बिस्केट जात्रा नरोक्न सर्वोच्च अदालतकाे अन्तरिम आदेश

भक्तपुरमा हरेक वर्ष आठ रात नौ दिन मनाइने बिस्काः (बिस्केट) जात्रा नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

कोरोनाभाइरसको संक्रमण बढ्दै गएकाले जात्रा, पर्व मनाउँदा यसको महामारी फैलिन सक्ने भन्दै जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (डिसिसिएमसी)को बैठकले जात्रा, पर्व सञ्चालनलाई औपचारिकता एवं पूजामा मात्रै सीमित गर्ने निर्णय गरेको थियो ।

केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, गुठी संस्थान, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखको बैठकले कोरोनाभाइरस संक्रमण फैलिन सक्ने जोखिम बढेको भन्दै जात्रा, पर्व मनाउन रोक लगाउने निर्णय गरेपछि जात्रा सञ्चालनको माग गर्दै सर्वोच्च अदालतमा अधिवक्ता राजकुमार सुवालले रिट दायर गरेका थिए ।

सर्वोच्च अदालतले आज प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले जात्रामा रोक नलगाउन र सञ्चालन गर्न अन्तरिम आदेश जारी गरेको अदालतले जानकारी दिएको छ । जात्रा सञ्चालन गर्दा हजारौँको सहभागितामा रथ तान्ने र लिंगो उठाउँदा हुने भिडले कोरोना संक्रमण फैलाउन सक्ने भन्दै औपचारिक पूजामा मात्रै सीमित गर्ने निर्णयविरुद्ध अदालतले अन्तरिम आदेश जारी गरेको हो ।

भक्तपुर नगरपालिकाले भने स्वास्थ्य मापदण्ड पालना गर्दै आफ्नो टोलको जात्रा मनाउन आह्वान गरेको थियो । जात्रा सञ्चालनमा रथ नतान्ने निर्णय गरेपछि गुठी संस्थानले रथ निर्माणको बाँकी काम हिजोदेखि नै रोकेको थियो । 





  • प्रकाशित मिति : चैत २५, २०७७ बुधबार २०:३०:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया