कोरोना असर : सुदूरपश्चिमका जिल्लामा सामूहिक होली खेल्न नपाइने
फाइल तस्बिर

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको जोखिम बढेपछि कैलाली लगायतका जिल्लामा सामूहिक होली मनाउन नपाइन भएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले विज्ञप्ति जारी गर्दै जिल्लाभर होलीमा भिडभाड गर्न रोक लगाएको छ । जिल्ला सुरक्षा समिति र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णयले स्थानीय प्रशासन ऐनअनुसार रोक लगाइएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा एक ठाउँमा भेला हुन, जात्रा, पर्व, भिडभाड गर्न, महोत्सव, जुलुस, मेला लगाउन रोक लगाएको छ । 

यस वर्ष होली यही चैत १५ र १६ गते परेको छ ।

यस्तै बाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्न निर्देशन दिएको छ । कैलालीमा भारतसँग सीमा जोडिएकाले नाकामा बाहिरबाट नागरिकको एन्टिजोन विधिमार्फत् परीक्षण गर्न थालिएको छ ।

कोभिड–१९ संक्रमणको सम्भावनालाई मध्यनजर गरी पहिले सञ्चालन आएका क्वारेन्टाइन, आइसोलेसनलाई तयारी अवस्थामा राखी स्वास्थ्य केन्द्र सेवालाई थप प्रभावकारी बनाउन आवश्यक तयारी समेत थालिएको छ ।

आदेशको अवज्ञा गरे कारबाही हुने कैलाली प्रशासनले जनाएको छ । कोरोना भाइरसको प्रकोप छिमेकी मुलुक भारतमा थप क्रियाशील भई संक्रमितको दर बढ्दै गएको र मृत्युदरमा वृद्धि भएको सन्दर्भमा खुला सिमानाका कारण मानिसको आवतजावत बढिरहेकाले कैलालीमा पनि जोखिम छ ।



यस्तै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आंशिक निषेधाज्ञा जारी गरेको छ । भारतमा कोरोना संक्रमण बढ्दै गएको र सीमा जिल्ला कञ्चनपुरमा पनि जोखिम बढ्ने सम्भावना रहेको भन्दै प्रशासनले आंशिक निषेधाज्ञा जारी गरेको हो ।

पहाडी जिल्ला डडेल्धुरा र बैतडीमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।  दुवै जिल्लाका प्रशासनले सूचना जारी गर्दै फागु पूर्णिमा (होली) मा भीडभाड नगर्न र कोभिड–१९ को संक्रमण बढ्न नदिन सेनिटाइजर, मास्क र सामाजिक दूरी कायम गरी स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरेका छन् । डडेल्धुरामा मास्क नलगाउनेहरूलाई संक्रमण रोग ऐन बमोजिम कारबाही गरिने समेत सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए ।



  • प्रकाशित मिति : चैत ११, २०७७ बुधबार १८:२०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया