सत्तालोभले उत्कर्षमा जसपा विवाद : बढ्दैछ महन्थ र उपेन्द्रको टकराव
सार्वजनिक मञ्चबाटै चर्को दोहोरी

सत्ता समीकरणलाई लिए विवादको भुमरीमा परेको जनता समाजवादी पार्टीका नेता पछिल्लो समय सार्वजनिक रुपमै आरोप प्रत्यारोपमा उत्रिन थालेका छन्।

जसपाका दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवबीचको विवाद यतिबेला सतहमै देखिएको छ। यसअघि पार्टी बैठकमा मात्रै देखिएको विवाद सार्वजनिक मञ्चमै छरपस्ट भएको छ। 

पार्टी फोडेर जानेहरू विलय हुने इतिहास रहेको भन्दै उनीहरु  एक अर्कालाई चुनौती दिइरहेका छन्। जसपा अध्यक्ष उपेन्द्र यादवले हिजो एक अन्तवार्तामा आधिकारिक नभए पनि केही नेताहरु बालुवाटार छिरेको भन्दै व्यंग्य  कसे। अर्का अध्यक्ष महन्थ ठाकुरले एउटा पार्टीले कसरी सरकार र अर्को गठबन्धन दुइटैलाई समर्थन गर्न सक्छ भनेर प्रश्न गरेका छन्। 

सुरुवात गरौं, उपेन्द्र यादवबाट 

जसपा अध्यक्ष यादवले हिजो एक टिभीमा अन्तवार्ता दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीयता समाप्त पार्ने प्रतिगामीको संज्ञा दिए। उनले ओलीलाई निरंकुश शासन चलाउने व्यक्ति भएको आरोप समेत लगाए। 

त्यसपछि जसपा फुटबारेमा सोधिएको प्रश्नमा अध्यक्ष यादवले भने, ‘हाम्रो पार्टी अहिलेसम्म फुटेको छैन, बरु केही हाम्रा नेताहरु बालुवाटारमा छिर्नु भएको छ, किन छिर्नु भएको भनेर सोध्दा उहाँहरुले २ वटा मुद्दा सल्टाउन गएको प्रतिक्रिया दिनु भएको छ, कुरा यति हो।’ 



तर बालुवाटारमा जान पार्टीबाट कुनै निर्णय नभएको उनी बताउँछन्। अहिलेसम्म पार्टीबाट सरकार र प्रतिपक्षी दलसँग कुरा गर्न ५ सदस्यीय कार्यदल मात्रै गठन भएको उनको भनाइ छ। 

‘संविधान संशोधन, निर्वाचन प्रणाली परिवर्तन,नागरिकतासहितका मुद्दाहरु हाम्रा हुन्’, उनले भने, ‘यी माग ओली सरकारले पूरा गर्न सक्दैन’, उनले भने, ‘त्यसैले हामी प्रतिगामी सरकारमा हामी जाँदैनौं।’ 



ओली सरकारमा जान कसैले पार्टी फोर्छ भने त्यो इतिहासमा मेटिने उनले बताए। ‘यदि पार्टीको आधिकारिक निर्णयबिना कोही पार्टी फोडेर जान्छ भने उसको हालत आगोको उज्यालो देखेर जाने किराहरु जलेर मरे जस्तै हुनेछ’, उनले भने, ‘उहाँहरुको अवस्था पनि त्यस्तै हुनेवाला छ।’

त्यति मात्रै नभइ पार्टी फोडेर जानेहरू यसअघि पनि विलय भएको इतिहासले देखाइरहेको भन्दै धम्कीमिश्रित चेतावनी यादवले दिए।

‘अहिलेसम्म केपी ओलीको सरकारमा जाने विषयमा पार्टीभित्र छलफल नै भएको छैन, यदि कोही फुटेर जान्छ भने ऊ सिद्धिन्छ। त्यसकारणले फुटेर जाने बाटो गलत हो’, उनले भने, ‘समय छ, सच्चिम्।’ मोहनी लगाएको भरमा अरु जालोमा नपस्न उनले ठाकुरलाई धम्कीमिश्रित चेतावनी दिए।

एकैलाई समर्थन, दुईवटालाई होइन 

यता जसपा अध्यक्ष महन्थ ठाकुरले यादवकै जवजमा नभए पनि सार्वजनिक रुपमा अर्का अध्यक्ष यादवमाथि कटाक्ष गरेका छन्। उनले पनि हिजै एउटा टिभीमा अन्तर्वार्ता दिँदै भनेका छन्, ‘अहिलेसम्म ओली सरकार नै बहुमत प्राप्त हो, अल्पमतमा पनि गएको छैन। त्यसैले त्यतातिर नगएर अरुतिर किन लाग्ने? अर्को कुरा अहिलेसम्मको सिनारियोले  घुमीफिरी सत्ता उनैको हातमा जाने पनि देखिन्छ, उहाँको विकल्प पनि छैन। त्यसकारण गठबन्धनतिर किन जाने? जसको आफ्नै लाइन क्लियर छैन।’ 

उनका अनुसार अहिलेसम्म प्रधानमन्त्री ओलीको नै लाइन नै प्रष्ट छ। तर अरु दलको गठबन्धनको लाइन क्लियर छैन अरु दलतिर किन लाग्ने भन्दै अध्यक्ष ठाकुरले थपे, ‘जसपाले अब कसरी सबैतिर समर्थन गर्ने, हामीले ओली सरकारलाई त समर्थन गरिसकेका छौ नि। अनि अब एउटै पार्टीले दुईतिर समर्थन गर्न मिल्छ र ?’

यो बाहेक उनले भनेका छन्, ‘जेलमा रहेका साथीहरु बाहिर नआएसम्म, संविधान शंसोधनमा चित नबुझेसम्म जसपा सरकारमा जाने सम्भावना छैन।’ तर यो प्रक्रियामा ओली सरकार अगाडि बढिसकेको उनले बताए।

‘अहिलेसम्मको सूचनामा कतिपय मुद्दा फैसला भएको छ, कतिपय विचाराधीन अवस्थामा छन्। कतिपय जिल्ला प्रशासन कार्यालयमा छन्’, उनले भने, ‘यी सबबारे छलफल भइरहेको छ। जसमा एउटा निर्देशिका बनेको छ, त्यही अनुसार काम अघि बढिरहेको छ।’ 

एक वर्षमै बज्रपात

एक वर्ष अगाडि तत्कालीन राजपा र सपा मिलेर जसपा बनेको थियो। तर २३ फागुनमा सर्वोच्च अदालतले नेकपालाई साविककै दुई दलमा फर्काइदिएपछि सरकार संचालनमा जसपा निर्णायक बन्न पुग्यो। त्यसपछि सबै दलको नजर पनि जसपामा पर्न थाल्यो। 

सरकार संचालनमा जसपा नभइ नहुने भएपछि जसपा पनि दुई गुटमा विभाजित बन्यो। जसमध्ये एउटा गुट ओली सरकारको समर्थनमा छ भने अर्को गुट सरकार गिराउने पक्षमा छ। यही मतभेदले बढ्दै गएको जसपाको लडाइँ छताछुल्ल भएको छ। 

  • प्रकाशित मिति : चैत २३, २०७७ साेमबार १८:२६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया