काठमाडौंका सार्वजनिक स्थानमा होली खेल्न प्रतिबन्ध

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थलमा होली खेल्न रोक लगाएको छ ।

कोभिड–१९ संक्रमणको दर बढ्दै गएको अवस्थामा फागु पूर्णिमामा सार्वजनिक स्थलमा भेला भई होली खेल्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका छन् । यस्तै सार्वजनिक स्थानमा आवत-जावत गर्दा मास्क प्रयोग नगर्ने र स्वास्थ्यका मापदण्ड पूरा नगर्ने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने पनि पराजुलीले बताए । 

काठमाडौं उपत्यकामा वृद्धि भइरहेको संक्रमणको दरलाई न्यून गर्न स्वास्थ्यका मापदण्डहरु अनिवार्य पालना गर्ने, मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, भौतिक दूरी कायम गरी आफ्नो दैनिक कार्य सञ्चालन गर्ने र समय-समयमा हात धुने कार्यलाई अनिवार्य पालना गर्न समेत प्रजिअ पराजुलीले अनुरोध गरेका छन् । 

स्थानीय प्रशासन, प्रहरी, जनस्वास्थ्य कार्यालय लगायतका सरोकारवाला सबै निकायलाई अनिवार्य मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, हात धुने लगायतका कुरामा जनचेतना फैलाउने कार्य गर्न समेत आग्रह गरे । यस्तै कोभिड रोकथाम तथा नियन्त्रणका लागि निर्माण गरिएका क्वारेन्टाइन, आइसोलेसन केन्द्रहरुको अवस्था के छ भन्ने सम्बन्धमा सबै स्थानीय तह मार्फत् अनुगमन गरी तयारी अवस्थामा राख्ने निर्णय गरिएको पनि उनले बताए । 

विद्यालय सञ्चालन भएको अवस्थामा विद्यार्थीहरुलाई अनिवार्य मास्क लगाउने व्यवस्था गर्ने, कक्षाकोठाको व्यवस्थापन सोही अनुसार गर्ने, सेनिटाइजर प्रयोग गर्ने, हात धुन लगाउने कुरालाई अनिवार्य पालना गर्ने व्यवस्था गर्न समेत अनुरोध गरेका छन् । यस्तै कोरोनाबाट थप जटिलता नआओस् भन्नका लागि सबै पक्षको साथ र सहयोगको अपेक्षा गरिएको पनि प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए ।

भिडियो





  • प्रकाशित मिति : चैत ११, २०७७ बुधबार १९:१६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया