'देउवाको नेतृत्वमा सरकार बन्‍न सक्छ, आवश्यक परे चुनावमा जान्छौँ'

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले मुकुलको संकट समाधान गर्न सरकारको नेतृत्व लिन नेपाली कांग्रेस तयार रहेको बताएका छन्।

'नेकपा एमाले र माओवादी केन्द्र फुटेर झगडामा लागेपछि अहिले देशमा राजनीतिक संकट आएको छ', उदयपुरको गाईघाटस्थित लोकतान्त्रिक चौकमा शनिबार आयोजित नेपाल राष्ट्रिय मगर संघ प्रदेश नं १ को भेलामा उनले भने, 'सत्तारुढको विवादले सरकार पनि संकटमा परेको छ।'

महामन्त्री कोइरालाले देशको राजनीतिक समस्या समाधान गर्दै देशलाई संकटबाट बचाउन आवश्यक परे नेपाली कांग्रेस सरकारको नेतृत्व गर्न तयार रहेको बताए। उनले कांग्रेसले मात्र देशलाई सही दिशा दिन सक्ने पनि जिकिर गरे।

'पाँच वर्षका लागि कम्युनिष्टलाई जनताले मतदान गरेर बहुमत दिई सत्तामा पुर्‍याएका कारण कांग्रेसले प्रतिपक्षको मात्र धर्म निर्वाह गर्दै आएको छ,' उनले भने, 'तर अहिले देशको अवस्था जटिल बन्दै गएकाले सरकारको नेतृत्व लिन हामी तयार छौँ।'

महामन्त्री कोइरालाले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा अबको सरकार बन्‍न सक्ने बताए। उनले आवश्यक परे ताजा जनादेश (चुनाव) मा गई राजनीतिक निकास दिइने बताए । 

मुलुकको प्रजातान्त्रिक आन्दोलनमा मगर जातिको ठूलो योगदान रहेको भन्दै उनले पछाडि परेकाहरुको उत्थानका लागि राज्यको मूल प्रवाहमा ल्याउनुपर्नेमा जोड दिए।



कम्युनिष्टले गर्दैनन्

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्काले अहिले देशमा राजनीतिक संकट कम्युनिष्ट नेतृत्वको सरकारले ल्याएको बताए। उनले अब कम्युनिष्टबाट देशको समस्या समाधान नहुने पनि उल्लेख गरे।



नेता भीष्मराज आङदेम्बेले पनि अब देशको समस्या कांग्रेसबाटै हुने बताए। 'जब-जब देशमा राजनीतिक सङ्कट आएको छ । त्यसको समाधान कांग्रेसले नै गरेको छ', उनले भने, 'त्यसैले अब कांग्रेसले सरकारको नेतृत्व लिने बेला आएको छ।' 

  • प्रकाशित मिति : चैत २१, २०७७ शनिबार २१:२१:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया