हेटौंडामा  अन्तर सहर टिम चेस टुर्नामेन्ट

बागमती प्रदेशको राजधानी हेटौंडामा अन्तर सहर टिम चेस टुर्नामेन्ट २०७७ हुने भएको छ । मकवानपुर जिल्ला बुद्धिचाल संघ र हेटौंडा चेस क्लबको संयुक्त आयोजनामा यही चैत ११ गतेदेखि १४ गतेसम्म टुर्नामेन्ट हुने भएको हो । नेपालमा हालसम्म आयोजना भएका टिम च्याम्पियनसिपमध्ये सर्वाधिक ठूलो प्रतियोगिताका रूपमा रहने आयोजकको दाबी छ ।

प्रतियोगिताको कुल पुरस्कार राशि ५ लाख ५० हजार रुपैयाँ रहेको हेटौंडा चेस क्लबका अध्यक्ष ज्ञानकृष्ण प्रजापतिले जानकारी दिए । प्रतियोगिताका विजेताले २ लाख ५० हजार, उपविजेताले १ लाख ५० हजार, तेस्रो हुनेले ५० हजार तथा चौथो र पाँचौं स्थानमा रहनेले क्रमशः ३० हजार तथा २० हजार प्राप्त गर्नेछन् । त्यसैगरी व्यक्तिगततर्फ प्रत्येक बोर्डका उत्कृष्ट खेलाडीले जनही १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको कुल खर्च १५ लाख ७२ हजार हुने अनुमान गरिएको छ ।

प्रतियोगिताको विशेषताका रूपमा प्रत्येक टोलीले अनिवार्य रूपमा महिला खेलाडी वा १६ वर्षभन्दा मुनि उमेर समूहका खेलाडीलाई समावेश गर्नुपर्ने व्यवस्था गरिएको मकवानपुर जिल्ला बुद्धिचाल संघका सचिव नरेन्द्र भण्डारीले बताए । भण्डारीले लामो समयदेखि कोरोनाका कारण नभएको खेलकुद र मनोरञ्जनलाई थप ऊर्जासहित अगाडि बढाउन चेस प्रतियोगिता गर्न लागेको बताए ।

स्विस लिग प्रणालीअनुसार ७ चरणसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका विभिन्न सहर तथा क्षेत्रबाट सहभागी १८ टिमले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्नेछन् ।

पत्रकार सम्मेलनमा नेपाल बुद्धिचाल संघका केन्द्रीय महासचिव धरम लामा, मकवानपुर जिल्ला महासचिव कृष्ण लामिछाने सहित मकवानपुरका खेलाडीहरूको उपस्थिति थियो ।





  • प्रकाशित मिति : चैत १०, २०७७ मंगलबार १९:२४:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया