कर्णालीमा ‘जनगणना २०७८’ को तयारी तिव्र

कर्णाली प्रदेशमा राष्ट्रिय जनगणना २०७८ को तयारी तिव्र पारिएको छ । ‘मेरो जनगणना मेरो सहभागिता भन्ने मूल नाराका साथ तयारी तिव्र पारिएको प्रदेश जनगणना कार्यालय सुर्खेतले जानकारी दिएको छ । गणनाका लागि सुपरीवेक्षक, गणक तयार गर्ने, जनगणना कार्यालय स्थापना गर्ने जस्ता काम भइरहेको बताइएको छ । 

गणना सुरु भएको ९ महिनाभित्र अन्तिम नतिजा सार्वजनिक गर्ने गरी लागि रहेको कार्यालयका जनगणना अधिकृत पोम नारायण पौडेलले बताए । वीरेन्द्रनगरमा शुक्रबार आयोजना गरिएको जिल्लास्तरीय सचेतना गोष्ठीमा पौडेलले वैशाख १ गतेबाट स्थानीय जनगणना कार्यालय स्थापना गर्ने बताए ।

हाल देशका ८७ वटा स्थानमा जिल्ला जनगणना कार्यालय स्थापना भइसकेका छन् भने सम्बन्धित प्रदेशमा प्रदेशस्तरीय जनगणना कार्यालय समेत स्थापना भइसकेका छन् । ‘जनगणनाबाट गुणस्तरीय तथ्याङ्क ल्याउन प्रतिबद्ध छौँ,’ अधिकृत पौडेलले, ‘त्यसका लागि देशभर झन्डै ४७ हजार जनशक्तिको प्रयोग हुनेछ । सबैलाई समावेश गर्ने राज्यको नीति अनुसार वडा तहको तथ्याङ्क हामीले सार्वजनिक गर्ने छौं ।’ जनगणनाका लागि ३४९ वटा स्थानीय गणना कार्यालय स्थापना गरिनेछ ।

जसमा प्रादेशिक कार्यालयमा सम्बन्धित मुख्यमन्त्रीको अध्यक्षतामा समिति बन्नेछ भने प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्लास्तरीय कार्यालय समिति निर्माण गरिनेछ । जनगणनामा प्रश्नावली, घर तथा घरपरिवार सूचीकरण फाराम लगायतका ३ वटा फाराम भरिनेछ । जनगणनाले आगामी २० वर्षको जनसंख्याको अनुमान गर्न सकिने अधिकृत पौडेलको भनाइ छ ।

सरकारी कार्यालयबाट पठाइएका गणकहरूले जेठ २५ गतेदेखि असार ८ गतेसम्म स्थानीयको घर-घरमा गएर गणना गर्ने छन् । एक जना गणकको भागमा २ सयदेखि २५० घर परिवार पर्ने र १५ दिनभित्र सक्ने गरी गणना सुरु गरिने बताइएको छ ।

नेपालमा यो १२ औँ जनगणना हो । यसअघि १९६८ मा नेपालमा पहिलो पटक राणा प्रधानमन्त्री जंगबहादुर राणाले जनगणनाको सुरु गरेका थिए । गणनाको प्रारम्भिक नजिता असोज मसान्तसम्म सार्वजनिक हुने बताइएको छ भने २०७९ वैशाखमा अन्तिम नतिजा सार्वजनिक गर्ने सरकारको तयारी छ ।





  • प्रकाशित मिति : चैत २७, २०७७ शुक्रबार १९:३८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया