इङ्ग्लिस क्लब टोटेनहमका फरवार्ड गारेथ बेलले रियल मड्रिड फर्कने योजना रहेको बताएका छन् । उनी अघिल्लो सिजन स्पेनिस क्लब रियलबाट एक वर्षका लागि लोनमा टोटेनहम पुगेका थिए ।
वेल्सका यी फरवार्डले सिजनको अन्त्यसँगै रियल फर्कने योजना बनाएका हुन् । सम्झौतामा स्थायी अनुबन्धको सर्त रहेपनि बेलले रियल फर्कने इच्छा देखाएका छन् ।
रियल र बेलबीचको सम्झौता सन् २००२ मा सकिँदैछ । ३१ वर्षीय बेलले यो सिजन टोटेनहमका लागि २५ खेलमा १० गोल र ३ गोलका लागि अवसर सिर्जना गरेका छन् ।
टोटेनहमा प्रशिक्षक जोसे मौरिन्होको मन जित्न नसक्दा बेलले पर्याप्त समय मैदानमा बिताउन पाएका छैनन् । लामो समय बेन्चमै बिताउनु परेकाले पनि उनी रियल फर्कन चाहेका हुन् ।
‘मेरो मुख्य योजना १ वर्ष टोटेनहमबाट खेल्नु थियो । रियलमा मेरो सम्झौता सन् २०२२ सम्म छ, यो सिजनपछि नै रियल फर्कने योजना छ’ बेलले भने ‘पछिल्ला केही वर्ष मेरो फिटनेसमा केही समस्या थियो, टोटेनहममा त्यो पूरा भयो, अहिले मलाई पूरै फ्रेस र फिट अनुभव भइरहेको छ ।’
सन् २०१३ मा टोटेनहमबाटै रियल पुगेका बेलले त्यहाँ २५१ खेलमा १०५ गोल गर्नुका साथै ६८ गोलका लागि अवसर सिर्जना गरेका छन् ।
प्रशिक्षक जिनेदिन जिदानकोे रोजाइमा पर्न नसकेपछि उनी एक वर्षका लागि लोनमा फेरि टोटेनहम पुगेका थिए । जिदानले बेललाई सन् २०१९–२० को सिजनमा २० खेलमा मात्र मौका दिएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।