‘ट्याउँ-ट्याउँ, म्याउँ-म्याउँ गरेर अर्थ छैन, कि ओलीलाई समर्थन गर्नुस् कि सरकार बनाउने हिम्मत गर्नुस्’

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले जनता समाजवादी पार्टीले निर्णय गर्न नसक्दा नयाँ सरकार गठनमा हलो अड्केको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकपश्चात सञ्चारकर्मीमाझ प्रतिक्रिया दिँदै सांसद थापाले जनता समाजवादी पार्टीले निर्णय गर्न नसक्दा नयाँ सरकार गठनको बाटो नखुलेको बताए । 

जसपाको अनिर्णयका कारण सरकार गठनको हलो अड्किनाले वर्तमान व्यवस्था र संसदमाथि नै प्रश्न उठ्ने अवस्था आएको उनले बताए । जसपाले ओली नेतृत्वको सरकारमा जाने कि विकल्प खोज्ने स्पष्ट निर्णय गर्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘जसपाले धेरै घुमाउरो कुरा गर्नुहुँदैन । तपाईंहरु प्रधानमन्त्री ओलीलाई समर्थन गर्नु छ, सरकार बनाउनु छ, गर्नुस् । जानुस् । निर्णय गर्नुस् । तपाईंहरुलाई विकल्प खोज्नु छ, आउनुस् । तपाईंहरुलाई आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्छ भन्ने छ भने राख्नुस् न त हिम्मत गर्नुस् । त्यसैले यो ट्याउँट्याउँ, म्याउँ म्याउँ गरेर धेरै अर्थ छैन ।’

सांसद थापाले जसपाले प्रधानमन्त्री ओलीको सेवा गरिरहेको टिप्पणीसमेत गरे । जनता समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले सरकारको विकल्प खोज्न पहिले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले बाटो खोल्नुपर्ने बताए । 

अविश्वासको प्रस्ताव ल्याउनुपर्ने अथवा समर्थन फिर्ता लिएर बाटो निर्माण गर्नुपर्ने उनले बताए । सांसद कर्णले आफ्ना नेता, कार्यकर्तालाई जेलभित्रै राखेर झन्डा हल्लाउने काम जसपाले नगर्ने पनि स्पष्ट पारे । उनले भने, ‘हामी बेला आएपछि आफ्नो निर्णय गर्छौँ । कसैले जुनबेला भन्नुहुन्छ त्यहीबेला निर्णय गर्ने त हुँदैन नि । पहिले त बाटो खोल्नुपर्यो नि त ।’ 

नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकारले वितरण गरेको विभूषणमा नेपालको नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा नसमेटिएको सम्बन्धमा संसदमा विरोध भएको र त्यसमा सरकारको ध्यानाकर्षण भएको बताए । उनले भने, ‘सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । जुन सरकारले, जुन प्रधानमन्त्रीले त्यो नक्सा पारित गराउनको लागि यत्रो ठूलो चुनौतीको बीचमा सिंगो देशलाई सर्वसम्मत गराएको छ । त्यो सरकार यस्ता कुराहरुप्रति गम्भीर छ । त्यसैले सदनमा जे उठेको छ, त्यसप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको छ ।’

उपनेता नेम्वाङले वर्तमान सरकारको विकल्पमा विपक्षी दलहरुले गरेको छलफल र भेटघाटलाई स्वाभाविक भएको टिप्पणीसमेत गरे । मुलुक अप्ठ्यारो परिस्थितिमा रहेको भन्दै उनले जटिलताबाट देशलाई निष्कर्षमा पुर्याउन आफूहरु छलफलमा रहेको पनि उनले बताए । 





  • प्रकाशित मिति : चैत ३०, २०७७ साेमबार १९:३३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया