एक करोड पटक डाउनलोड हुने पहिलो नेपाली एप बन्यो 'हाम्रो पात्रो'

नेपालकै लोकप्रिय एप हाम्रो पात्रो एक करोड पटक डाउनलोड भएको छ । एउटै एपमार्फत विभिन्न सेवा दिँदै आएको हाम्रो पात्रोको एपले गुगल प्ले स्टोरमा १० मिलियन अर्थात एक करोड डाउनलोड पूरा गरेको हो ।

यससँगै हाम्रो पात्रो नेपाली प्रयोगकर्ता माझ एक करोड पटक डाउनलोड हुने पहिलो नेपाली एप बनेको छ । जसबाट अझ काम गर्न थप हौसला प्राप्त भएको भन्दै एपका संस्थापक शंकर उप्रेतीले प्रयोगकर्ता, साझेदार र हाम्रो पात्रो टिमलाई धन्यवाद व्यक्त गरे ।

एपले नेपाली एपहरुमा नयाँ रेकर्डहरु कायम गर्दै गएको छ । यस अघि १० लाख र ५० लाख पूरा गर्नेमा हाम्रो पात्रो पहिलो नेपाली एप बनेको थियो । पात्रो हेर्ने, मिति परिवर्तन जस्ता फिचर सँगै सन् २००८ मा तयार भएको यो एप सन् २०१२ मा एन्ड्रोइड प्ले स्टोरमा राखिएको थियो । 

सन् २००८ मा अध्ययनका लागि अमेरिका पुगेका उप्रेतीले अरुले जस्तै नेपालबाट साथमा भित्तेपात्रो बोकेर गएका थिए । तिथि मिति हेर्नुपरे त्यही भित्तेपात्रो नियाल्ने र वेबसाइट चहार्नुको विकल्प थिएन । त्यसैले सुरुमा आफ्नो व्यक्तिगत आवश्यकता पूर्ति  गर्नकै लागि उनले ‘हाम्रो पात्रो’ एप बनाए । 

कुनै विशेष योजनाका साथ उक्त एप बनाइएको भने थिएन । एप तयार भएको एक वर्षपछि अर्थात सन् २००९ तिर मात्रै हाम्रो पात्रो एप एप्पलको आइओएस एप स्टोरमा राखिएको थियो । आइओएसमा हाम्रो पात्रोको डाउनलोड पाँच लाखभन्दा बढी रहेको छ ।

गुगल प्ले स्टोरमा रिलिज भएको एक वर्षमै यो एपको डाउनलोड एक लाखभन्दा बढी पुगेको थियो । सन् २०१५ नहुँदै एपको डाउनलोड संख्याले दश लाखको आँकडा पार गरेको थियो । अहिले हाम्रो पात्रो एप नेपाली माझ सबैभन्दा धेरै प्रयोग हुने र डाउनलोड भएको छ । एपका प्रयोगकर्ता मध्ये ९३ प्रतिशत प्रयोगकर्ता एन्ड्रोइडमा छन् भने सात प्रतिशत आइओएसमा छन् ।
 
हाम्रो पात्रोमा रेडियो, समाचार, पात्रो, राशिफल, मूल्य सूची, ज्योतिष, राशिफल जस्ता एक दर्जन फिचर समावेश छन् । विनिमय दर, सेयरबजार, सुनचाँदीको मूल्यसूची, तरकारीको बजार भाउ जस्ता दैनिक आवश्यकताका फिचरका कारण एपमा सक्रिय प्रयोगकर्ताको संख्या पनि उल्लेख्य छ । 



दैनिक १३ लाख सक्रिय प्रयोगकर्ता रहेको एपमा मासिक सक्रिय प्रयोगकर्ताको संख्या ७३ लाखमाथि रहेको छ । हालै हाम्रो पात्रोमा म्यासेञ्जर समेत थपिएको छ । बेटा भर्सनमै रहेको यो फिचर प्रयोग गर्नेहरुको संख्या एकलाखभन्दा बढी रहेको कम्पनीले जनाएको छ । 

निकट भविष्यमै हाम्रो पात्रोमा म्यासेञ्जरको फुलभर्सन समेत आउनेछ । त्यस्तै आइओएस प्रयोगकर्ताले समेत म्यासेन्जर प्रयोग गर्न पाउने कम्पनीका संस्थापक उप्रेतीले बताए । 



हाम्रो पात्रोमा देशका प्रमुख ८० भन्दा बढी अनलाइन न्युज पोर्टल र चार सयभन्दा बढी रेडियो समेत जोडिएका छन् । नेपाली, अंग्रेजी सहित एप सात वटा फरक भाषामा प्रयोग गर्न सकिन्छ । 

हाम्रो पात्रो इन्कअन्तर्गत अहिले हाम्रो पात्रोसँगै हाम्रो किबोर्ड, हाम्रो डिक्सनरी, हाम्रो म्यागेजिन लगायतका एपहरु पनि छन् । सन् २०१४ मा सार्वजनिक भएको हाम्रो किबोर्ड सबैभन्दा छोटो अवधिमै डाउनलोडमा दश लाखको आँकडा पार गर्ने पहिलो नेपाली एप हो । यो एपको डाउनलोड अहिले ६० लाखभन्दा बढी छ । 

  • प्रकाशित मिति : चैत ११, २०७७ बुधबार ११:१८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया