मध्यपश्चिमाञ्चल विश्वविद्यालय : विवादित बनेपछि दोस्रो पटक एलएलबीको प्रवेश परीक्षा !

मध्यपश्चिमाञ्चल विश्वविद्यालय ‘स्कुल अफ ल’अन्तर्गत स्नातक तह (बिए-एलएलबी) कार्यक्रमअन्तर्गत विवादित प्रवेश परीक्षा पुनः हुने भएको छ । विश्वविद्यालयले प्रवेश परीक्षा चैत्र २२ गते हुने जानकारी दिएको छ । 

फागुन १७ गते भएको लिखित परीक्षा विश्वविद्यालयको आधारभूत मूल्य र मान्यताविपरित भएको भन्दै पुनः परीक्षा गराउने निर्णय भएको हो । यसअघि फागुन १७ मा भएको प्रवेश परीक्षा पक्षपात, धाँधली पूर्वक भएको भन्दै अनुत्तीर्ण विद्यार्थीले पुनः परीक्षा गराउन माग गर्दै निवेदन पेस गरेका थिए । 

जसको आधारमा विश्वविद्यालयले २५ फागुनमा छानविन समिति गठन गरेको थियो । समितिमा परीक्षा नियन्त्रण कार्यालयका प्रमुख डा.आनन्दप्रसाद सुवेदीको संयोजकत्वमा उपप्राध्यापक नरेन्द्र साउद र अधिवक्ता दुर्गा सापकोटा सदस्य थिए । समितिले करिब १५ दिन लगाएर निकालेको प्रतिवेदनको आधारमा पुनः परीक्षा गराउने निर्णय गरिएको हो । 

शुक्रबार विश्वविद्यालय केन्द्रीय क्याम्पसको गेट नजिक पत्रकार सम्मेलन गर्दै गरेका विद्यार्थी । तस्बिर : वसन्त भण्डार/फरकधार ।

छानविन समितिको प्रतिवेदन हेर्दा परीक्षा विश्वविद्यालयको मूल्यमान्यताअनुसार नभएकाले रद्द गरिएको विश्वविद्यालयका उपकुलपति प्रा.डा नन्दबहादुर सिंहले जानकारी दिए । 

प्रवेश परीक्षा सञ्चालन सम्बन्धी कार्यविधि-२०७६ ले बिए-एलएलबीको लागि सबै विषयका लागि खुला गरिएकोमा ६६ प्रतिशत कानुन विषयसँग सम्बन्धित प्रश्नपत्र तयार गरिएको, सोधिएका प्रश्नमध्ये १५ प्रतिशत चुहावट गराएको, सोही विषयमा कार्यरत शिक्षकहरु कक्षा ११ र १२ मा पनि कानुन विषय पढाउने, त्यहाँका विद्यार्थी उत्तिर्ण हुने गरी प्रश्नपत्र तयार गरिएको उपकुलपति सिंहको भनाइ छ । 



शुक्रबार आफ्नो कार्यकक्षमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उपकुलपति नन्दबहादुर सिंह । तस्बिर : वसन्त भण्डार/फरकधार ।

परीक्षाको लिखित अङ्कभार ९५ प्रतिशत र मौखिक अङ्कभार ५ प्रतिशत कायम गर्ने निर्णय भएकोमा निर्णय विपरीत गरिएकाले भन्दै परीक्षा रद्द गरिएको विश्वविद्यालयले जानकारी दिएको छ । 



भर्नाको माग गर्दै विद्यार्थी आन्दोलित
यता परीक्षामा उत्तिर्ण विद्यार्थी भर्नाको माग गर्दै आन्दोलित भएका छन् । परीक्षा दिएर पास भएका आफूहरुलाई विश्वविद्यालयले आफ्ना केही व्यक्तिगत स्वार्थ, राजनीतिक पूर्वाग्रह पूरा गर्नको लागि परीक्षा रद्द गरेको बताएका छन् । विद्यार्थीहरुले छानविन समितिले तयार पारेको प्रतिवेदन आफूहरुको माझ देखाएर किन परीक्षा रद्द गरिएको प्रष्ट पार्न अनुरोध गरेका छन् । 

तीन दिनदेखि उपकुलपतिको कार्यलयमा धर्नामा बसेका विद्यार्थीले कारणबिना परीक्षा रद्द गरिएको बताएका छन् । तत्काल भर्ना प्रक्रिया अघि नबढाएसम्म निरन्तर आन्दोलनमा होमिने उनीहरुको भनाइ छ । 

‘बिनाकारण पावर पहुँच, आफ्नो केही स्वार्थहरु पूरा गर्नको लागि परीक्षा रद्द गरिएको छ,’ परीक्षामा पास भएका विद्यार्थी विष्णु विवेक ढुङ्गानाले भने, ‘हामीलाई के कारणले रद्द गरिएको भनिएको छैन । छानविन समितिको प्रतिवेदन पनि देखाइएको छैन ।’

  • प्रकाशित मिति : चैत १४, २०७७ शनिबार ११:४२:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया