धुर्बे हात्तीको आक्रमणबाट घाइते भएकाको उपचारमा कुनै कसर बाँकी नराख्न वनमन्त्रीको निर्देशन

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले चितवनको गैँडा गणनामा धुर्बे नाम गरेको जङ्गली हात्तीको आक्रमणमा परी घाइते भएका कर्मचारी तथा गणकको उपचारमा कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिएका छन् । 

मन्त्री आलेले आज राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव शरद अधिकारी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रमुख डा‍. दीपककुमार खराललाई भेटगरी घाइते भएका कर्मचारीको उपचारमा कुनै पनि समस्या आउन नदिनका लागि पहल चाल्न निर्देशन दिएका हुन् । गैँडा गणना कार्यमा निकै सजगता अपनाउनसमेत उनले सबैमा आग्रह गरे । 

यसैगरी, मन्त्री आलेले उक्त धुर्बे नाम गरेको जङ्गली हात्ती कुन ठाउँमा छ त्यसका बारेमा यकिन जानकारी लिएर तथा आफ्नो सुरक्षा व्यवस्था मजबुत बनाएर मात्रै गैँडा गणनाको कार्य अगाडि बढाउनसमेत निर्देशन दिए । 

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु नगरपालिका–२ नजिकै चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर क्षेत्रमा खटिएको टोलीलाई जङ्गली हात्तीले शुक्रबार लखेटेपछि हात्तीबाट खसेर पाँचजना घाइते भएका थिए ।
  
राष्ट्रिय निकुञ्जका प्रमुख डा. खरालका अनुसार धुर्बे हात्तीले लखेटेर घाइते हुनेमा राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी ३५ वर्षीय विनोद श्रेष्ठ, माहुते सर्लाही जिल्ला हरिपुर नगरपालिका–७ का ४२ वर्षीय दीपेन्द्र चौधरी र रौतहट चन्दनपुर नगरपालिका–७ का ५१ वर्षीय प्रेमलाल कहार चौधरी छन् । 

घाइतेमध्ये राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी श्रेष्ठको अवस्था गम्भीर रहेको र उनको काठमाडौँस्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । 





  • प्रकाशित मिति : चैत २१, २०७७ शनिबार १८:४४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया