'राजनीतिक कोणमा बेकार २०७७, क्यालेन्डरबाटै झिकिदिए हुन्छ'
विश्लेषकको नजरमा २०४७ यताकै खराब वर्ष २०७७

नेपाली राजनीतिमा वर्ष २०७७ धेरै तरङ्गित बन्यो। वर्षको पहिलो हप्ता सरकारबाट जारी भएको अध्यादेशबाट सुरु भएको राजनीतिक तरङ्ग वर्षको अन्त्यमा सत्ता समीकरणसम्म पुगेर अल्झिएको छ। 

यसबीचमा अध्यादेश, मधेशकेन्द्रित क्षेत्रीय दलबीचको एकता, नेकपा विवाद, संसद् विघटन र पुनःस्थापना, सत्ता समीकरणसम्मका विभिन्‍न आरोह अवरोहले राजनीति तरगिंत भइरह्यो।

कोरोना महामारीबीचको खिचातानीले जनतामा आक्रोश  बढायो। शीर्ष नेताहरुको विवादले जनताको मन कुँडिएको छ। समग्रमा यो वर्ष उपलब्धिहीन र नकारात्मक भएको विश्लेषकहरू बताउँछन्।

राजनीतिक विश्लेषक मीना पौडेल राजनीतिक दृष्टिकोणमा ०७७ साललाई उपलब्धीहीन भएको बताउँछिन् । यदि मिल्ने भए राजनीतिक सालबाट २०७७ लाई क्यालेन्डरबाटै झिकिदिए हुने पनि तर्क गरिन्।

‘विध्वंसात्मक, विघटन र उपलब्धिहीन र नकारात्मक वर्ष भयो । सकिन्थ्यो भने ०७७ साललाई राजनीतिक सालबाट झिकिदिए हुन्थ्यो । तर, त्यो भावनात्मक कुरा भयो', फरकधारसँगको कुरामा उनले भनिन्, ‘पार्टी राजनीति पनि नेकपा तहसनहस भयो । अझै भन्दा कम्युनिष्ट आन्दोलन तहसनहस भयो। पार्टीभित्रको प्रजातान्त्रिक प्रयास र एकीकरण कोसिस सबै तहसनहस भयो । सामाजिक रुपमा पनि जनआकांक्षा र अपेक्षा निराशातिर गए।’

२०४६ सालपछिका राजनीतिक उपलब्धिहरुलाई तहसनहस गर्ने सालको रुपमा २०७७ बनेको उनको भनाइ छ । ‘व्यवहारिक रुपमा त्यसलाई हेर्दा २०४७ सालमा ठूलो परिवर्तन भयो, त्यसपछि ०६२/०६३ पछि संवैधानिक प्रक्रिया औपचारिक रुपमा सुरु भयो', उनले थपिन्, 'त्यसपछि अहिलेसम्म २०४६ सालदेखिका परिवर्तनका उपलब्धीहरु भताभूंग पार्ने स्थिति आयो । निराशाजनक र विध्वंसात्मक वर्ष बन्यो २०७७।’



प्रधानमन्त्री ओलीले पनि राज्य सञ्चालनलाई गम्भीर रुपमा लिन नसकेको उनको आरोप छ । ‘प्रधानमन्त्रीले राज्यसञ्चानलाई गम्भीर रुपमा लिन सक्नुभएन। जोक, चुट्किलालाई महत्व दिनु भयो', उनले थपिन्, 'उहाँले भाँडाकुटी खेलेको जस्तो गरेर ०७७ लाई बिताउनुभयो। कि त अब आफूले सम्हाल्न नसक्ने भइयो भनेर छाड्नुपर्यो नभए सक्छु भनेर काम देखाउनुपर्यो । तर, त्यो आशा धेरै कम छ ।’

त्यस्तै, अर्का राजनीतिक विश्लेषक राजेन्द्र महर्जन पनि कोरोना महामारीको संकटभन्दा पनि ठूलो संकट राजनीतिक जीवनमा यो वर्ष आइपरेको बताउँछन् । 



‘यो वर्ष एक हिसाबले जसरी हाम्रो जीवनबाट कोरोनाले संकट, रोगब्याधी आम जीवनमा जसरी धक्का पुर्‍यायो', फरकधारसँगको कुराकानीमा उनले भने, 'राजनीतिक जीवनमा पनि त्यस्तै खालको धक्का हामीले महसुस गर्‍यौं।’

संकटको बेला नेतृत्वले आफू केन्द्रित राजनीति बलियो बनाउने मात्रै सोचेको उनको ठम्याइ छ । ‘यस्तो खालको रोगब्याधी वा संकटलाई सम्बोधन गर्ने नेतृत्व जरुरी थियो। अहिले पनि त्यो जरुरी छ', उनले थपे, 'त्यो नेतृत्व हामीले पाएनौं । तर, यसलाई केही पनि होइन भनेर मिनिमाइज गर्दै जसरी पनि सत्ता आफू केन्द्रित गर्न राजनीति बलियो बनाउने नेतृत्व यस वर्ष भोग्यौँ ।’

संकटको बेलामा सक्षम नेतृत्व आवश्यक हुने उनले बताए। 'संकटको बेलामा नेतृत्व सक्षम वा अक्षम सबैभन्दा बढी देखिने बेला हो । त्यस हिसाबले हाम्रो नेतृत्व संकटको बेलामा झनै निकम्मा, अनुपयोगी, झनै व्यवधान निम्त्याउने खालको देखियो', उनले भने, 'त्यस अर्थमा हामीले हाम्रो जीवनको समयको सबैभन्दा खराब समय भोगिरहेका छौं । ब्याधिग्रस्त समय भोगिरहेका छौं ।’ 

वर्तमान नेतृत्वलाई निकम्मा वा ब्याधि निम्त्याउने कारणको संज्ञा उनले दिए। 'यस्तो हुने क्रम प्रधानमन्त्री ओलीमार्फत मात्र भएको होइन । यसको एउटा निरन्तरता छ, परिणाम मात्र भोगिरहेका हौं । जसरी संविधान बन्यो, मान्छे संकटग्रस्त भएको बेलामा तिनै निर्माताहरुले नाङ्गो रुपमा आफूलाई प्रस्तुत गरे', उनले थपे, 'संविधानलाई च्याते, जनताको कुनै न कुनै रुपमा प्रतिनिधित्व गर्ने संसद भंग गरे । अनि राजनीति भनेकै आसेपासेलाई पोस्ने हो भने जसरी उपयोग गरे ।’

  • प्रकाशित मिति : बैशाख १, २०७८ बुधबार १७:५४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया