राष्ट्रिय जनगणना ०७८ मा सही तथ्यांक आउनका लागि प्रभावकारी रुपमा तथ्यांक संकलनको काम हुनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।
बुधबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा राष्ट्रिय जनगणना ०७८ को तयारी र भावी कार्ययोजनाको सम्बन्धमा छलफल गर्दै सांसदहरुले विभिन्न कारणले तथ्यांक सही आउन नसक्ने भन्दै सही तथ्यांकका लागि प्रभावकारी रुपमा तथ्यांक संकलनको कामलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका हुन् ।
सांसद कोमल वलीले पछिल्लो समय हिन्दू धर्मप्रति ‘बायसनेस’ देखिने गरेको भन्दै नेपालमा धर्मको अवस्था कस्तो रहेको छ यथार्थ रुपमा जनगणनाबाट आउनुपर्ने बताइन् । क्रिश्चियन धर्मावलम्बीको संख्या बढेको अथवा घटेको सम्बन्धमा वास्तविक तथ्यांक आउनुपर्ने पनि बताइन् ।
सांसद विमला पौडेलले जनगणनाको कामका लागि राष्ट्रिय योजना आयोगको मात्रै नभई सबैको भूमिका महत्वपूर्ण हुने बताइन् । जनगणनालाई सफल बनाउनको लागि सांसदहरुको पनि भूमिका हुनुपर्ने र सांसदहरुलाई पनि परिचालन गर्नुपर्ने बताइन् ।
सांसद खिमलाल भट्टराईले नेपालमा क्रिश्चियन धर्मको अवस्था के कस्तो रहेको छ सही तथ्यांक आउनुपर्ने बताए । सेवा क्षेत्रको विकास कसरी भइरहेको छ, कृषिको अवस्था कस्तो छ र नेपालमा गरिबीको अवस्था कस्तो छ यी सबै विषय जनगणनामा समेटिनुपर्ने पनि उनले बताए । त्यसैगरी बोक्सी प्रथा, दाइजोप्रथा, बालविवाह, छाउपडी प्रथालगायतका विभिन्न सामाजिक कुप्रथाहरुको पहिचान गरिनुपर्ने पनि उनले बताए । सामाजिक कुप्रथाको पहिचान गर्न सके सामाजिक रुपान्तरणमा सहयोग पुग्ने उनको भनाइ छ ।
सांसदहरुले जनगणनामा सही तथ्यांक आउनका निम्ति गणकहरुको भूमिका र सक्रियता प्रमुख हुने भएकाले गणकहरुलाई सही ढङ्गले सूचना सङ्कलनमा खटाउनुपर्ने मत राखेका छन् । तथ्यांक संकलन गर्दा गोपनीयता कायम गर्नुपर्ने विषयमा पनि सांसदहरुको जोड छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।