७४ दिनपछि बागमती प्रदेश सभा : माओवादीको चेतावनीपछि, स्थगित

बागमती प्रदेशको प्रदेशसभा बैठक ७४ दिनपछि मंगलबार बसेको छ । दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएकोमा साढे २ बजेबाट बैठक सुरु भएको थियो । जारी हिउँदे अधिवेशनको पछिल्लो बैठक माघ ९ गते बसेको थियो तर लामो समयपछि बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकारसँग विभिन्न माग राख्दै अवरुद्ध गर्ने जनाएसँगै भोलि बुधबार ११ बजे सम्मका लागि स्थगित भएको छ ।

वैचारिक रूपमा सरकार अल्पमत : शालिकराम जमरकट्टेल

बैठक सुरु भएसँगै उभिएर विरोध जनाएको प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका नेता शालिकराम जमरकट्टेललाई आफ्नो भनाइ राख्न दिएसँगै बैठक सुरु भएको थियो । संसदमा बोल्दै उनले मुख्यमन्त्री डोरमणि पौडेलको सरकार वैचारिक रूपमा एउटा गुटको मात्रै भएको बताएका छन् ।

‘अहिलेको बागमती सरकार भावनात्मक रुपमा, सांगठनिक रुपमा र वैचारिक रूपमा एक्लिएको छ, कानुनी रूपमा मात्रै बलियो सरकार भए तापनि नैतिकताको आधारमा मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिनुपर्छ’, उनले भने । जमरकट्टेलले प्रधानमन्त्री केपी शर्माले समेत राजीनामा दिनुपर्ने बताए । 

रकमान्तर गरेर गुटलाई पैसा ?

बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रीका रूपमा काम गरेका प्रतिपक्षी दलका नेता जमरकट्टेलले पछिल्लो समय गुटको राजनीति गर्न सरकारको पैसा खर्च भइरहेको आरोप लगाएका छन् । उनले सरकारले मदन भण्डारी फाउन्डेसनको नाममा दिएको ५० लाखको औचित्य पुष्टि गर्न समेत माग गरे ।



मुख्यमन्त्री डोरमणि पौडेलले गुटको राजनीतिलाई हेर्दै रकमान्तर गरेर आफ्नो पकड क्षेत्रमा मात्रै पैसा थुपारेको, फरक दलबाट निर्वाचित स्थानीय तहलाई दिनुपर्ने समपूरक बजेट समेत नदिएको भन्दै जवाफ माग गर्दै उचित जवाफ आउन नसकेसम्म संसद चल्न नदिने चेतावनी दिए । उनको चेतावनीसँगै सभामुख सानुकुमार श्रेष्ठले तुरुन्तै भोलि ११ बजे सम्मका लागि बैठक स्थगित गरेका छन् ।

हिउँदे अधिवेशनको पछिल्लो बैठक माघ ९ गते अविश्वासको प्रस्ताव टेबुल भएपछि प्रदेशसभाको बैठक दुई पटक सूचना टाँस गरेर स्थगित गरिएको थियो । माघ १९ गते बोलाइएको बैठक अन्तिम समयमा फागुन ५ गतेसम्मका लागि स्थगित भएको थियो भने फागुन ५ गतेको बैठक पनि अघिल्लो दिन सूचना टाँसेर स्थगित गरिएको थियो ।



  • प्रकाशित मिति : चैत २४, २०७७ मंगलबार १५:५५:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया