सरकार लकडाउन गर्ने मस्थितिमा छैन : स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी
फाइल तस्बिर

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको स्पष्ट पारेका छन् ।

उनले मंगलबार काठमाडौंमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’ मा बोल्दै नेपाल अब कहिल्यै पनि लकडाउनमा नजाने बताएका हुन्  । लकडाउनभन्दा अगाडि गर्नुपर्ने सबै किसिमका प्रभावकारी कदमहरू चाल्न सरकार तयार रहेको उनले बताए । मन्त्री त्रिपाठीले लकडाउनले कोभिड नियन्त्रण गर्न सहज हुने भए पनि सामाजिक जनजीवन र अर्थतन्त्रमा दीर्घकालीन असर पार्ने भएकाले सरकार लकडाउनमा जाने मनस्थितिमा नरहेको बताए ।

उनले भने, ‘हामी यो चाहँदैनौँ कि नेपाल फेरि पनि लकडाउनको अवस्थामा जाओस् । लकडाउनभन्दा अगाडि जति महत्त्वपूर्ण र प्रभावकारी कदमहरू छन् सरकार ती सबै कदमहरू चाल्न तयार छ र त्यसको तयारी गरिरहेको छ । किनभने लकडाउनले संक्रमण कम हुने त एकातिर छँदैछ तर जनजीविकालाई यसले पार्ने प्रभाव र समाजलाई पार्ने प्रभाव अर्थतन्त्रलाई पार्ने प्रभाव, सामाजिक जीवनलाई पार्ने प्रभाव पछि र दीर्घकालीन रुपले हुने रहेछ तसर्थ संसारले नै जसरी यो लडाइ लडिरहेको छ हामी पनि एउटा यो लडाइँमा योद्धा भएको हुनाले नेपाल पनि सबैको काँधमा काँध मिलाएर लडाइँ गर्न तयार छ ।’

छिमेकी मुलुकमा कोभिडको नयाँ लहर आएकाले नेपालले सीमा नाकामा एन्टिजेन परीक्षण सुरु गरेको पनि मन्त्री त्रिपाठीले बताए । यस्तै सीमा नाकामा आइसोलेसन र क्वारेन्टाइन निर्माण गर्ने काम भइरहेको बताउँदै कोभिडका कारण आतंकित नहुन पनि आग्रह गरे ।

उनले भने, ‘हाम्रो छिमेकमा सबैतिर अलिअलि बढ्दो स्थिति भएकाले हामी त्यसको लागि सतर्क छौं । तर, एउटा कुरा म यहाँहरुलाई विनम्रतापूर्वक निवेदन गर्न चाहन्छु, आतंकित हुनुपर्ने अवस्था छैन । आतंकित हुनु भनेको यो संक्रमणलाई झन् थप्नु हो । सावधानी हुनुपर्छ, सतर्क हुनुपर्छ, सतर्कताका सबै उपायहरु अबलम्बन गर्नुपर्छ तर आतंकित गरेर जनतामा भय र त्रास गर्ने काम गर्नु हुँदैन ।’

अहिले विश्वभर ८१ प्रकृतिका खोप विकसित भइरहेको र त्यसमध्ये १३ वटा खोपहरू प्रचलनमा आइसकेको अवस्थामा नेपालले पनि ३ किसिमका खोपलाई मान्यता दिई प्रचलनमा ल्याएको बताए । चीन सरकारबाट अनुदानमा उपलब्ध कोभिड–१९ विरुद्धको खोप लगाउने अभियान बुधबारदेखि सुरु हुने पनि उनले बताए ।





  • प्रकाशित मिति : चैत २४, २०७७ मंगलबार १४:४२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया