भीम रावलको घोषणा : केपी ओलीका कुनै निर्णय मान्दैनौँ, उनैलाई स्पष्टीकरण सोध्छौँ

नेकपा एमालेका एकजना नेता भीमबहादुर रावलले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीका कुनै पनि निर्णय नमान्ने बताएका छन्। माधव नेपाल पक्षीय अनेरास्ववियुले मंगलबार काठमाडौंमा गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

'केपी ‌ओलीले वैशाखमै पार्टी फुटाउन खोजेका थिए। तर हामी २० जना स्थायी कमिटीका सदस्यले रोकेका थियौँ', उनले भने, 'हामीले पटक पटक भन्दा पनि उहाँले बैठक राख्न मान्नु भएन। पार्टीका नेताहरु भारतसँग मिलेर आफूलाई हटाउन खोज्दैछन् भनेर प्रधानमन्त्रीले भनेका थिए। यदि तपाईं त्यो भन्‍ने नेताको नाम लिनुहुन्‍न भने तपाईंलाई पार्टी अध्यक्षमा बस्ने अधिकार छैन भनेका थियौँ। उहाँले भारतसँग मिलेर हटाउने नेता को थियो भन्नु भएन।'

उनले ओलीको त्यो कदमलाई पार्टी एकता भाँड्ने उहाँको षडयन्त्रका रुपमा व्याख्या गरे। 'विवादबीच भदौ २६ गते उहाँ पाँचै वर्ष प्रधानमन्त्री हुनु भनेर निर्णय भयो। तर उहाँले अन्तरपार्टी निर्देशनमा हस्ताक्षर गर्न पनि मान्नु भएन', उनले भने, 'प्रधानमन्त्री जस्तै राष्ट्रपतिको गतिविधि पनि उस्तै थियो। देशको संविधानको रक्षा गर्ने मान्छे राष्ट्रपतिले शितल निवासको फाइल त बालुवाटार पुर्‍याइछन्।'

रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्लज्ज नेताको संज्ञा दिए। 'जुन नेताले निर्लज्ज व्यवहार गर्छ उसले स्पष्टीकरण सोध्नु मिल्छ? प्रतिनिधिसभा पुन:स्थापना भएपछि उहाँलाई असह्य भयो। प्रतिनिधिसभा फर्किएपछि उहाँले बालुवाटारमा आफ्नो गुटका केही मान्छे बोलाएर केन्द्रीय कमिटीको नाम दिएर मनपरी निर्णय गर्नु भयो', उनले भने, 'एमाले पुन:स्थापित भएपछि हामी एक हुन चाहन्थ्यौँ तर ओलीलाई त एमाले फुटाउने इच्छा पो रहेछ। पार्टीलाई विभाजन गर्न मन्त्री पदका लागि आएका अवसरवादीहरुलाई ल्याएर केपी शर्मा ओलीले पार्टी फुटाए विभाजनको रेखा कोरे।'

उनले चैत २ गते धुम्बाराही गएर एकता प्रयास गरेको बताए। 'चैत २ गते धुम्बाराहीमा एकता बनाएर जाऊँ भन्यौँ तर उहाँले मैले जे गरेँ ठीक गरेँ भन्ने लाइनमा जानु भयो', उनले भने, 'महाधिवेशन अगाडि विधान अधिवेशन गर्नुपर्ने थियो तर ओलीले गरेनन्। केपी शर्मा ओलीलाई यो विधान संशोधन गर्ने अधिकार कसले दियो? विधानमा हुँदै नभएको गतिविधि गरिएको छ। केपी शर्मा ओलीका कुनै पनि निर्णय हामी मान्दैनौँ।'

उनले आफूहरुले केपी ओलीलाई नै स्पष्टीकरण सोध्ने बताए। 'केपी शर्मा ओलीले पठाएको स्पष्टीकरणको जवाफ होइन, हामी उहाँलाई स्पष्टीकरण सोध्छौँ। तपाईंले नागरिकता विधेयकलाई किन पारित गर्न दिनुभएन। जनताको जनादेशलाई किन विखण्डित गर्नु भयो? तपाईँ एमसिसी पास गर्न किन लाग्नु भयो? तपाईंले जनमतको किन अपमान गर्नु भयो? भनेर ओलीलाई स्पष्टीकरण सोध्नेछन् जनताले', उनले भने। 



उनले आफूहरुलाई स्पष्टीकरण लेख्ने निर्णय लिने बैठकलाई नक्कली केन्द्रीय कमिटी भने। 'नक्कली केन्द्रीय कमिटीको अवैध पत्रलाई हामी मान्दैनौँ', उनले भने, 'नक्कली लुगा फुकालिए हामी मान्न तयार छौँ।'



  • प्रकाशित मिति : चैत १०, २०७७ मंगलबार १३:५५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया