आठ महिनाको अवधिमा खाने तेलको मूल्यमा दोब्बर वृद्धि

पछिल्लो ८ महिनाको अवधिमा खाने तेलको मूल्य झण्डै दोब्बरले बढेको छ । खासगरी भटमास, सनफ्लावर तथा तोरीको तेलको मूल्य उच्च भएको हो । सरकारले केही समय अघि अनुगमन गरी मूल्य नियन्त्रण गर्ने भने तापनि दिन प्रतिदिन बढ्दो क्रममा रहेको छ । 

साउनदेखि चैतको बीचमा खाने तेलको मूल्य लिटरमै सय रुपैयाँले बढेको छ ।

दाल, चामल, पिठोलगायतका खाद्यान्नको मूल्यको तुलनामा तेलको भाउ थेग्नै नसक्ने गरी बढेको पाइएको हो । 

नेपालमा पछिल्लो समय जुन रूपमा खाने तेलको मूल्य बढिरहेको छ यसमा स्वदेशी उद्योगी तथा व्यवसायीको कत्तिको हात छ ? के स्वदेशी उद्योगी व्यवसायीले नै 

खाने तेलको मूल्य अप्रत्यासित वृद्धि गरेका हुन् ?

अहिले जुन गतिमा तेलको मूल्य बढेको छ, त्यसमा नेपालका व्यवसायीको कुनै पनि योगदान छैन । भारतीय नेसनल कमोडिटिज एन्ड डेरिभेटिभ मार्केट (एनसिडेक्स) का अनुसार विश्व बजारमै तोरी, भटमास र सनफ्लावर तेलको मूल्य दुई गुना बढेको छ ।



नेपालमा तोरी, भटमास तथा सनफ्लावर तेल आयात हुने गरेको छ । यी सबै वस्तु नेपालमा उत्पादन नहुने भने होइन । नेपालको उत्पादनले देशको मागलाई धान्न सक्ने अवस्था भने छैन । असारको तुलनामा चैतमा तोरी, भटमास तथा सनफ्लावरको मूल्य झण्डै दोब्बर बढेको एक उद्योगी बताउँछन्, ‘महँगोमा किनेर ल्याएपछि त्यसको उत्पादन स्वतः बढ्नु स्वाभाविक हो ।’ उद्योगीका अनुसार विश्व बजारमा व्यापार हुने वस्तुको मूल्य थपघट हुँदा त्यसको असर नेपाली बजारमा समेत पर्छ ।

एनसिडेक्सका अनुसार साउनमा ७०० डलर प्रतिटनमा पाइने भटमास अहिले १ हजार ३०० डलर पुगेको छ । त्यो बेला तेल प्रतिलिटर १२५ रुपैयाँ कारखाना मूल्य थियो । अहिले प्रतिलिटर भटमासको तेल २०५ रुपैयाँ पुगेको छ । जुन गतिमा अन्तर्राष्ट्रिय बजारमा भटमासको मूल्य बढेको छ, सोही गतिमा नेपालमा तेलको मूल्य पनि बढेको देखिन्छ ।



यस्तै, नेपालमा भटमास ब्राजिल तथा अर्जेन्टिनाबाट आयात भइरहेको छ भने भटमास आयात गर्दा १० प्रतिशत भन्सार पनि लाग्ने गरेको छ । साउनमा ७०० डलरमा १० प्रतिशत लाग्थ्यो । त्यसमा ७० डलर भन्सार लाग्थ्यो । अहिले १ हजार ३०० मा १० प्रतिशत लाग्छ । त्यो भनेको १३० डलर भयो । यसले पनि लागत बढाएको उद्योगीहरू बताउँछन् ।

यसबाट एकातिर सरकारले पनि तेलबाट पाउने राजस्व दोब्बर पाइरहेको छ । साउनमा प्रतिटन ८४० डलर पर्ने सनफ्लावरको मूल्य अहिले १ हजार ६८० डलर पुगेको छ । तर, एक महिना अघिको तुलनामा भने यो मूल्य घटेको एनसिडेक्सले देखाएको छ ।

एक महिना अघिसम्म प्रतिटन सनफ्लावरको मूल्य १ हजार ८०० डलरसम्म पुगेको थियो । उक्त समय उद्योगीले आयात गरेको सनफ्लावरबाट तेल उत्पादन गरेका थिए जसका कारण मूल्य बढेको देखिन्छ । नेपालमा सनफ्लावरको गेडा पनि युक्रेन र रसियाबाट आयात हुने गरेको छ । 

साउनमा प्रतिलिटर सनफ्लावर तेलको मूल्य १३५ देखि १४० रुपैयाँ थियो । अहिले २३० रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य यहाँ राख्ने हो भने अझै तेलको मूल्य लिटरमै १५ देखि २० रुपैयाँसम्म बढ्न सक्ने देखिन्छ । धेरै व्यापारीले मगाएको सामान अझै आइसकेको छैन । त्यो सामान आइपुग्ने बित्तिकै तेलको मूल्य अझै उकालो लाग्न सक्ने व्यापारीहरू बताउँछन् । 

यस्तै नेपालमा तोरी अस्ट्रेलिया तथा क्यानडाबाट आयात हुने गरेको छ । साउनमा तोरीको मूल्य प्रतिटन ५२० डलर हाराहारी थियो । अहिले ७८० डलर पुगेको छ । यसरी बीचको समयमा तोरीको मूल्य वृद्धि हुँदा उत्पादन लागत समेत बढ्दा तेलको मूल्य बढेको देखिएको छ । असारमा तोरीको तेल प्रतिलिटर १५० रुपैयाँ थियो । अहिले २०५ रुपैयाँ मूल्य पुगेको छ ।

हालको अवस्थामा अन्तर्राष्ट्रिय बजारबाट तेल ल्याएर बेच्ने हो भने हालको मूल्यमा थप १५ देखि २० रुपैयाँ बढ्ने निश्चित रहेको व्यापारीहरूको दाबी छ । नेपालको खाने तेलको मूल्य बढ्ने वा घट्नुमा अन्तर्राष्ट्रिय बजारमा निर्भर छ । 

नेपालमा खाने तेल उत्पादन गर्ने उद्योगको संख्या धेरै छ । मागको तुलनामा ४ गुणा बढी आपूर्ति पनि भइरहेको छ । यस्तो अवस्थामा कुनै व्यापारीले चाहेर पनि तेलको भाउ बढाउने वा कार्टेलिङ गर्न सक्ने अवस्था नरहेको सरकारी अधिकारीहरू बताउँछन् । 

बजारमा ‘कस्ट अफ प्राइस’ (लागत) तथा माग र आपूर्तिका आधारमा मूल्य निर्धारण हुन्छ । लागत बढेको अवस्थामा मूल्य बढ्ने र लागत घटेपछि मूल्य पनि घट्ने हुन्छ ।

माग र आपूर्तिका आधार मूल्य निर्धारण हुँदा अनधिकृत रूपमा नाफा बढ्न सक्ने देखिन्छ । लागतका आधारमा मूल्य बढ्दा सरकारलाई पनि केही जोखिम हुँदैन । किनभने लागत बढ्ने बित्तिकै मूल्य बढ्ने र घट्ने बित्तिकै स्वत घट्ने गर्दछ ।

  • प्रकाशित मिति : चैत १७, २०७७ मंगलबार १४:४:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया