कोराना फैलिने क्रम झन् तीव्र, तीन महिनायताकै धेरै संक्रमित भेटिए

पछिल्लो एक सातादेखि नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिन थालेको छ। भारतसहितका देशमा दोस्रो लहरले विकराल रुप लिइरहेका बेला नेपालमा पनि संक्रमण तीव्र रुपमा फैलिन थालेको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा ३ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभरका ४ हजार १ सय नमुनाको पिसिआर परीक्षण गर्दा २९८ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै एन्टिजेन विधिमार्फत १ हजार ४० जनामा परीक्षण गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको गौतमले बताए। दुवै विधिबाट गरिएको परीक्षणमा ३ सय ३९ जनालाई कोरोना देखिएको हो।

मन्त्रालयका अनुसार बुधबार २ हजार २ सय १ सक्रिय संक्रमित रहेका छन्। गत सोमबारदेखि आजसम्म १२ हजार ८७९ कोरोना परीक्षण हुँदा ८२४ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै आज ७४ जना कोरोना जितेर निको भएका छन्। 

काठमाडौं उपत्यकामा १६३ जनालाई संक्रमण देखिएको छ। भक्तपुरमा ५, ललितपुरमा २६ र काठमाडौंमा १३२ संक्रमण पुष्टि भएको गौतमले बताए। हाल देशभर संस्थागत आइसोलेसनमा ४ सय ६० र होम आइसोलेसनमा १ हजार ७ सय ४१ जना संक्रमित उपचाररत छन्।

प्रवक्ता गौतमका अनुसार बढ्दो संक्रमणबीच कोरोना निको हुने दर भने अझै पनि ९८.१ प्रतिशत नै रहेको छ। कोरोना संक्रमण दर बढ्दै गएपछि सरकारले विशेष सतर्कता अपनाउन सर्वसाधरणलाई आग्रह गरेको छ। 





  • प्रकाशित मिति : चैत २५, २०७७ बुधबार १६:५१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया