राष्ट्रिय जनगणना ०७८ को लागि मुख्य गणना कार्य ०७८ जेठ २५ गतेदेखि असाढ ८ गतेसम्म हुने भएको छ ।
बुधबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा राष्ट्रिय जनगणना ०७८ को तयारी र भावी कार्ययोजनाको सम्बन्धमा छलफलमा भाग लिँदै केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जनगणनाको मुख्य गणना कार्य ०७८ साल जेठ २५ गतेदेखि असार ८ गतेसम्म सञ्चालन गरिने बताए ।
यस अवधिमा सुपरिवेक्षकहरुले प्रत्येक वडाबाट सामुदायिक प्रश्नावलीमा रहेका विवरण सङ्कलन गर्ने उनले जानकारी दिए । महानिर्देशक श्रेष्ठले यस वर्ष करिब ८० वटा प्रश्न लिएर जनगणनाको लागि प्रत्येक घरमा जाने बताए ।
जनगणनाका लागि ३९ हजार गणक तथा ८ हजार सुपरिवेक्षक परिचालन गरिने पनि उनले बताए । मुख्य जनगणना अघि वैशाख २६ गतेदेखि जेठ १४ गतेसम्म घरपरिवार सूचीकरण गरिने उनले बताए ।
जनगणनाका लागि आवश्यक तयारी गरिरहेको जानकारी गराउँदै उनले ७ प्रदेशमा र ७७ जिल्लामा ८० स्थानमा जनगणना कार्यालय स्थापना गरिएको उनले बताए ।
स्रोत र साधनले भ्याएसम्म प्रविधिको प्रयोग गरिने महानिर्देशक श्रेष्ठले बताए । विसं १९६८ सालदेखि नेपालमा प्रारम्भ भएको जनगणना हरेक १०–१० वर्षमा हुँदै आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।