महिला खेलाडीका महिनावारी पीडा : पेनकिलर खाएर रिङमा उत्रिन्छौँ
भन्छन् : खेल्न थालेपछि सबै पीडा बिर्सिन्छौँ

महिनावारी महिलाको मासिक चक्र हो। यो क्षण केही महिलाका लागि अत्यन्तै पीडादायी हुन्छ। यो समय शरीरबाट निरन्तर रगत बग्ने भएकाले शरीर कमजोर हुनुका साथै ढाड र पेट दुख्ने समस्या पनि केहीमा देखिन्छ।

यस्तो पीडा भोग्नेमा कराँते महिला खेलाडी पनि पर्छन्।

यो समय अरू महिलालाई जस्तै खेलाडीहरूलाई पनि निकै पीडा हुन्छ। खेलको समयमा महिनावारीको पीडाले रन्थनिनु पर्दाको समय निकै कष्टदायक हुने गरेको उनीहरूको अनुभव छ।

अनुपमाको कथा

हरेक महिला खेलाडीका लागि मासिक पीडा चुनौती बनेर आउँछ। कराँते खेलाडी अनुपमा मगर पनि यो पीडाबाट अछुतो कसरी रहन सक्थिन् र ! उनी पनि धेरै पटक खेलको समयमा यो पीडाको सिकार बनेकी छन्। खेल क्षेत्रमा लामो समय बिताइसकेकी अनुपमा नेपालमा नै भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा कराँते महिला ६८ केजी माथिकी स्वर्ण विजेता हुन्।



उनी भन्छिन्, ‘पीडा त हामी खेलाडीलाई पनि हुन्छ तर पीडा भयो भनेर अरु महिलाले जसरी आराम गर्न पाउँदैनौँ।’ कराँते खेल्ने क्रममा महिनावारी हुँदा उनी दुई दिन आराम गर्छिन्। तेस्रो दिनबाट फेरि तालिममा फर्किने गरेको उनले बताइन्। 

कराँते खेल आफैंमा पीडादायी हुन्छ। शारीरिक कसरत गर्नुपर्ने हुँदा अन्य बेला जस्तो खेल्न नसक्ने उनी बताउँछिन्। तालिमको समयमा दुई दिन आराम मिल्छ। तर खेलको समयमा महिनावारी भए शारीरिक पीडा बिर्सिएर खेलमै ध्यान दिने गरेकी छन्, उनले।



खेल हुँदा महिनावारी भई हालेमा सामान्य प्याडको प्रयोग गरी आफू रिङमा जाने गर्छिन्। खाना अन्य दिन जस्तै सामान्य आहारा हो। तातो सुपले पनि उनलाई बल दिने गरेको छ।

सामान्य अवस्थामा भन्दा महिनावारीको बेला कमजोर बनेको शरीर लिएर उनी रिङमा पस्छिन्। रिङमा पसिसके पछि पीडा भुलाएर खेलमा नै केन्द्रित हुने गरेको उनले बताइन्। ‘कहिलेकाहीँ खेल खेल्दै गर्दा निकै पेट दुख्छ, ढाड दुख्ने समस्याले राम्रोसँग ध्यान दिन नसकिने अवस्था आउँछ,’ उनले सुनाइन्।

अनुको पीडा उस्तै

त्यस्तै अर्की खेलाडी हुन् अनु अधिकारी। उनी १३ औं दक्षिण एसियाली खेलकुदको एक अंक पनि नगुमाइ नेपाललाई स्वर्ण जित्ने खेलाडी हुन्। महिनावारीका बेला उनी पनि उत्तिकै पीडा भोग्ने अर्की खेलाडी हुन्।

‘पीडा त हुन्छ नि तर कहिले ट्रेनिङ हुन्छ, कहिले प्रतियोगिता नै भइरहेको हुन्छ। यस्तो समयमा किक उठाउन गाह्रो हुने गर्छ’, उनले सुनाइन्।  ​प्रतिद्वन्द्वीले हानेको सामान्य मुक्का र किक सहन पनि गाह्रो हुने गरेको उनले बताइन्। 

उनीसँग धेरै राष्ट्रिय-अन्तर्राष्ट्रिय खेलको अनुभव छ। यसबीच उनले महिनावारीका बेला कयौँ पटक पीडा भोगेकी छन्। 'यसको पीडा अत्यन्तै गाह्रो हुन्छ', उनले सुनाइन्, 'तर खेलाडी भइसकेपछि यो पीडा बिर्सिएर खेलमा आफ्नो ध्यान लगाउँछु।'

रिङमा पुगिसकेपछि सबै पीडा भुल्ने गरेको उनले सुनाइन्। ‘रिङमा उत्रिसकेपछि पीडा सबै बिर्सिन्छु', उनले भनिन्. 'हो पीडा हुन्छ तर खेल मेरो इच्छा मात्रै नभएर कतिपय अवस्थामा मेरो जिम्मेवारी पनि हुन्छ। त्यसैले मासिक पीडालाई बिर्सिएर अघि बढ्ने गरेकी छु।’

आहार व्यवहारमा ध्यान दिई सर्तकता अपनाएकाले मासिक पीडाका बेला अहिलेसम्म खेल नै छोड्नुपर्ने अवस्था नआएको उनले बताइन्। 'कहिलेकाहीँ अत्यन्तै गाह्रो हुन्छ', अगाडि भनिन्, 'तर खेल्नु नै पर्ने अवस्थामा पेन किलर खाएर पनि रिङमा उत्रिन्छु।' 

उनलाई महिनावारीका बेला प्राय ढाड र पेट दुख्छ। उनले यो समयका लागि आफ्नो पोषण विशेषज्ञको सल्लाहमा खसीको कलेजो र विभिन्न सुप पिउने गरेकी छन्।  महिनावारीको समयमा बजारमा उपलब्ध गुणस्तरीय प्याडको प्रयोगमा उनी चनाखो छिन्।

यदि महिनावारी भएको समयमा प्रतियोगिताहरू खेल्नुपरेमा सामान्य प्याड र लेयरप्रुफ स्लाक्सहरूको प्रयोग गर्ने उनी बताउँछिन्। ‘सामान्यतः सेतो रङको ड्रेसको प्रयोग हुँदा कहिलेकाहीँ प्याड सिफ्ट भएर बाहिर लाग्ला भन्ने त्रास मनमा हुन्छ। यसले खेलमा ध्यान केन्द्रित गराउन सहज हुँदैन।’

धेरै ट्रेनिङ भएका बेला ब्लिडिङ पनि अलि बढी हुने गर्दछ, जसले गर्दा आफैंलाई अनुभव हुने गरी अप्ठ्यारो लाग्ने उनी बताउँछिन्।

महिनावारीको समयमा पनि उनी पूरा आराममा बस्दिनन्। सामान्य कसरत गरिराखेमा दुखेको थाहा नहुने र कसरतले आराम मिल्ने उनले सुनाइन्। 

खेल छोडिनन् सुनिताले

यस्तै समस्या छ अर्की खेलाडी सुनिता महर्जनको पनि। उनलाई महिनावारीले निकै गाह्रो बनाउँछ। दुई दिनसम्म त एकदमै गाह्रो हुने कुरा उनी बताउँछिन्। सामान्य महिलालाई जस्तै उनलाई पनि ढाड दुख्ने, पेट दुख्ने कम्मर दुख्ने गर्छ। ट्रेनिङको समयमा भन्दा प्रतियोगिता नै हुँदा निकै पीडा भोगेको उनी बताउँछिन्।

उनले दुई वर्ष अगाडि आठौं राष्ट्रिय खेल हुँदा भोगेको मासिक पीडा यसरी सुनाइन्, ‘खेल हुने दिन नै महिनावारी सुरु भयो। अब खेल के हुने होला अब खेल्न सकिँदैन होला जस्तो भएको थियो। पेट दुखेर खेल्न नसक्ने जस्तो भएपछि पेन किलर खाएर रिङमा उत्रिएकी थिएँ।’

उनलाई शारीरिक पीडा नभए पनि ड्रेसमा लाग्छ कि भन्ने कुराले खेलमा मानसिक असर पर्ने गर्छ। पनि पीडा भए पनि खेल्ने बेला सबै कुरा बिर्सिएर त्यसैमा केन्द्रित हुने गरेको बताउँछिन्।  

कुसुमको कष्ट

यो पीडा र अनुभवबाट अछुत नरहेकी खेलाडी कुसुम खड्का पनि हुन्। उनमा नेपालमा १३ औं दक्षिण एसियाली खेलकुद खेल्नुअघि बंगलादेशमा भएको खेलमा मासिक पीडाको अनुभव थपिएको थियो। मासिक चक्रको दोस्रो दिन यो प्रतियोगिता खेल्दा उनलाई निकै कष्ट भएको थियो।

महिनावारीका बेला उनीसँग धेरै पटक ड्रेसमै लागेको अनुभव पनि छ। ‘मेरो त कति पटक ड्रेसमा नै लागेको छ नि', उनले सुनाइन्, 'अनि अर्काले देखेर जिस्क्याएका छन्। त्यो डर हरेक पटक महिनावारी हुँदा रहन्छ।’

तर, त्यो डर रिङमा उत्रिँदाको तीन मिनेट भने उनले भुल्ने गरेकी छन्। रिङमा गएपछि सबै शारीरिक पीडा बिर्सिएर खेल्छन् खेलाडी। खेलप्रतिको लगावले मासिक पीडा भुलाउने गरेको उनीहरू सबैको साझा अनुभव छ। 

  • प्रकाशित मिति : चैत २३, २०७७ साेमबार ७:२६:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया