काठमाडौं : नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच शुक्रबार टेलिफोन वार्ता भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री एस जयशङ्करबीचको टेलिफोन वार्तामा कोभिड-१९ महामारीविरुद्ध लड्दै परास्त गर्ने कुरामा निरन्तर सहयोग आदानप्रदान गर्ने सहमति भएको छ ।
दुवै देशका परराष्ट्रमन्त्रीले कोभिड-१९ महामारीविरुद्धको लडाइँमा थप सहयोग वृद्धि गर्नेसहित खोपको आपूर्तिबारे कुराकानी गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री ज्ञवालीले कोभिड महामारीविरुद्धको नेपालको लडाइँमा १० लाख मात्रा कोभिशिल्ड खोप उपलब्ध गराएकोमा भारत सरकारप्रति आभार व्यक्त गरेका छन्।
उनले कोभिडको उच्च जोखिममा परेका नेपालीलाई दोस्रो चरणमा लगाउन आवश्यक पर्ने थप खोपको आपूर्तिका लागि सहजीकरण गरिदिन भारतका बाह्य मामिलामन्त्रीसँग अनुरोध गरेको विज्ञप्तिमा जनाइएको छ ।
प्रत्युत्तरमा बाह्य मामिला मन्त्रीले खोप आपूर्तिसहित महामारीबाट पार पाउन नेपालको प्रयासमा भारतको निरन्तर साथ र सहयोग रहने आश्वासन दिएका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।