भारतले इङ्ग्ल्यान्डसँगको टि-२० सिरिजसँगै एकदिवसीय सिरिजमा पनि कब्जा जमाएको छ । घरेलु टिम भारतले इङ्ल्याण्डविरुद्ध तीन खेलको एकदिवसीय सिरिज जिते सँगै पाहुना टोली उपाधि विहीन बनेको छ ।
भारतले एकदिवसीय सिरिज २-१ ले जित्ने क्रममा आइतबार पुनेमा भएको तेस्रो तथा अन्तिम खेलमा इङ्ग्ल्यान्डलाई ७ रनले पराजित गर्यो । ३ सय ३० रनको लक्ष्य दिएको भारतले इङ्ग्ल्यान्डलाई ५० ओभरमा ९ विकेटसहित ३ सय २२ रनमा रोक्यो ।
इङ्ग्ल्यान्डका साम करणले अविजित रहदै ९५ रनको अर्धशतकीय पारी खेले । डविड मालनले ५० रन बनाउँदा लियाम लिभिङस्टोनले ३६ रन बनाए । यस्तै, बेन स्टोक्सले ३५, मोइन अलीले २९, कप्तान जोस बट्लरले १५ रन बनाउँदा आदील राशिद १९ र जासन रोय १४ तथा मार्क उड पनि १४ रन बनाएर आउट भए ।
भारतका सार्दुल ठाकुरले ४ विकेट लिए । भुवनेश्वर कुमारले पनि इंग्ल्यान्डका ३ खेलाडीलाई पवेलियन फर्काए ।
यसअघि पहिले ब्याटिङ गरेको भारतले ४८ ओभर २ बलमा अलआउट हुँदै ३ सय २९ रन बनाएको थियो । भारतका लागि ऋषभ पन्तले ७८ रनको अर्धशतकीय पारी खेल्दा शिखर धवनले ६७ रन बनाए ।
हार्दिक पाण्डेयले ६४ रनको इनिङ्ग खेले भने रोहित शर्मा ३७ रनमा आउट भए । शार्दुल ठाकुरले ३० तथा कुर्नाल पाण्डेयले २५ रन बनाए । इंग्ल्यान्डका मार्क उडले ३ तथा आदील राशिदले २ विकेट लिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।