सुदूरपश्चिममा बढ्यो कोरोना जोखिम : एकै दिन ४ जनामा कोरोना संक्रमण देखियो

सुदूरपश्चिम प्रदेशमा फेरि कोरोना जोखिम बढेको छ । भारतका विभिन्न सहरमा दोस्रो चरणको कोरोना संक्रमण फैलिएसँगै सुदूरपश्चिम प्रदेशमा पनि जोखिम बढेको हो । सुदूरपश्चिमेलीहरूको मुख्य चाड, होरी, विसु पर्व र चैते दसैँ नजिकिएसँगै भारतबाट आउनेहरूको चाप सीमामा बढेको छ ।

भारतमा कोरोना संक्रमण बढेपछि सुदूरपश्चिमका सीमा नाकामा हेल्प डेस्क राखिएको छ । गौरीफण्टा नाकामा मंगलबार गरिएको स्वास्थ्य परीक्षणमा ४ जनामा कोरोना संक्रमण देखिएको छ ।  गौरीफण्टा नाकामा राखिएको हेल्प डेस्कका स्वास्थ्यकर्मी विकास वडका अनुसार मंगलबार ९० जनामा गरिएको एन्टिजेन परीक्षणमा ४ जनामा पोजेटिभ देखिएको हो ।

गौरीफण्टा नाकाबाट दैनिक ५ सय जनाको हाराहारीमा नेपाल भित्रिरहेका छन् । तीन दिनदेखि कैलाली र कञ्चनपुरका नाकामा शंकास्पद व्यक्तिहरूको कोरोना परीक्षण भइरहेको छ । गौरीफण्टा नाकामा आइतबार मात्र दुई जनामा कोरोना संक्रमण देखिएको थियो । तीन दिनमा गौरीफण्टा नाकाको हेल्प डेस्कमा गरिएको परीक्षणमा ६ जनामा कोरोना देखिएको छ ।

कोरोना संक्रमितहरूलाई लक्षण नदेखिँदासम्म होम आइसोलेसनमा पठाउने हुँदा जोखिम झनै बढेको छ । कोरोना भाइरसको दोस्रो चरण देखिँदा विश्वका अधिकांश राष्ट्रहरूले पुनः लकडाउन गरेको छन् । सो समयमा भारतमा पनि लकडाउन हुँदा थुप्रै सुदूरपश्चिम प्रदेशका नेपाली नागरिकहरू पनि स्वदेश फर्कंदा पहिलो लहरमा कोरोना संक्रमण फैलिएको थियो ।

भारतबाट आउने मानिसबाट पहिलो लहर फैलिए झै दोस्रो लहर पनि फैलिने जोखिम बढेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । ‘मानिसको यस्तो व्यवहारले सिस्टम थाक्न थालेको छ । र, यस्तो समयमा कोरोना पुनः सक्रिय बन्न थाल्छ’, सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक गुणराज अवस्थीले भने । अहिले समाजमै कोरोना रहेकाले समयमै सावधानी नअपनाए भारतबाट आउने मानिसबाट फैलिन थप टेवा पुग्ने उनको तर्क छ ।

‘अहिले जिम्मेवार मानिसहरू नै गैरजिम्मेबार बनिरहेका छन् । ठूला–ठूला राजनीतिक भेलाहरू भइरहेका छन् । मानिसले माक्स लगाउन छोडिसकेका छन् । पुरानै अवस्थामा बिहे तथा भोज हुन थालेका छन् । यो चिन्ताको विषय हो’, उनले भने ।



पहिलो लहरलाई फैलन नदिन भारतबाट स्वदेश फर्केकालाई क्वारेन्टाइनमा राखि व्यवस्थापन गरिएको थियो भने संक्रमितहरूलाई आइसोलेसनमा राख्ने काम गरिएको थियो । पछिल्लो समय कोरोना संक्रमितको संख्या घट्दै गएपछि सुदूरपश्चिम प्रदेशमा स्थापना गरिएका आइसोलेसन बन्द भएका छन् भने नाकामा पनि परीक्षण गर्न छोडिएको थियो ।

स्वास्थ्य निर्देशनालयका अनुसार गत चैतमा कैलालीको त्रिनगर (गौरीफण्टा), कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलामा हेल्थ डेस्क स्थापना गरिएको थियो । अहिले गड्डाचौकी र त्रिनगर नाकामा राखिएको हेल्थ डेस्कले परीक्षण गर्न सुरु गरेको निर्देशक अवस्थीले बताए । स्वास्थ्य निर्देशक अवस्थीले भने, ‘हामीले अहिले भारतबाट घर फर्कने नागरिकलाई गड्डाचौकी र गौरिफण्टामा हेल्थ डेस्क राखी पुनः परीक्षण सुरु गरेका छौं ।’



उनले बन्द रहेका आइसोलेसनलाई सञ्चालनमा ल्याउन स्थानीय तहहरूसँग अनुरोध गरिएको बताए । उनले गौरीफण्टा नाकामा प्रशासनिक दृष्टिकोणले नमिलेको हुँदा अलि समस्या भएको बताए । ‘स्वास्थ्य परीक्षण स्थानीय पालिका र जन स्वास्थ्य कार्यालयलाई जिम्मा दिएको छ’, उनले भने, ‘गौरीफण्टा कुन जिल्ला अन्तर्गत पर्ने भन्ने कुरा नै क्लियर नहुँदा समस्या भएको छ ।’ 

दोस्रो चरणको कोरोना छिट्टै सर्ने भएकाले यसबाट बच्न सर्तकता अपनाउन जरुरी रहेको उनले बताए । उनले विश्व स्वास्थ्य संगठनले बनाएका मापदण्डहरूलाई आम सर्वसाधारणले पालना गर्नुपर्ने पनि बताए ।

  • प्रकाशित मिति : चैत १०, २०७७ मंगलबार १९:४६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया