सर्वोच्च अदालतले नेकपालाई खारेज गरेपछि केपी ओली पक्ष र माधव नेपाल पक्ष दुवै सहभागी भएको बैठक बुधबार पहिलो पटक बसेको छ । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठकमा दलका नेता मुख्यमन्त्री डोरमणि पौडेल शालीन रूपमा प्रस्तुत भएका छन् ।
डोरमणिलाई सहयोग गरेको स्मरण
एमाले नेतृ अष्टलक्ष्मी शाक्यले संसदीय दलको बैठकमा बागमती सरकारले सुझावहरू समेट्न नसकेका कारण समस्या आइरहेको भन्दै आफ्नो पक्षले डोरमणि सरकारलाई सधैँ समर्थन गरेको बताइन् ।
विगतमा बजेट पारित नहुने अवस्था भएका बेला ह्विप लगाएर सांसदहरूलाई मुख्यमन्त्रीको पक्षमा खडा गराई बजेट पास गराएको उनले स्मरण गराइन् । बैठकमा पार्टीलाई माथिदेखि तलसम्म एकताबद्ध बनाएर लैजान सबैले आआफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने शाक्यले बताएकी थिइन् ।
केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओली जसरी प्रस्तुत भएका थिए प्रदेशमा मुख्यमन्त्री पौडेल पनि आफ्नो पक्षको मात्रै पक्षपोषण गर्ने शैलीमा प्रस्तुत हुने नेपाल पक्षका सांसदहरूले अनुमान गरेका थिए । तर, बैठकमा मुख्यमन्त्री पौडेलले आफू सबैलाई मिलाएर लैजाने पक्षमा रहेको भन्दै भद्र प्रस्तुति गरेको नेपाल पक्षकी प्रदेश सभा सदस्य रचना खड्काले बताइन् ।
उनले भनिन्, ‘केपी ओलीले जसरी निषेध गर्न खोज्नु भएन, मिलाएरै जानुपर्ने बताउनुभयो, नेकपा विभाजनपछि एमाले संसदीय दलको पहिलो बैठक सौहार्दपूर्ण नै बन्यो ।’
११० संसद सदस्य रहेको बागमती प्रदेशमा एमालेका मात्रै ५७ जना सांसद छन् । जसमा ओली निकट मुख्यमन्त्री डोरमणि पौडेल बलियो अवस्थामा छन् । सभामुख बाहेक एमालेका ५६ सांसदमध्ये ओली पक्षका सांसदहरू ३४ जनाको हाराहारीमा छन् ।
एमालेले बागमती प्रदेशको समानुपातिक तर्फ १६ सिट र प्रत्यक्ष तर्फ ४२ मतसहित सुविधाको बहुमत पाएको थियो । तर, एमालेबाट विजयी एक प्रदेश सभा सदस्यको मृत्यु भएपछि भक्तपुरमा भएको उपनिर्वाचनमा कांग्रेसले आफ्नो सिट बढाएको थियो ।
तीन सदस्यीय विधान मस्यौदा समिति गठन
संसदीय दलको बैठकले तीन सदस्य रहने गरी विधान मस्यौदा समिति गठन गरेका छ । एमालेका प्रमुख सचेतक केशव पाण्डे, प्रदेश सभा सदस्यहरू नारायण सिलवाल र उर्मिला कर्माचार्य रहेको विधान मस्यौदा कार्यदल गठन गरेको हो । मस्यौदा समितिका तीनमध्ये उर्मिला कर्माचार्य अष्टलक्ष्मी शाक्य पक्षकी हुन् । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बैठक बसेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।