नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले २०७२ सालको संविधानलाई पनि २०४७ कै संविधानको जस्तै बिजोग बनाउने खेल भइरहेको बताएका छन्। संसद विघटनपछिको राजनीतिक परिस्थितिबारे सोमबार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन्।
'संविधानको बिजोग नबनाउन म राष्ट्रिय सहमतिका लागि आह्वान गर्छु', उनले भने, 'शेरबहादुरदेखि महन्थ ठाकुरदेखि वर्तमान प्रधानमन्त्रीसम्म सत्ताको होडबाजीमा हुनुहुन्छ। कुरा प्रधानमन्त्रीको मात्रै होइन, कुरा त यही संविधानलाई टेकेर बचाएर लाने हो या २०४७ संविधान जस्तै बिजोग बनाएर जाने हो।'
उनले भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको चुच्चे नक्सा जस्तै संविधानको पनि बिजोग बनाउन खोजिएको बताए। 'यो संविधानलाई २०४७ को जस्तै अथवा चुच्चे नक्सा जस्तै बिजोग बनाएर जाने हो?', उनले सोधे, 'ठन्डा दिमागले सोचौँ, किन २०४७ सालको संविधान असफल भयो? अहिलेको अवस्थाको जिम्मेवार को हो?'
नेता गिरिले २०७७ जेठ मा पारित चुच्चे नक्साको बिजोग भएको पनि दोहोर्याए। 'प्रधानमन्त्रीज्यू चुच्चे नक्सा कता हरायो?', उनले सोधे, 'चुच्चे नक्साको भ्रूण हत्या भयो कि बाल हत्या गरियो ?’
उनले यो व्यवस्था टिकाइरहन अहिलेको संसदलाई पूरा कार्यकाल चल्न दिनुपर्ने बताए। 'यो संसदलाई पूरा कार्यकाल चल्न दिऊँ, कसैले पनि मेरै गोरुको बाह्रै टक्का भन्ने पक्षमा जानु भएन', उनले भने, 'मै देश हो, मै पार्टी हो भन्ने होइन। आजको राष्ट्रिय नीति जालझेल गरेर सकुनीले पासा फ्याँके जस्तो नहोस्। फेरि पासा फ्याँकेर पाण्डवलाई जंगल पठाए जस्तो नहोस्।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।