‘कांग्रेस अब सरकारमा जाँदैन, निर्वाचनमा जान्छ’
प्रचण्डले धोका दिए, उनलाई विश्वास गर्न सक्दैनौँ

फागुन ११ मा प्रतिनिधिसभा पुन:स्थापित भएसँगै राजनीतिक जटिलता झन् झन् बढ्दो छ। प्रतिनिधिसभा पुन:स्थापित भएको १३ दिनपछि सर्वोच्च अदालतले नेकपा खारेज गर्दै साविककै नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्यूँताइदियो। दुई पार्टी ब्यूँतिएपछि केपी शर्मा ओली नेतृत्वको सरकार गठबन्धनमा परिणत भएको छ। पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि त्यसविरुद्ध आन्दोलित प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस लामो समयदेखि मौन छ। ओलीलाई सत्ताबाट बिदा गर्न जोडतोडले लागेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग पटक पटक भेट गरेका छन्। तर कांग्रेसले आफूलाई सत्तामा जान हतार नभएको बताउँदै आएको छ। सभापति देउवाले परिस्थिति परिपक्व नभएको जवाफ दिइरहेका छन्। यो अवस्थामा अहिले कांग्रेस पर्ख र हेरको अवस्थामा छ। यदि कांग्रेस नेतृत्वमा सरकार बनाउने हो भने माओवादीले ओली सरकारको समर्थन फिर्ता लिनुपर्ने, जनता समाजवादी पार्टीले पनि आफूलाई सिंगै समर्थन गर्नुपर्ने अडान सभापति देउवाले लिएका छन्। लामो समयदेखि पर्ख र हेरमा रहेको कांग्रेसलाई किन सरकारमा जान हतार नपरेको? किन अनिर्णय बन्दी बनिरहेको? यी र यस्तै विषयमा केन्द्रित भएर फरकधारकर्मी रुपक चौलागाईंले नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीसँग संवाद गरेका छन्। 

५ पुसमा प्रधानमन्त्रीले संसद विघटन गरेपछि कांग्रेसले चर्को विरोध गर्यो, मध्यावधि निर्वाचन घोषणाको पनि। तर, त्यही कांग्रेस अहिले ‘अर्ली इलेक्सन’को नारा लगाइरहेको छ। हिजो एमालेलाई ढुलमुले भन्ने तपाईंहरु आज यो अवस्था आउँदा किन मौन हुनुहुन्छ ? 

होइन, २/३ वटा कुरामा हामीले नेपालको वर्तमान अवस्थालाई नियालेर हेर्नुपर्छ। एक, हाम्रो संविधानमा संसद विघटन गर्ने पहिलो दोस्रो, तेस्रो प्रावधान छैन। तसर्थ, संविधानमा व्यवस्थापिका, कार्यपालिका वा संविधानको व्याख्या हामीले सर्वोच्चको मानेका छौँ। अझै पनि पहिला जस्तो व्यवस्थापिकामै, कार्यपालिकामै, न्यायपालिकामै भनेर बुरुक्क बुरुक्क गरिरहेका छन्। त्यो गर्न आवश्यक छैन। त्यसको व्यवस्था हामीले संविधानमा गरेका थियौँ। त्यसकारण बढी बुरुकबुरुक गर्नु उहाँहरुको जिनेटिक प्रोब्लम हो। 

दोस्रो कुरा, नेपाली कांग्रेस कहिले पनि ढुलमुले थिएन, अहिले पनि छैन। बन्दुक लिएर हिँड्नुपर्ने, खुकुरी लिएर हिँड्नुपर्ने, तर्साउँदै हिँड्नुपर्ने यो जंगली अवस्था होइन। अहिले त देशमा संविधान छ, कानुन छ। समाज छ, उसैले बाँध्छ नि त। त्यसकारण गुर्नपर्ने निर्णय त संविधानले गर्छ नि। प्रधानमन्त्रीको कदम पनि सर्वोच्चको फैसलाबाट असंवैधानिक ठहर भयो। केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड मिल्दा ऋषि कट्टेलको पार्टीलाई लुटेका थिए, त्यसलाई लिएर उचित निर्णय सर्वोच्चले गर्यो। त्यसकारण कांग्रेस जुन अवस्थामा छ, कांग्रेसले जुन अडान राखेको छ। यसबाट कांग्रेस संविधानसम्मत र सही कानुनी अडान छ भन्ने बुझ्नुपर्छ। 

अहिले त कांग्रेसले नै सरकारको नेतृत्व गरोस्, कम्युनिष्टहरू नै तपाईंहरुकै सभापति प्रधानमन्त्री बने हुन्छ भनिरहेका छन्। तर, यसमा कांग्रेसले अझै पनि निर्णय गर्न सकेको छैन। निर्णायक शक्ति हुँदाहुँदै पनि कांग्रेस अनिर्णयको बन्दी किन बनिरहेको छ ? 

कांग्रेसले समस्यादेखि भाग्नु हुँदैन। कांग्रेस निकास दिने कुराबाट बाहिर जान पनि हुँदैन। तर, अहिले देशमा के छ ? प्रचण्डजीले केपी ओलीलाई र केपीजीले प्रचण्डलाई प्रयोग नगरेका शब्द कुनै छन् र ? जुन शब्द शब्दकोषमा पनि भेटिँदैनन्, त्यस्ता शब्द प्रयोग भइरहेका छन्। तर, अझै पनि माओवादीले किन सरकारबाट हात भिक्न सकेको छैन, किन समर्थन फिर्ता लिएको छैन? तराईका पार्टीले किन निर्णय गरेका छैनन् ? यदि माओवादीले हात उठाउँदा केपी ओलीजीले विश्वासको मत ल्याउन सक्नुभएन, कसैको सरकार बनेन भने तराईको पार्टी वा कांग्रेसले सरकार नबनाइ हुँदैन नि। बहुमतको सरकार नबनाउँदा त फेरि ठूलो दलले सरकार बनाउँछ। त्यो बेलामा त फेरि केपी ओलीजीकै ठूलो दल हुन्छ। त्यसकारण मानिसहरुले बाहिरबाट नबुझेकाले, संविधान नपढेकाले यस्तो भनेका हुन्।  



सत्तामा छिटो जान पाए हुने भन्नेमा कांग्रेस छैन। बिनाबाटो, बिनासडक सत्तामा जान खोज्ने के हो ? सरकार फेरिने त प्रक्रिया नै सुरु भएको छैन। यदि प्रक्रिया अघि बढाउने हो भने माओवादीले सरकारबाट हात झिकोस्। तराईका पार्टीले संयुक्त रुपमा हामी एकै ठाउँ जान्छौं भनेपछि कांग्रेस नेतृत्व लिन तयार छ। माओवादीले समर्थन फिर्ता लिएपछि मात्रै एउटा कोर्ष अघि बढ्छ। बल्ल पोलिटिकल सम्वादका कुरा, छलफल सुरु हुन्छन्। 

प्रधानमन्त्रीबाट केपी ओलीलाई हटाउन कांग्रेस नेतृत्वमा आउन तयार भए माओवादी केन्द्र जसपाहरुले साथ दिने देखिन्छ। तर, कांग्रेसले अझै के गर्छ भन्ने खुलेको छैन। कांग्रेसको प्राथमिकता चाहिँ के हो ? सरकार, मध्यावधि निर्वाचन वा १४ औँ महाधिवेशन ?



पहिलो कुरा, कांग्रेस आफ्नो महाधिवेशनतर्फ पनि जानै पर्छ। संवैधानिक रुपले हाम्रो मिति भदौ अन्तिम हो। यदि हामी गएनौँ भने हाम्रो पार्टी कसैको नाममा दर्ता हुन सक्छ। यो हामीले बनाएको संवैधानिक व्यवस्था हो। दोस्रो, सरकार सञ्चालनको कुरामा नेपाली जनताले जहिले पनि सरकारको कुरा, जहिले पनि सत्ताको कुरा, जहिले पनि कमाउने कुरा र अहिले कम्युनिष्ट द्वन्द्वका कारण जनतालाई निराश बनाएको छ। त्यसकारण हामी जतिबेला पनि सत्ताको कुरा गरेर जनताको अगाडि ‘अनपपुलर’ हुने पक्षमा छैनौँ। किनभने अहिले नाटक मञ्चन त कम्युनिष्टहरुले नै गरिरहेका छन्। हिजो जनताले यत्रो बहुमत दिएर जितेको पार्टीले सत्ता चलाउन छाडेर झगडा, टन्टा, करप्सन जुन भइरहेको छ, त्यसले जनता दिक्क भइसकेका छन्। यदि कांग्रेस पनि सत्ताकै लागि झगडामा गयो भने जनतामा निराशा ल्याउँछ। यसले एकदम अराजक स्थिति देशमा हुन सक्छ। त्यसकारण हामी यसमा गम्भीर छौं। 

देशमा राजनीतिक संकट देखिँदा अब कांग्रेसले संस्थागत निर्णय लिनुपर्ने बेला त आयो नि होइन र ? 

हामी आवश्यक परेमा संस्थागत निर्णय गर्छौं। राजनीतिक निकास त हामीले संविधानमा दिइसकेका छौं। हाम्रो संविधानभन्दा पहिलेका कुरा गर्छौं। जतिबेला खुँडा खुकुरी थिएन, त्यतिबेला ढुंगाले लड्थ्यौँ नि। जतिबेला बन्दुक थिएन त्यतिबेला हामी खुँडा खुकुरीबाट लड्थ्यौँ। अहिले हामीसँग यतिधेरै सोसल मिडिया छन्। उनीहरुले उचालिदिएको एउटा इस्युले सरकार ढल्छ। सरकारले गरेका निर्णयहरु ‘विड्र’ गर्नुपर्ने हुन्छ। पार्टीका निर्णय पनि फिर्ता लिनुपर्ने हुन्छ। त्यसकारण हामीले गर्ने हरेक निर्णयहरूको निकास संविधानले दिएको छ। संविधानमा कुनै कन्फ्युज भयो भने सर्वोच्चले गर्छ। त्यसकारण हाम्रो दम्भ, हाम्रो घमण्ड के हो भने, अहिले पनि कुनै ढंग पनि छैन, रंग पनि छैन। अवसर पाएको बेलामा देश चलाएको पनि हैन। वा कुनै ठाउँमा अध्यक्ष भएको छ भने त्यो चलाउन सकेको पनि हैन। उसैले घमण्ड गरेर कार्यपालिकाको व्याख्या पनि उसैले गरेको हुन्छ, न्यायपालिकाको व्याख्या पनि उसैले गरेको हुन्छ। व्यवस्थापिकाको पनि उसैले गरेको हुन्छ। अहिले त्यो जमाना होइन। शक्ति पृथकीकरणको आधारमा सबै जिम्मा विभिन्न ठाउँमा दिएका छौं। संवैधानिक निकायहरु बनाएका छौं, व्यवस्थापिका, न्यायपालिका, कार्यपालिका बनाएका छौं। त्यसकारण हामीले आफैंलाई चिन्न नसकेकाले हरेक प्रश्न उब्जाएर गन्जागोल गरिरहेका छौं। कांग्रेस पनि सरकारमा त्यतिबेला जान्छ, जब संवैधानिक रुपमा एउटा प्रक्रिया सुरु हुन्छ। केपी ओलीजी नै रिजाइन गर्नुहुन्छ, अविश्वास प्रस्ताव आउँछ वा उहाँले अविश्वासको प्रस्ताव फेस गर्नुहुन्छ, तिनै कुराको आधारमा निर्णय गर्नुपर्ने हुन्छ।

तपाईंहरुकै पार्टीभित्र सभापति शेरबहादुर र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच टकराव देखिन्छ। यो टकरावले कांग्रेसभित्र शक्ति संघर्ष बढाएको छ, जसकारण सरकारमा जान नसकेको भनिन्छ नि ? 

होइन, हामी पार्लियामेन्टमा सानो पार्टीका रुपमा छौँ। हाम्रो भूमिका कमजोर छ। तर, अवसर हामीलाई ठूलो छ। यसैबीच प्रधानमन्त्री पाउँदा किन नगएको भन्ने पनि छ। तर त्यसतर्फको बाटै नलिएको कारणले हो, एक नम्बर। दोस्रो कुरा, हाम्रो पार्टीभित्र कुनै फरक मत नै छैन। जसरी बाहिर आउँछ नि त्यो होइन। हामी हरेक निर्णय केन्द्रीय समितिबाट गर्छौं। हरेक निर्णय सर्वसम्मत गरेका छौं, अहिलेसम्म। केही मतहरुलाई लिएर हाम्रा मत भिन्नताहरु छन्। तर, हरेक निर्णयहरु हामीले केन्द्रीय समितिबाट गरेका छौं। हामी सबै उत्तरदायी हुने व्यवस्था हामीले गरेका छौं। त्यसकारण फरक मत होइन, बाटो संवैधानिक रुपले नबनिसकेको कारणले चाहिँ हो। त्यो कोर्ससँगै अहिलेको राजनीति नगएकाले यो प्रश्न उठिरहेको हो।

लोकतन्त्रको महत्वपूर्ण पाटोको रुपमा निर्वाचनलाई लिइन्छ। त्यसो हुँदा अव मध्यावधि निर्वाचनमा जाँदा हुँदैन ? कांग्रेसले त्यसको ‘इनिसेसन’ लिने बेला भएको होइन र ? 

संसारमा बहुमत प्राप्त प्रधानमन्त्रीले मैले सरकार चलाउन सकिनँ, मलाई जनताले यति ठूलो नासो दिनुभएको थियो, यो नासो मैले बुझाउँछु भनेर जनतासँग जान पाइन्छ। संसारमा प्रजातन्त्रीय प्रणालीबाट हुन्छ। तर, नेपालमा हामीले के गर्यौं भने एउटा प्रधानमन्त्री आउँछ, आफूलाई अनुकुल भएन भने उसले डिजल्भ गरिदिन्छ। वा अरु कसैलाई सत्तामा जान मन लाग्यो भने अरु स्वार्थीहरु मिलेर प्रधानमन्त्रीलाई ६÷६ महिनामा अविश्वासको प्रस्ताव राख्ने गर्दछन्। यो कुरालाई हामीले मेट्न खोजेको हो खास। 

संसद विघटन गर्न पनि हामीले अप्ठेरो बनाइदियौँ। अविश्वास प्रस्ताव त प्रधानमन्त्रीलाई २ वर्ष नराख्ने गराइदियौँ। त्यसकारण यो अनुसार आएको हो। अहिलेको परिस्थिति कम्युनिष्टहरुले सरकार चलाउन नसकेपछि आएको हो। त्यो पनि कस्तो विडम्बना भने यस्तो कोरोनाको समस्या भयो। यति धेरै मान्छेहरुले दुख पाए। त्यस्तो बेलामा पनि जनतालाई के गर्ने भनेर, पहाडलाई कसरी सुरक्षित गर्ने र एग्रिकल्चरलाई कसरी जोड दिन भनेर सोचेन। बरु जिउँदो झलनाथ खनालका नाममा ट्रस्ट बनाएर सर्प पाल्न ७२ करोड छुट्याउने व्यवस्था गरे। सरकार संवेदनशील भएन नि। त्यसकारण यो झगडातन्त्र, यो अराजकता भन्दा जनताकहाँ जानु धेरै उपयुक्त हुन्छ। यसको नेतृत्व सबै पार्टीले भन्नुभयो भने कांग्रेसले गर्न तयार छ। साथसाथै, कांग्रेस नै हुनुपर्छ भन्ने होइन। आफू भएनौँ भने अरु कसैलाई दिँदैनौँ पनि कांग्रेसले भनेको होइन्। जहिले पनि कांग्रेसले निकास दिने हो नि त। 

त्यसो भए, सत्ता समीकरणका लागि भइरहेका छलफल त अगाडि नबढाए हुने भयो नि ? 

कांग्रेस सधैँ सत्ताका लागि मरिहत्ते गर्छ, वा कांग्रेसका सभापति सत्ता भनेपछि गइहाल्छ भन्ने इमेज हामीले किन दिनु छ र ? प्रतिपक्ष भनेको सधैं निर्वाचनको प्रतिक्षामा हुन्छ। प्रतिपक्ष सधैं सरकारको प्रतिक्षा गरिरहेको हुन्छ। यो सैद्धान्तिक कुरा हो। 

सभापति देउवा र वरिष्ठ नेता पौडेलबीचको शक्ति संघर्ष अहिले पनि उस्तै छ। राष्ट्रिय मुद्दामा कांग्रेस एक हुन सकेन भन्ने छ। यसरी विभाजन उचित हो र?

नेपालमा उठेको सबैभन्दा ठूलो राष्ट्रिय मुद्दा नक्सा पास हो। त्यो नेपालको पार्लियामेन्टले सर्वसम्मत गरेको हो। यो भन्दा सुन्दर पक्ष विश्वमा कहीँ पाइँदैन। तर, कांग्रेस सरकार नभएको भए, कम्युनिष्टहरू प्रतिपक्षी भएको भए के हुन्थ्यो भन्ने कुरा हो। कांग्रेसको बेलामा हामी अरुण नदीबाट बिजुली निकाल्दै थियौं। आजभन्दा ३० वर्षको नजिकको सेरोफेरोमा। यही कम्युनिष्टको सरकारले निकाल्न पाइँदैन भनेर विश्व बैंकमा चिठी पठाएको हो। आज व्यापार घाटा कति कम हुन्थ्यो होला, उद्योगधन्दा कति बन्थे होला, युवा युवतीहरू विदेश जान पर्दैनथ्यो होला। हामी भएको भए रोक्दैनथ्यौं नि। 

कम्युनिष्ट पार्टीको स्कुलिङ नेगेटिभ छ। स्कुलिङ नेगेटिभ भएको कारणले नै जनतालाई संकट परेको बेलामा सर्प पाल्नतिर लाग्ने। विकासको बेलामा बिजुली निकाल्न नदिने। त्यति मात्रै होइन, हाम्रो देशको जनजातिले चाडपर्वमा रक्सी बनाउँछन्, त्यसलाई लगेर प्रहरीले पोखिदिने। र, आफूले चाहिँ संसारका पतित मुङलाई ल्याएर होली वाइन खुवाएर जनतालाई छर्किने। यो प्रवृत्ति छ नि त कम्युनिष्टहरुको। एक त उग्र, आफूलाई मन परेन भने जनतालाई सुराकी भन्दै कारबाही गरिहाल्ने र गैरजिम्मेवार बन्ने। लुटिहाल्ने। कसैको राम्रो घर देख्न नहुने। कसैका राम्रा छोराछोरी देख्यो भने बन्दुक भिराइ दिहाल्ने। त्यो कल्चरबाट आएको कम्युनिष्टहरूलाई, चाहे मदन भण्डारीको करेक्सन त गर्नुभयो नि मदन भण्डारीको जनताको बहुदलीय जनवाद होइन कि हो कि भन्ने द्वन्द्व छ नि। 

त्यस्तै, करेक्सन हामीले प्रचण्डजीबाट गरायौँ। जनताका छोराछोरीलाई बन्दुक भिराएको पार्टीलाई शान्ति प्रक्रियामा ल्यायौं नि त। त्यसैले सानो देशमा जति कम्प्लेक्स मुद्दाहरु उठे, त्यो चाहिँ हाम्रो आन्तरिक द्वन्द्वको कारण आएको समस्या होइन। दोस्रो कुरा, हामीले राष्ट्रिय मुद्दाहरूमा समय समय उठ्ने मुद्दाहरूलाई केन्द्रीय समितिबाट सल्भ गरेका छौ। जहाँसम्म रामचन्द्रजी र सभापतिको द्वन्द्वको कुरा छ। मलाई त्यस्तो लाग्दैन, उहाँहरु सँगै बसेर टिकट बाँड्नुभएको हो। मेजर कुरामा सँगै बसेर गर्ने, साना कुरामा श्रीमान–श्रीमतीमा के हुन्छ, त्यस्तै हो यो पनि। अलि धेरै खाऊ दिनभर काम गर्नुपर्छ भन्ने खालको झगडा हो कि? यसलाई ठूलो रुपमा लिन हुँदैन। 

प्रधानमन्त्रीलाई टिप्पणी गर्दा कांग्रेसले दम्भी, घमण्डी भनिरहेको अवस्था एकातिर छ। अर्कोतिर, ओलीले मलाई हटाएर देखाउनु भनेर पटक पटक चुनौती दिनुभएको छ। अविश्वासको प्रस्ताव ल्याउनु भनेर चुनौती दिनुभएको छ। यो विषयलाई कसरी हेर्नुभएको छ ? 

राजनीतिमा सबै मान्छेहरु एउटै दृष्टिकोण र धारणा भएका हुन्छन भन्ने होइन। अर्को त, राजनीति वा सत्ता प्राप्ति भनेको आदर्श होइन। राजनीतिमा छलछाम हुन्छ नै। हामीले पढेको पूर्वीय दर्शनमा जसलाई भगवान मान्छौँ। भगवान कृष्ण भन्छौं। अर्जुन भन्छौं। भीम भन्छौं। दुर्योधन छलछामबिनै मारिएका हुन? द्रोणाचार्य आफ्नो गुरुलाई अर्जुनले छलछामबिनै मारेका हुन ? अभिमन्युलाई छलछामबिनै मारिएको हो ? सत्ता भनेको छलछाम हो भन्ने पनि हामीले बुझ्नुपर्छ।

जनताका मुद्दामा त छलछाम हुन सक्दैन होला नि ? 

३० वर्ष भयो हामीले बहुदल ल्याएको। कहिले हामी चर्का कुरा गर्छौं। जनतासँग काम गर्दैनौं। त्यही मेलम्ची आउन २४ वर्ष लागेन भन्या ? यहाँ काम गरेको विदेशी कम्पनीलाई भगाएर फेरि कमिसन खान हामीले गलत काम गरेनौं। वाइडबडी जस्तो अर्बौं बदमासी गरेको कुरामा लेखा समितिले गरेको निर्णयलाई हामीले अख्तियारमा लान दिएनौँ नि। आयल निगमको अरबौंका कुराहरु तामेलमा राख्यौं नि। हरेक कुरा यही त भएको छ। तर, अहिले त छलछाम हो नि। जनतालाई एउटा कुरा गर्ने अर्को काम गर्ने हुँदा छलफल भयो नि। 
त्यसकारण तबसम्म यो मुलुक बन्दैन, जस्तै कानुनले त व्यक्ति देख्न भएन नि। पाकिस्तानदेखि, इजरायल र दक्षिण कोरियामा देश बनाउने कति मान्छे जेल परिरहेका छन्। एउटा बोतल ह्विस्कीमा मान्छेहरु जेल परिरहेका छन्। नेपालमा त ब्रम्हलुट छ। यो छलछाम हो, राजनीति होइन। राजनीतिमा जनता जोडिन्छ, समाज जोडिन्छ, देश जोडिन्छ, संस्कृति जोडिन्छ, विकास जोडिन्छ। नेपालमा त केही पनि छैन। त्यसकारण यी सबै कुरालाई छलछामको रुपमा लिइन्छ। 

यहाँका प्रवक्ताले कांग्रेसले अहिले नै प्रधानमन्त्रीको लागि दौरासुरुवालमा आइरन लाउने बेला भएको छैन भन्नुभएको छ। अब चुनाव अघि वा चुनाव नगरि कांग्रेसले दौरासुरुवालमा आइरन नगर्ने नै हो? 

आइरन त म कुनै चाडपर्वमा जानुपर्छ भनेर लगाएरै राखेको हुन्छु। तर, कांग्रेस चाहिँ निर्वाचनका निम्ति, निकासका निम्ति आइरन लगाएर बस्न मिल्छ। कम्युनिष्टहरुले लथालिङ्ग र भताभूंग अवस्थामा लगेको देशलाई निकास दिन पर्यो नि। चुनाव नै अन्तिम समाधान हो, अब। जनतासँग जाने कुरालाई विरोध गर्न हुँदैन। 

त्यसका लागि कांग्रेसले अब कसरत गर्न त पर्यो नि ?

बाहिर किन देखाउने। भित्रभित्रै गरे होला नि। हरेक कुरा बाहिर आयो भने त राम्रो हुँदैन। हाम्रो तर्फबाट राष्ट्रलाई निकास दिन सबै राजनीतिक पार्टीसँग छलफल गरिरहेका छौं। सबै राजनीतिक दललाई निर्वाचन नै अबको निकास हो भनिरहेका छौं।

त्यसो भए, अबका कांग्रेसका रणनीति के हुन् ? कसरी अगाडि बढेको छ कुरा ? 

महाभारतमा बर्बरिक छ, उनले कृष्णलाई आफू समान स्थान दिएका हुन्छन्। महाभारतको युद्धमा उनी धेरै शक्तिशाली हुन्छन्। शिवको आराधनाबाट उनले शक्तिशाली हतियार पाएका हुन्छन्। उनले युद्धमा जता लग्यो उसैले युद्ध हार्छ। तिमी कता लग्छौँ भनेर कृष्णलाई सोध्दा म जो कमजोर छु उतै लाग्छु भन्छन्। त्यस्तै, हामीले पनि शक्ति सन्तुलन गर्नुपर्ने हुन्छ। राजनीतिक धारमा जो कमजोर छ, त्यसलाई साथ लिएर हामी निर्वाचनमा जान्छौँ। र, आफ्नो जित्ने रणनीति बनाउँछौं। 

अबको सहकार्य कुन दलसँग हो भन्ने ठ्याक्कै जवाफ खोजिएको छ, के भन्नु हुन्छ? 

अहिले हामी ओली सरकार नढलुञ्जेल हामी कानुनी प्रक्रियाबाहेक बाहिर जाँदैनौं। प्रचण्डसित हाम्रो नेताहरुले धेरै चित्त दुखाउनुभएको छ। प्रचण्डले कांग्रेसलाई थाहै नदिई एमालेसँग मिल्न गएकोमा हाम्रो मन दुखेको छ। हाम्रा नेताहरुको प्रचण्डप्रति विश्वास नै छैन। त्यसकारण भर नै नभएको ठाउँमा अनावश्यक पौडी खेल्न हुँदैन भनेर हामी सही बाटोमा उभिएका छौं।

भिडियो

  • प्रकाशित मिति : चैत ९, २०७७ साेमबार १९:९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया