प्रचण्डको इसारामा देउवालाई घेर्दै बाबुराम-उपेन्द्र
देखाए एकता हुँदाको हस्ताक्षर तर देउवा टस न मस

नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवासँग सत्ता बाहिरका अन्य दल सम्बन्ध बनाउन खोजेको तीन महिना भइसकेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेयता माओवादी केन्द्र, जनता समाजवादी पार्टीले कांग्रेससँग माया प्रिती गाँस्ने रणनीति बनाएका थिए। 

सर्वोच्च अदालतले प्रतिनिधिसभा फर्काइदिएपछि सरकारबाट ओलीलाई विदा गर्न पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले देउवासँग पटक पटक सहयोग मागिसकेका छन्। तर आफ्नो अडानबाट टसमस नभएका देउवासँग माया गाँस्ने उनीहरुको प्रयास अहिलेसम्म सफल हुन सकेको छैन। 

पछिल्लो समय पनि माओवादी र जसपा नेताहरु देउवालाई फकाउन बूढानीलकण्ठ धाइरहेका छन्। ओली सरकारविरुद्ध आफैँ निर्णय गर्न नसकेका यी दुई दल कांग्रेसलाई अघि सारेर बन्दुक पड्काउन चाहन्छन्। आफैं अनिर्णयको बन्दी बनेका प्रचण्ड र उपेन्द्र यादवको कुरा देउवाले सुनेका छन् तर उनको सदावहार उत्तर, ‘म पार्टीमा छलफल गर्छु, पहिले तपाईंहरु लिखित निर्णय लिएर आउनुस्।

समर्थन गर्नुस् : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अझ यो रणनीतिमा बढी सक्रिय भएका छन् । आफ्नै पार्टीले ओलीको समर्थन फिर्ता गर्न नसकेका उनी देउवालाई फकाउन पटक पटक बूढानीलकण्ठ पुगेका छन्। मंगलवार पनि उनी देउवा निवास पुगे । त्यहाँ पुगेर देउवालाई भने, ‘अब धेरै भयो, हामी कुर्दैनौँ। तपाईहरुले अविश्वास प्रस्ताव ल्याउनुहोस्, हामी सहयोग गर्छौ । समर्थन पनि फिर्ता लिन्छौं, हामी मिलेर जाऔं ।’

प्रचण्डले राखेको प्रस्तावमा कांग्रेस सभापति देउवाले पहिले समर्थन फिर्ता लिएर आउन भन्ने रेडिमेड जवाफ दिए। ‘कसरी अविश्वासको प्रस्ताव ल्याउने? तपाईँहरुले पनि समर्थन फिर्ता लिनु भएको छैन, उता जसपाका केही नेताहरु ओली सरकारलाई नै सहयोग तम्तयार भएको देखिन्छन्’, देउवाले भने, ‘यस्तो अवस्थामा सरकार चलाउन चाहिने बहुमत पनि पुग्दैन, अनि किन बेइज्जत हुन अविश्वासको प्रस्ताव ल्याउने? हामी अहिले सरकारविरुद्ध कुनै कदम चाल्दैनौँ।’



देउवाले यति भनिसकेपछि निराश मुद्रामा फर्किएका प्रचण्ड त्यहाँबाट सिधै जसपा नेता डा.बाबुराम भट्टराईलाई भेट्न टोखा पुगे । अनि त्यहाँ एउटा तयार भयो, ‘जसपामार्फत अब देउवालाई घेर्ने।’ अर्थात् प्रचण्डले अब त्यहाँबाट डा. भट्टराईसँग सल्लाह गरेर जसपाका नेतालाई देउवाकहाँ पठाउन भने। 

देउवा फकाउन ३२ जनाको हस्ताक्षर देखाउँदै जसपा



प्रचण्डको यो इसारा पाएपछि भोलिपल्टै अर्थात् यही बुधबार जसपाको एक घटकका नेता उपेन्द्र यादव र डा. बाबुराम भट्टराई देउवासँग भेट गर्न बूढानीलकण्ठ पुगे । त्यहाँको भेटघाटमा उनीहरुले कांग्रेस सभापतिलाई फकाउने कोसिस गरे।

त्यो क्रममा जसपा नेताहरुले देउवालाई भने, ‘हामी ओली सरकारबाट काम निकाल्ने रणनीतिमा छौँ, हामी फुट्दैनौँ, तपाईँ अविश्वासको प्रस्ताव ल्याउनुस्, हामी सबैजना सहयोग गर्छौँ । नपत्याए हेर्नुस् ३२ जना सांसदको हस्ताक्षरसमेत छ । त्यसैले तपाई जुन बेला अविश्वासको प्रस्ताव ल्याउनु हुन्छ, माओवादी केन्द्रसहित हामी सहयोग गर्छौँ।’

बूढानीलकण्ठको भेटमा जसपा नेताहरुको कुरा सुनेपछि देउवाले जवाफ फर्काएका थिए। ‘तपाईँहरूमाथि कसरी विश्वास गर्ने?  तपाइँहरुकै एउटा खेमा ओलीसँग नजिक छ, त्यही भएर ओली सरकारले रेशम चौधरीसहितका मुद्दाहरु फिर्ता गर्न खोजेको छ। बालुवाटारमा बारम्बार भेटघाट भइरहेको छ, अनि कसरी तपाईँहरूको कुरा पत्याउने ?’, उनले सोधेका थिए, ‘त्यही भएर पहिला तपाईहरु माओवादी केन्द्रलाई समर्थन फिर्ता गराउनुस्, अनि सबै मिलेर आउनुस्।’

एकता गर्दाको हस्ताक्षर

स्रोतका अनुसार जसपामा उपेन्द्र–बाबुराम समूहले एकता गर्दा लिएको सांसदहरुको हस्ताक्षरसहितको पत्र देउवालाई देखाएका थिए । पत्र देखाउँदै उनीहरुले जसपाका सबै नेता र सांसदहरु एक रहेको विश्वास दिलाउन खोजेका थिए । तर सभापति देउवाको एउटै अडान थियो, ‘पहिला तपाईँहरू मिलेर आउनुहोस् ।’

देउवासँग प्रचण्ड र जसपा नेताहरुको भेटबारे उनका स्वकीय सचिव भानु देउवाले पनि पुष्टि गरेका छन्। ‘उहाँहरूसँग भेटघाट भएको हो। उहाँहरुले अविश्वासको प्रस्ताव ल्याउन सभापतिज्यूलाई आग्रह गरेका थिए’, उनले भने, ‘जसमा सभापतिज्यूको भनाइ थियो, पहिला तपाईँ समर्थन फिर्ता लिनुस्, एक भएर आउनुस्। अनि विचार गरौँला।’

सरकार संचालनलाई लिएर जसपा अहिले निर्णायक बनेको छ। त्यहीकारण जसपा दुई चिरा भएको छ । अहिले उपेन्द्र–बाबुराम नेतृत्वको एउटा समूह ओली सरकार हटाउने रणनीतिमा छ। महन्थ ठाकुर–राजेन्द्र महतो नेतृत्वको अर्को समूह ओलीसँगै मिल्न तम्तयार छ।

यही विषयमा मतभेद हुँदा एक वर्ष अगाडि जुटेको जसपा अहिले फुटको संघारमा छ । जसपाबाट प्रतिनिधिसभामा ३४ जना सांसद थिए। जसमा २ जना निलम्बन पर्दा ३२ जना सांसद छन्। जसपाका आधा मात्रै सांसदले साथ दिँदा ओली सरकार टिक्छ। अर्कातिर कांग्रेस र माओवादीलाई नयाँ सरकार बनाउन पूरै जसपाको साथ चाहिन्छ।

  • प्रकाशित मिति : चैत १९, २०७७ बिहीबार १४:५०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया