बागलुङ घटनाको अनुसन्धानमा एसपी नेतृत्वको टोली खटियो

बागलुङको बडिगाड गाउँपालिका १० बल्देधुरीमा होली खेल्ने क्रममा झडप भएर युवाहरुले ज्यान गुमाएको घटनामा अनुसन्धानका लागि नेपाल प्रहरीले एसपीको टोली खटाएको छ । 

घटनाको विषयमा विस्तृत अध्ययनका लागि जिल्ला प्रहरी कार्यालय बागलुङबाट एसपी कृष्ण बहादुर पल्ली मगर नेतृत्वको टोली घटनास्थल गएको छ । घटनालगत्तै एसपी मगरको नेतृत्वमा ११ जनाको टोली त्यसतर्फ लागेको हो ।  

यसअघि होली खेल्नेक्रममा आइतबार दिउँसो झडप हुँदा ज्यान गुमाएका दुईमध्ये एकजना नेपाली कांग्रेसका जिल्ला सदस्य भएको खुलेको छ ।

झडपका क्रममा हत्या गरी भीरमा फालिएका मध्ये निसिखोला गाउँपालिका–७ का ३६ वर्षीय प्रकाश कुँवर नेपाली कांग्रेस जिल्ला कमिटी सदस्य रहेको खुलेको छ । स्थानीय पत्रकार बिमल खड्काका अनुसार उनी जिल्लामा परिचित कांग्रेस नेता थिए । 

उनीसँगै सोही स्थानका ३४ वर्षीय दीपक दमाईको पनि हत्यापछि भीरमा शव फालिएको अवस्थामा प्रहरीले भेट्टाएको छ । गुल्मी, बागलुङ र प्युठानका युवाहरु भेला भएर होली खेल्ने क्रममा बल्देधुरीमा झडप भएको थियो ।

सयौँ युवाहरु भेला भएर होली खेल्ने क्रममा भएको झडपका क्रममा कम्तिमा १५ जना युवा भीरबाट खसेको अनुमान गरिएको थियो । तर, तीमध्ये दुईजनाको शव भेटिएको छ भने अन्य केही युवा आइतबार राति घर फर्किएको बताइएको छ । अझै पनि केही युवाहरु हराइरहेको प्रहरीले जनाएको छ । 



स्थानीयका अनुसार होली खेल्ने क्रममा गाईभैँसी चराउने भीरमा करिब १० देखि १५ युवालाई धकेलिएको थियो । दिउँसो भएको झडपपछि बेपत्ता उनीहरुको अपरान्हदेखि खोजी गरिएको थियो । इलाका प्रहरी कार्यालय भीमगीठेको टोली घटनास्थल पुगेर खोजी थालेको थियो । 



  • प्रकाशित मिति : चैत १६, २०७७ साेमबार ७:८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया