आइपिएल क्रिकेट : पहिलो खेलमै साविक विजेता मुम्बई पराजित

हिजोदेखि सुरु भएको इण्डियन प्रिमियर लिग, आइपिएल क्रिकेटको पहिलो खेलमै साविक विजेता मुम्बई इण्डियन्स पराजित भएको छ । चेन्नईमा भएको उद्घाटन खेलमा मुम्बई बेङ्गलोरसँग पराजित भएको हो ।

चेन्नईको चिदम्बरम रंगशालामा भएको खेलमा साविक विजेता मुम्बईलाई बेङ्गलोरले २ विकेटले पराजित गर्यो । यससँगै १४औँ संस्करणको आइपिएलमा बेङ्गलोरले विजयी सुरुवात गरेको छ । 

उद्घाटन खेलमा टस हारेर ब्याटिङ गर्न आएको मुम्बईले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ७.९५ को औषतमा १५९ रन बनायो । उसका लागि क्रिस लिनले सर्वाधिक ४९ रन बनाए । 

लिनले ३५ बल खेल्दै ४ चौका र ३ छक्का प्रहार गरे । यस्तै, शूर्यकुमार यादवले ३१, इशान किशनले २८, कप्तान रोहित शर्माले १९ तथा हार्दिक पाण्डेयाले १३ रन बनाए । बेङ्गलोरका लागि हर्षल पटेल एक्लैले ५ विकेट लिए । 

१६० रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको बेङ्गलोरले आठ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । उसका लागि एबिडी भिलियर्सले सर्वाधिक ४८ रनको योगदान गरे । 

यस्तै, ग्लेन म्याक्सवेलले ३९, कप्तान विराट कोहलीले ३३ तथा वासिङ्टन सुन्दरले १० रन बनाए । मुम्बईका जसप्रित बुम्राह र मार्को जानसेनले २-२ विकेट हात पारे । 





  • प्रकाशित मिति : चैत २८, २०७७ शनिबार ६:४०:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया