क्रेन लगाएर फुटाउने ओलीको भाषणपछि 'खुवालुङ'मा बढ्यो चहलपहल
वैकल्पिक ट्रयाक खोलिँदै !

‘यही सप्तकोसीमा स्ट्रिमरहरु छन् । कति मिनेट लाग्छ गाडीमा घुमेर जाँदा ? तर ११ मिनेटमा भोजपुर पुर्याउँछ यही चतराबाट’ गत फागुन १८ गते विराटनगरमा जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सप्तकोसी नदीमा जेटबोटको विषयमा गरेको भाषणको अंश हो यो ।

भाषणको क्रममा ओलीले जेटबोट चल्न अवरोध गरेको ढुङ्गो हटाउने आश्वासन दिए । ‘त्यसको (मोटरबोट) हामी विकास गर्दै छौँ’ ओलीले भने ‘त्यहाँ बाधा भएको एउटा ढुङ्गो त्यसलाई क्रेन लगाएर फुटाउँदै छाैँ ।’

ओलीले एउटा ढुङ्गो फुटाउने भनेर अभिव्यक्ति दिएपछि किराँती समुदायका अगुवाहरु आक्रोशित भए । ओलीले ढुङ्गो मात्र भनेर सम्बोधन गरेका थिए । तर, ओलीले आफ्नो आस्थाको केन्द्र खुवालुङ (पानी ढुङ्गो) फुटाउन लागेको हो कि भनेर सशङ्कित भए ।

पछि निरन्तर रूपमा अभियन्ताहरुले खुवालुङ बचाउ अभियान सुरु गरे । सीमित समुदायको जानकारीमा मात्र रहेको खुवालुङको विषय बिस्तारै फैलिँदै गयो । अहिले त्यही खुवालुङ आन्तरिक पर्यटकहरूको गन्तव्य बनेको छ ।

ओलीको ढुङ्गो फुटाउने उद्‍घोषको विरोधसँगै एकाएक चर्चामा आएको खुवालुङ अहिले किराँती समुदाय बाहेकका समुदायको पनि घुम्ने ठाउँको रूपमा विकास भएको छ । धनकुटा, सुनसरी र उदयपुरको सङ्गम क्षेत्र त्रिवेणीमा खुवालुङ हेर्न अहिले मानिसहरूको घुइँचो लाग्ने गरेको छ ।



सुनसरीको चतरादेखि भोजपुरको सिम्लेसम्म मोटरबोट चल्ने गर्छ । सिम्ले पुग्दा बाटोमै पर्ने पानीमा रहेको ठूलो ढुङ्गोमा अरुबेला प्रायः यात्रुहरुको चासो हुँदैन थियो । त्रिवेणी भनेर मात्र त्यो ठाउँको पहिचान थियो ।

अहिले भने त्रिवेणीबाट सो ठाउँको पहिचान फेरिएर बिस्तारै ‘खुवालुङ’ बन्दै गएको छ । ‘खुवालुङ’ चर्चामा आएसँगै खुवालुङ मात्र हेर्न जानेको सङ्ख्या बढ्दै गएको जल यातायातकर्मी विमलमान श्रेष्ठ बताउँछन् ।



‘पहिले मान्छेहरूले त्रिवेणी भनेर ठाउँ चिन्थे । अहिले खुवालुङ भनेर चिन्दै गएका छन्’ श्रेष्ठ भन्छन् ‘खुवालुङ मात्र हेर्न जानेको संख्यापनि बढ्दै गएको छ ।’

बढ्दै चहलपहल
बराहक्षेत्र मन्दिरदेखि ५ किमी उत्तरमा खुवालुङ छ । उत्तर–पश्चिमबाट सुनकोसी, दूधकोसी, भोटेकोसी, तामाकोसी र उत्तर–पूर्वबाट अरुण र तमोर मिसिएर सप्तकोसीमा परिणत हुने ठाउँमै खुवालुङ छ । नदी प्राकृतिक रूप मात्र हैन खुवालुङले तीन जिल्लाको राजनैतिक भूगोल पनि छुट्याउँछ ।

धनकुटा, उदयपुर र भोजपुरको सिमाना रहेको खुवालुङमा अहिले चहलपहल पनि बढ्दै गएको छ । सिम्लेसम्म पुग्ने मोटरबोट यात्रुहरू अहिले खुवालुङमा फोटो खिच्न रोकिने गरेका छन् ।

‘मुख्यमन्त्री पनि अस्ति आएर गए । केपी ओलीले ढुङ्गो फुटाउने भनेपछि मान्छेहरू आउन थालेका थिए ।’ स्थानीय इंद्रवान्ता राईले भने ‘अहिले यहाँ खुवालुङ हेर्न आउने धेरै छन्, हाम्रो त पूजा गर्ने ठाउँ नै हो, अहिले अरूहरू पनि फोटो खिच्न आउँछन् ।’

राईले भने जस्तै जल यातायातकर्मी विमलमान श्रेष्ठ पनि खुवालुङको प्रचार बढेको बताउँछन् । उनी भन्छन् ‘पहिले पानीजहाजको अनुभव लिन आउँथे । सिम्लेको एउटा रिसोर्टमा रिफ्रेस भएर फर्किनेको सङ्ख्या बढी थियो । अहिले खुवालुङ नयाँ गन्तव्य भएको छ ।’

मान्छेहरू आवतजावतसँगै अहिले कोसीको बलौटे किनारमा स्थानीयहरुको व्यवसाय पनि उकासिन थालेको छ । कोसीको माछादेखि, स्थानीय छ्याङको राम्रो बिक्री हुने गरेको छ ।

‘कोसीको माछा खोज्नेहरू आउँछन् । छ्याङ खाने भएपनि पाउँछ ।’ माछा मार्दै गरेका राजेश बान्तवाले भने ‘आजकाल मेरो माछाले चाहिँ राम्रो पैसा पाउँछ ।’

खोलिँदै वैकल्पिक ट्रयाक !
खुवालुङ फुटाउने प्रयास भएको भन्दै देशभरबाट विरोध भयो । विरोधपछि गत हप्ता मात्र मुख्यमन्त्री शेरधन राईसमेत खुवालुङ क्षेत्रको अवलोकनमा गएका थिए । उनले खुवालुङ नफुटाएरै वैकल्पिक तवरले मोटरबोट सहज गराउने आश्वासन दिएका थिए ।

राईले भनेझैँ अहिले मोटरबोट सञ्चालनलाई सहज बनाउन वैकल्पिक उपाय सुरु गरिएको छ । पानीजहाज कार्यालयको योजनाअनुसार अहिले खुवालुङको छेउका ढुंगाहरु हटाउन थालिएको छ । स्थानीय उपभोक्ता समितिमार्फत खुवालुङको छेउबाट ट्रयाक खोल्न सुरु गरिएको छ ।

ट्रयाक खोल्न काम गर्दै गरेका एक कर्मचारी किशोर भट्टराईका अनुसार डोजरको सहायताले खुवालुङको छेउका साना ढुंगाहरु हटाउन थालिएको छ । ‘मोटरबोट चल्न २ देखि ३ मिटर गहिराइको आवश्यकता पर्छ अहिले खुवालुङको साइडमा च्यानल खन्दै छौ ।’

व्यवसायी भन्छन्, ‘खुवालुङ मात्र समस्या हैन’
अहिले चतरादेखि भोजपुरको सिम्लेसम्म बर्खाको समय बाहेक मोटरबोट चल्दै आएको छ । तीव्र बहावसँगै ठूला ढुङ्गाहरूको बीच सप्तकोसीमा मोटरबोट चल्ने गरेको छ । जल यातायातकर्मी विमलमान श्रेष्ठका अनुसार खुवालुङ जस्ता ६० भन्दा माथि सङ्ख्यामा ठूला ढुङ्गा सप्तकोसी नदीमा छन् । 

’खुवालुङको साइडमा त ट्रयाक खोलिँदै छ । तर, चतरादेखि सिम्लेसम्म ६० भन्दा धेरै ढुङ्गाहरू छन् ।’ श्रेष्ठ भन्छन् ’ खुवालुङबाहेक अरू ढुङ्गाको पनि राज्यले व्यवस्थापन गर्नुपर्छ ।’

सिम्लेसम्म मात्र हैन, बाटोको अवरोध हटाए लङ रुटमा समेत मोटरबोट चलाउन सक्ने श्रेष्ठको धारणा छ । प्रदेश एक सरकारले चतरादेखि दोलालघाटसम्म जल यातायातको सम्भावना अध्ययनसमेत गरिरहेको छ ।

श्रेष्ठले भने, ’प्रदेशले पनि अध्ययन गर्दै छ । हामीले पहिल्यैदेखि भन्दै आएका थियाैँ । बाटोको अवरोध हटाए दोलालघाट पुर्याउँछौँ ।’

  • प्रकाशित मिति : चैत ३०, २०७७ साेमबार ८:५७:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया