लालबाबु पण्डितले संसदमा उठाए सभामुखको भूमिकामाथि प्रश्‍न

सत्तारुढ नेकपा एमालेका सांसद लालबाबु पण्डितले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाएका छन्। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले सभामुखको भूमिकामाथि प्रश्न उठाएका हुन्। 

'अहिले संसदको सातौँ अधिवेशन, विधेयक अधिवेशन चलिरहेको छ। सातौँ अधिवेशनले एउटा पनि विधेयक पास गर्छ कि गर्दैन? ६५ वटा विधेयकहरु प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका छन्', पण्डितले सभामुखलाई सोधे, 'सन्धि सम्झौताहरु पर्खिरहेका छन्। दोस्रो अधिवेशनदेखि नेपालको नागरिकता कानुन विधेयकका रुपमा पर्खिएर बसेको छ। सवा लाखभन्दा युवाहरु कुरिरहेका छन् आँसु झारिरहेका छन्।'

पण्डितले सरकारले सदनलाई बिजनेस नदिएको भनिरहँदा संसदको विधेयक शाखामा थन्किएका प्रस्तावित कानुनहरु पल्टाएर हेर्न सभामुखलाई आग्रह गरे। 'संसदलाई सरकारले काम दिएन भनिएको छ। सरकारले ल्याएका विधेयकहरु काम होइन। सन्धि सम्झौताहरु अघि बढाउनु काम होइन?', उनले सोधे, 'यदि जानकारीको अभाव हो भने विधेयक शाखाबाट रिपोर्ट लिन सकिन्छ।'

संसदीय प्रणाली नै काम लाग्दैन भन्‍नेहरुले अहिले सरकारले बिजनेस नदिएको आरोप लगाएको बताए। 'संसदले काम नपाएको, सरकारले बिजनेस नदिएको भन्नेहरुले एक पटक यतातिर ख्याल गर्नु। संसदले काम गर्न सकिरहेको स्थिति छैन । यसमा सभामुखको विशेष भूमिकाको खाँचो छ। यदि संसदीय व्यवस्थामाथि संसदमाथि प्रश्न उठ्छ भने संसदले काम गर्न सकेन भन्ने प्रश्न उठ्छ भने सभामुखमाथि पनि प्रश्न उठ्छ।'

सभामुखले सरकारसँग समन्वय गर्न नसकेको आरोप पनि उनले लगाए। 'सरकारसँग समन्वय गर्ने भूमिकामा सभामुखले काम गर्नुपर्छ। संसदभित्र आएका प्रस्तावलाई र विधेयकहरु अघि बढाउन कसले रोकेको छ?', उनले सभामुखलाई सोधे, 'प्रधानमन्त्रीले रोकेको छ कि मन्त्री कसले रोकेको छ। सभामुखले यसमा पहल गर्नुपर्छ। सभामुखले कुशलतापूर्वक अगुवाइ नगर्ने हो भने काम भएन भने सरकारका मन्त्री र प्रधानमन्त्रीलाई दोष दिएर उम्किन पाउने स्थिति हुँदैन।'

उनले सभामुखले ठोस पहल गरेर संसदलाई अघि बढाउनुपर्नेमा जोड दिए। पण्डितले विधेयक अगाडि बढाउनका निम्ति विशेष प्रस्तावसहित अघि बढ्न पनि सभामुखलाई आग्रह गरे।





  • प्रकाशित मिति : चैत २६, २०७७ बिहीबार १४:२७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया