होली मनाएपछि नेकपा एमाले र जसपाको संयुक्त सरकार !
बालुवाटारमा मन्त्रालय बाँडफाँटदेखि मुद्दा फिर्ताबारे सहमति

सरकारमा जाने कुरालाई लिएर सकसमा परेको जनता समाजवादी पार्टी ( जसपा ) र प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार बालुवाटारमा संवादमा जुटे। 

पटक पटक वार्ता गरेका दुई पक्षबीच हिजो बालुवाटारमा भएको बैठक सहमति नजिक पुगेको छ। सरकारमा जाने विषयमा सहमत जसपाले होली सकिएलगत्तै लिखित सहमति गर्ने भएको छ।

सत्ता समीकरणको सवालमा छलफल गर्न जसपाको एउटा पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्न मंगलवार बालुवाटार छिरेका थिए । 

सरकारमा जाने विषयमा जसपा नेताहरुबीच मतान्तर बढेपछि अध्यक्ष महन्थ ठाकुरको नेतृत्वमा उनीनिकट नेताहरु बालुवाटार पुगेको स्रोतको दाबी छ । 

५ चैतमा सत्ता समीकरणबारे छलफल गर्न बोलाइएको केन्द्रीय कार्यकारिणी समितिको बैठकअघि नै शीर्ष नेताबीच विभाजनको दिशामा जाने गरी विवाद बढेको  थियो। विवाद बढेपछि कार्यकारिणी समितिको बैठक नै बस्न सकेको छैन। त्यसयता जसपाले बैठक, छलफल नगरे पनि शीर्ष नेताहरु आफूनिकट नेताहरुसँग लगातार छलफलमा छन् । 

औपचारिक रुपमा नफुटेको जसपा अनौपचारिक रुपमा दुई गुटमा विभाजित भइसकेको छ । अर्थात्, सत्ता समीकरणका लागि महन्थ ठाकुरको गुट ओली सरकारलाई सघाउने पक्षमा भने उपेन्द्र यादवको गुट ओलीलाई सरकारबाट हटाउने पक्षमा छ ।

जसपा दुई ध्रुवमा विभाजित भइसकेपछि त्यसमध्ये एउटा समूह प्रधानमन्त्री ओलीसँग नजिक छ । त्यही खेमाले मंगलवारको भेटमा रेशम चौधरीको रिहाइ, मधेश आन्दोलनका मुद्दा फिर्ता र संविधान संशोधनको एजेन्डालाई अघि सारेर सरकारसँग वार्ता गरेको हो ।



बालुवाटारको छलफलमा थिए, जसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण । यी नेताहरु महन्थ ठाकुरनिकटमात्रै होइनन्, सबैजना तत्कालीन राजपाका हुन् ।

मन्त्रालय लेनदेन



प्रधानमन्त्री ओलीसँगको वार्तामा सत्ता सहकार्यबारे छलफल भएको छ । छलफलमा आफूहरुका माग तत्कालै पूरा गर्न भनिएको बैठकमा सहभागी नेता लक्ष्मणलाल कर्णले बताए।  

‘बैठकमा पार्टीले उठाउँदै आएको माग तत्कालै पूरा गर्नु भनियो, त्यसपछि सरकारलाई समर्थन गर्छौँ भन्यौँ’, उनले भने, ‘जवाफमा चाँडै पूरा गर्ने प्रतिवद्धता आयो ।’ बैठकमा जसपाको कार्यदलले पछिल्लो समयको गतिविधिको समेत ब्रिफिङ गरेका थिए ।

नेता कर्णले औपचारिकरुपमा यो प्रतिक्रिया दिए पनि जसपा र प्रधानमन्त्री ओलीबीच अन्य मुद्दामा पनि छलफल स्रोतको दाबी छ । 

सत्तामा सहमति

स्रोतका अनुसार जसपाका महन्थ ठाकुर गुटसँग प्रधानमन्त्री ओलीले मधेस आन्दोलनताका लागेका २९२ जनामाथिको मुद्दा फिर्ता  गर्ने सहमति जनाइसकेका छन् । 

त्यसपछि सरकारमा सहभागी हुने सवालमा जसपाको दुईवटै गुट आए १० वटा मन्त्रालय, राजपासहित उपेन्द्र यादव नजिकका अन्य केही सांसद आए ८ वटा मन्त्रालयम दिने सहमति भएको स्रोतको भनाइ छ । सरकार र जसपाबीच आन्तरिक सहमति भइसकेपछि मुद्दा फिर्ताको गृहकार्य सुरु भइसकेको स्रोतको दाबी छ।

२३ फागनुपछि सरकार टिकाइ राख्न प्रधानमन्त्री ओलीलाई जसपाको समर्थन अनिवार्य बनेको छ । यही मौकाको फाइदा उठाउँदै जसपाले आफ्नो माग पूरा गराउन जोडबल गरेको छ। माग पूरा नभएसम्म सरकारमा सहभागी नहुने अडान लिएपछि ओलीले तदारुकता देखाएका हुन्।

तर, सत्ता समीकरणमा निर्णायक बनेपछि जसपमा अहिले दुई गुटमा विभाजित भएको छ । अर्थात्, प्रधानमन्त्री ओलीको सरकारलाई निरन्तरता दिने वा विकल्प खोज्नेबारे प्रस्ट धारणा बनाइसकेको छैन ।

  • प्रकाशित मिति : चैत ११, २०७७ बुधबार १३:२९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया