इन्सपेक्टर सरुवामा भद्रगोल : आफैँले ल्याएको आचारसंहिता बिर्सिए आइजीपीले

पछिल्लो समय नेपाल प्रहरीमा कर्मचारी सरुवा बढुवाले भद्रगोल अवस्था भएको छ। समयमै प्रहरी निरीक्षकको सरुवा र प्रहरी नायव निरीक्षक (सई) को बढुवा नहुँदा प्रहरी संगठन भद्रगोल अवस्थामा पुगेको हो ।

नेपाल प्रहरीका एकजना प्रहरी निरीक्षक अरुण झा १५ महिनादेखि एकै ठाउँ छन्। उनी काभ्रेको कात्तिके देउरालीमा कार्यरत रहेको १५ महिना भन्दा बढी हुन थाल्यो। तर सरुवा भएको छैन । 

सामान्यतः उनको सरुवा त्यहाँबाट ४ महिनाअघि नै हुनुपर्ने हो । तर संगठनको बेवास्ताले उनी कात्तिके इलाका प्रहरी कार्यालयबाट सरूवाको पर्खाइमा छन् । प्रहरी हेडक्वार्टरले उनको सरुवा अघिल्लो पुस महिनामा गरेको थियो ।

प्रहरी निरीक्षक कन्चनराज चलको अवस्था पनि उस्तै छ । उनी बारा जिल्ला प्रहरी कार्यालयमा बसेको लामो समय भइसक्यो तर उनको जिम्मेवारी हेरफेर भएको छैन । उनी पनि सरुवाको प्रतीक्षामा छन् ।

यी दुई अधिकृत त प्रतिनिधि पात्र मात्रै हुन् । सरुवा नहुने प्रहरी निरीक्षक सूची लामै छ । प्रहरी प्रधान कार्यालयका प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार यो संख्या तीन सयभन्दा माथि छ ।

नियमावली बेवास्ता



प्रहरी निरीक्षकहरूको सरुवा गर्ने अधिकार प्रहरी प्रधान कार्यालयको हुन्छ । तर प्रहरी प्रधान कार्यालयले एक वर्षभन्दा बढी भइसक्दा पनि प्रहरी निरीक्षकहरूको सरुवा निकाल्न सकेको छैन । 

यद्यपि प्रहरी नियमावली पदस्थापन तथा सरुवासम्बन्धी व्यवस्थामा भने एक वर्ष अवधि पूरा भइसकेका अधिकारीहरुको सरुवा गर्ने व्यवस्था छ । सरुवा रोकिँदा प्रहरी संगठनको कमजोरी कमजोरी त उदांगिएको छ नै संगठनको सेवामा समेत असर पर्न थालेको छ । 



यो ढिलासुस्तीले प्रहरी महानिरीक्षक (आइजीपी) शैलेश थापा क्षेत्रीको कार्यशैलीमाथि समेत प्रश्न उठ्न थालेको छ । उनैले ल्याएको नीतिमा पनि कुनै कार्यालयको कमान्डरले १२ महिनाभन्दा बढी बस्न नपाउने व्यवस्था छ । तर त्यसको बेवास्ता हुँदा महानिरीक्षक थापा मौन छन् । 

नेपाल प्रहरीका प्रवक्ता वसन्त कुँवरले भने प्रहरी निरीक्षकहरूको सरुवा प्राविधिक कारणले ढिला भएको बताउँछन् । उनले सरुवामा भने ढिलाइ भएको स्वीकारे। ‘यसबीचमा हुने भनिएको मध्यावधि चुनाव पनि एउटा कारण हो, प्रशासनिक तथा विविध कारण पनि यसको जड बनेको छ’, उनले भने। 

तर जे जे कारणले रोकिए पनि अब चाँडै त्यो समस्या समाधान हुने हिसाबले गृहकार्य अगाडि बढाइएको उनले बताएका छन्। 

करिअरमै असर

प्रहरी निरीक्षकको सरुवा नहुँदा उनीहरुको मनोबलमा असर पार्ने गरेको पूर्व प्रहरी अधिकारीहरु बताउँछन्। अर्थात् समयमै सरुवा नहुँदा जिम्मा पाएका र नपाएका दुवै प्रहरी अधिकारीको मनोबल खस्किने उनीहरुको तर्क छ।

नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्ल नेतृत्वको लापरवाहीले कर्मचारीहरुको करिअरमा असर गर्ने बताउँछन्। ‘सरुवा ढिलो हुँदा या एउटा फल्ट हुँदा ‘करियर’मै असर पार्छ, जति ढिलो भयो त्यसको असर तल र माथि दुवैमा असर गर्छ’, उनले भने, ‘कति काम दर्जाले गर्नुपर्ने हुन्छ, त्यसमा पनि यसको सीधा असर पर्छ । कतिपय विषयमा ऐनले तोकेका जिम्मेवारी अधिकारीले गर्नुपर्छ, त्यो अरुले गर्न पाउँदैन, त्यसले सबै काममै असर गर्छ ।’ 

यो समस्या समाधानका लागि ‘प्रमोसन’ र भर्ना दुवैमा ‘क्यालेन्डर’ बनाएर जानुपर्ने आवश्यकता रहेको सुझाव उनले दिएका छन्। 

  • प्रकाशित मिति : चैत १४, २०७७ शनिबार १६:४९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया