ब्राजिलमा कोरोना भाइरसबाट एकै दिनमा चार हजारभन्दा बढीको मृत्यु

ब्राजिलमा गत २४ घण्टामा कोभिड-१९ को संक्रमणको कारण ४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको  छ । ब्राजिलमा कोरोना भाइरस सुरु भएयता यति धेरै संख्यामा व्यक्तिहरुले ज्यान गुमाएका यो पहिलो पटक हो । 

ब्राजिलमा मंगलबार ४ हजार १९५ जनाले कोभिड–१९ बाट ज्यान गुमाएपछि यस संक्रमणबाट ज्यान गुमाउनेको संख्या करिब ३ लाख ३७ हजार पुगेको छ । कोभिड १९ को कारण ज्यान गुमाउनेमा ब्राजिल अमेरिकापछि दोस्रो स्थानमा पर्दछ ।

ब्राजिलको स्वास्थ्य प्रणालीले कोभिड १९ को भयानक तनाव खेपिरहेको छ । एस्पिरिटो सान्टो फेडरल युनिभर्सिटीका महामारी विज्ञ एथेल मकिएलले भने, ‘हामी भयानक स्थितिमा छौं र हामीले कुनै राज्य वा संघीय सरकारले प्रभावकारी उपाय देखिरहेका छैनौं ।’

देशको जनसंख्याको १० प्रतिशतले पहिलो चरणको खोप लगाएका र हाल अत्यधिक रुपमा फैलिएको भाइरसको प्रकोपलाई नियन्त्रण गर्न एक मात्र उपाय कम्तीमा २० दिनसम्म प्रभावकारी लकडाउन भएको उनले बताए । 

देशमा चलेको राजनीतिक अस्थिरताका कारण ब्राजिलका यो स्थिति आएको र ठूलो संख्यामा व्यक्तिहरुले ज्यान गुमाउनु परेको विज्ञहरुको भनाइ छ । कोरोना भाइरस नियन्त्रणका लागि विशेषज्ञहरूको सल्लाह नमानेको र देशमा यस प्रकारले स्वास्थ्य संकट निम्त्याउनुमा राष्ट्रपति जाइर बोल्सोनारो जिम्मेवार भएको आरोप लगाइएको छ । 

राष्ट्रपति बोल्सोनारोले अर्को वर्ष फेरि चुनावको लागि तयारी गरेपछि राजनीतिमा उथलपुथलको भएको थियो । गत हप्ता  विदेश, न्याय र रक्षा मन्त्रीहरुले राजीनामा गरेपछि नयाँ मन्त्रीहरु नियुक्ति भएका थिए ।  त्यसैगरी सेनातर्फ सेना, नौसेना र वायुसेना कमान्डरहरुले राजीनामा गरेपछि नयाँ कमान्डरहरु फेरिएका थिए । 





  • प्रकाशित मिति : चैत २५, २०७७ बुधबार १९:०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया