न्युजिल्यान्ड–बंगलादेश ३ खेलको टि–२० सिरिजको दोस्रो खेलमा २८ रनको जित हात पार्दै घरेलु टोली न्युजिल्यान्डले एक खेल अगावै सिरिजमाथि कब्जा जमाएको छ ।
वर्षाका कारण खेल रोकिएपछि डकवर्थ लेविस पद्धति अनुसार खेललाई १६ ओभरमा झारिँदा १७१ रनको लक्ष्य पाएको बंगलादेशले पूरै ओभर ब्याटिङ गरे पनि ७ विकेट गुमाएर १४२ रन मात्र बनाउ सक्यो ।
बंलादेशका सौम्य सरकारले अर्धशतकीय पारी खेल पनि त्यो जितका लागि पर्याप्त बन्न सकेन । १०.१ ओभरमा टिम साउदीले एडम मिल्नेबाट क्याच गराउनुअघि उनले २७ बलमा ५ चौका र ३ छक्का प्रहार गरेका थिए ।
मोहम्मद नइमले ३८ र कप्तान महमुदुल्लाहले २१ रनको योगदान दिए । मेहदी हसन १२ रनमा अविजित रहे ।
न्युजिल्यान्डका कप्तान टिम साउदी, हमिस बेनेट र एडम मिल्नेले समान २–२ विकेट हात पार्दा ग्लेन फिलिप्सले १ विकेट हात पारे ।
नेपियरमा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले १७.५ ओभरमा ५ विकेट गुमाएर १७३ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो ।
न्युजिल्यान्डका ग्लेन फिलिप्स ५८ र डर्याल मिचेल ३४ रनमा अविजित रहे । फिलिप्सले ३१ बलमा ५ चौका र २ छक्का प्रहार गर्दा मिचेले १६ बलमा ६ चौका प्रहार गरे ।
बंगलादेशका मेहदी हसनले २, मोहम्मद सैफुद्दिन, तस्किन अहमद र सोरिफुल इस्लामले समान १–१ विकेट लिए ।
जितसँगै न्युजिल्यान्डले सिरिजमा २–० को अग्रता बनाएको छ । पहिलो खेलमा न्युजिल्यान्ड ६६ रनले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल अप्रिल १ मा हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।