नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत पुग्ने विश्व बैंकको संशोधित प्रक्षेपण

चालु आर्थिक वर्ष २०७७/७८ मा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण गरेको छ । विश्व बैंकले ‘साउथ एसिया इकोनोमिक फोकस : साउथ एसिया भ्याक्सिनेट’ रिर्पोट सार्वजनिक गर्दै चालु आवमा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत पुग्ने प्रक्षेपण गरेको हो । 

सरकारले नै चालु आवमा १० प्रतिशतको आर्थिक वृद्धिदर हुने भनिरहँदा विश्व बैंकले भर्खरै सार्वजनिक गरेको प्रतिवेदनमा भने यस्तो देखाइएको हो । कोभिड–१९ विरुद्धको खोपको वितरण र यसले सिर्जना गरेको सहज गतिविधिका कारण अर्थतन्त्रमा तीव्र सुधारको संकेत देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै प्रतिवेदनले आगामी आवमा भने मुलुकमा ३.९ प्रतिशतको आर्थिक वृद्धिदर हुने उल्लेख गरेको छ । 

खास गरी कोरोनाले प्रभावित अर्थतन्त्र पुनरुत्थान हुँदा सन् २०२३ सम्म ५.१ प्रतिशतले आर्थिक वृद्धि हासिल हुने विश्व बैंकले जनाएको छ । त्यस्तै, रेमिट्यान्स अनुमान गरेभन्दा बढी भित्रिँदा त्यसको फाइदा पुगेको प्रतिवेदनमा उल्लेख छ ।

यसअघि विश्व बैंकले गत जनवरीमा २.१ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरेको थियो । उक्त अनुमानलाई संशोधन गरी विश्व बैंकले नयाँ प्रक्षेपण गरेको हो । नेपालसँगै बंगलादेश, पाकिस्तानको समेत आर्थिक वृद्धिदर बैंकले यसअघि गरेको प्रक्षेपणभन्दा बढी हुने संशोधित अनुमान रहेको छ । 

यसअघि सन् २०२० को अक्टोबरमा पनि बैंकले १.४ प्रतिशत नै आर्थिक वृद्धिदर हासिल हुने जनाएको थियो । यसबाहेक दक्षिण एसियामा सन् २०२१ मा आर्थिक वृद्धिदर ७.२ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण छ । त्यस्तै सन् २०२२ मा ४.४ प्रतिशत वृद्धि हासिल हुने समेत उसले उल्लेख गरेको छ ।

सन् २०२० मा आर्थिक वृद्धिदर ऐतिहासिक रूपमा न्यून विन्दुमा पुगे पनि अहिले भने अर्थतन्त्रहरू चलायमान हुन थालेको विश्व बैंकले जनाएको छ । यस क्षेत्रको अर्थतन्त्र चलायमान हुनुमा विद्युत् उपभोग बढ्नु र यातायात क्षेत्रले काम गरेको उल्लेख गरिएको छ ।



मुलुकको अर्थतन्त्र चलायमान भए पनि कोरोना भाइरसले सिर्जना गरेको परिस्थितिले उत्पन्न चुनौतीहरू भने अहिले पनि कायम नै रहेको विश्व बैंकको भनाइ छ । अहिले करोडौं मानिसको रोजगारी गुमेको अवस्था रहेको छ । आर्थिक गतिविधिहरू पूर्ण रूपमा सञ्चालनमा आउने सकेका छैनन् । सेवा क्षेत्रमा अहिले पनि अन्योल र अवरोध कायम छन् । यसले पर्यटनमा आधारित अर्थतन्त्र भएका मुलुकको जोखिम भने कायमै रहने विश्व बैंकको भनाइ छ ।

पर्यटनमा आधारित अर्थतन्त्र भएको माल्दिभ्सले सन् २०२० मा माइनस २८ प्रतिशतको नेगेटिभ वृद्धिदर भोगेको थियो । चालु वर्ष सन् २०२१ मा यो मुलुकको वृद्धिदर १७.१ प्रतिशत रहनेछ । श्रीलंका र नेपाल सेवा क्षेत्रमा आधारित पर्यटनबाट बढी आम्दानी गर्ने मुलुक रहेको प्रतिवेदनमा समावेश छ ।



  • प्रकाशित मिति : चैत १८, २०७७ बुधबार १५:९:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया