्यवसायीले २५ प्रतिशत आयकर छुट पाएका छन् । विभागका अनुसार हालसम्म ४९ हजार ७५४ करदाताले ३९ करोड ३२ लाख रुपैयाँ बराबरको आयकर छुट लिएका छन् ।



कोरोनाका कारण अति प्रभावित क्षेत्र अर्थात् पर्यटनमा समेत सरकारले उक्त राहत दिने व्यवस्था गरेको थियो । सरकारले कोरोना प्रभावित पर्यटन व्यवसायीलाई समेत ०७६/७७ को आयकरमा छुट दिने घोषणा गरेको विभागको भनाइ छ ।

बजेटले कोरोना संक्रमणबाट बढी प्रभावित भएका हवाई सेवा, यातायात सेवा, होटेल, ट्राभल तथा ट्रेकिङ व्यवसायीलाई आर्थिक वर्ष ०७६/७७ को आय विवरणअनुसार लाग्ने आयकरमा २० प्रतिशत छुट दिने व्यवस्था गरेको थियो । यस सुविधाअनुसार २८८ व्यवसायीले ५ करोड ६२ लाख रुपैयाँ छुट प्राप्त गरेका छन् ।

पछिल्लो समय सरकारले दिएको उक्त छुट सुविधा प्रभावकारी रूपमा अघि नबढेको निजी क्षेत्रको ठहर छ । उपत्यकामा रहेका व्यवसायीले सहज रूपमा नै उक्त सुविधा प्रयोग गरे तापनि जिल्लाका व्यवसायी भने सुविधाबाट टाढा रहेको उनीहरूको दाबी छ ।

यद्यपि, छुट सुविधा सबैले पाएको विभागको दाबी छ । करदाताले सर्वप्रथम हामीलाई उनीहरूको विवरण पेस गर्छन् प्रवक्ता ढकाल भन्छन्, सोही विवरणका आधारमा सबैले एकरूपताका साथ सुविधा पाएका छन् । निजी क्षेत्रले व्यक्त गरेअनुरुपको गुनासो छैन ढकाल बताउँछन् ।

  • प्रकाशित मिति : चैत ८, २०७७ आइतबार १९:५६:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया