क्रिकेट खेलाडीको खातामा एक वर्षको तलब एकैपटक !
फाइल तस्बिर

नेपाली क्रिकेट खेलाडीले एक वर्षको तलब एकैपटक पाउने भएका छन् । नेपाल क्रिकेट संघ, क्यानले सन् २०२० को तलब आज र भोलि गरी खेलाडीको खातामा पठाउने तयारी गरेको छ । 

आइसिसीबाट खेलाडी, ग्राउण्ड स्टाफ लगायत सबैको रकम निकासा भइसकेकाले अब वितरण गर्ने प्रक्रियामा रहेको क्यानले जनाएको छ । खेलाडीले सन् २०२० को तलब एकैपटक पाउन लागेका हुन् । 

लामो समयदेखि आइसिसीले रोकिएको तलब पठाएपछि वितरण गर्न लागिएको हो । यसअघि, पहिला ६ महिनाको मात्रै पठाउने आइसिसीले बताएपनि क्यानको निरन्तर पहलका कारण एक वर्षको तलब एकैपटक आएको हो । 

क्यानले आज सोमबार महिला खेलाडीहरुको तलब बैंक खातामा पठाउने तयारी गरेको छ । यस्तै, भोलि मंगलबार पुरुष खेलाडीको तलब पठाउने तयारी भएको छ । क्यानको हिजो बसेको आर्थिक समितिको बैठकले खेलाडी र सबै स्टाफहरुको पारिश्रमिक दिने विषयमा निर्णय गरेको थियो ।


क्यानका अनुसार सन् २०२० जनवरी १ तारिखदेखि डिसेम्बरसम्मको पारिश्रमिक खेलाडीहरुले पाउन लागेका हुन् । क्यानले गत असोजमा गरेको केन्द्रीय सम्झौता अनुसार महिला तर्फ २२ र पुरुष तर्फ २० जना खेलाडी छन् । महिला र पुरुष गरी दुवै तर्फ ए, बी र सी श्रेणीमा खेलाडीको पारिश्रमिक दिने सम्झौतामा उल्लेख छ ।

ए श्रेणीमा रहेका पुरुष खेलाडीहरुले ५० हजार पाउँदा ए श्रेणीका महिला खेलाडीले १५ हजार पाउने छन् । बी श्रेणीमा रहेका पुरुष खेलाडीले ४० हजार रुपैयाँ पाउँदा महिला तर्फ बी श्रेणीका खेलाडीले १२ हजार मासिक पारिश्रमिक पाउने छन् ।



यस्तै सी श्रेणीका पुरुष खेलाडीले मासिक ३० हजार प्राप्त गर्दा महिला तर्फ मासिक १० हजार पारिश्रमिक पाउने छन् । क्यानले सन् २०२१ को नयाँ सम्झौता अबको केही समयमा गर्ने पनि जनाएको छ ।



  • प्रकाशित मिति : चैत ९, २०७७ साेमबार ७:४८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया