भारतले कोरोनाविरुद्धको खोप विश्‍वका ८० देशमा पुर्‍यायो
मोदी भन्छन् : आफ्ना नागरिक बचाउनु छ, छिमेकीलाई पनि साथ दिनुछ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना महामारीबाट आफ्ना नागरिकलाई जोगाउन सक्दो प्रयास गरिरहेको बताएका छन्। रायसिना संवादको छैटौं संस्करणको उद्घाटन समारोहलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै मोदीले यस्तो बताएका हुन्। 

संवादको यस पटकको विषय, 'भाइरल वर्ल्ड : आउट ब्रेक्स, आउट लेयर्स एन्ड आउट अफ कन्ट्रोल' थियो। सम्बोधनका क्रममा मोदीले भारतले आफ्नै स्रोतमा निर्भर भई गरिकलाई महामारीको कहरबाट बचाउन कोसिस गरेको बताए।

'महामारीको घडीमा हाम्रो आफ्नै स्रोतमा निर्भर भई हामीले हाम्रा बाचाहरुलाई पूर्णता दिन प्रयास गर्यौं', उनले भने, 'हामीले हाम्रा १ अर्ब ३० करोड जनतालाई महाव्याधिबाट बचाउन प्रयास गरेका छौं । हामीले छिमेकीलाई पनि महामारीविरुद्ध लड्न सहयोग गर्ने प्रयास गरेका छौं।'

मोदीका अनुसार आफ्नै देशको संकटका बावजुद विश्वका ८० भन्दा धेरै देशमा कोरोनाविरुद्धको खोप पुर्‍याइएको छ। 'कयौं अप्ठ्याराका बाबजुद भारतले यो वर्ष ८० भन्दा बढी देशहरुलाई कोरोना विरुद्धको खोप प्रदान गरेको छ', उनले भने, 'महामारीसँग लड्न भारतले निरन्तर आफ्नो अनुभव, दक्षता एवम् स्रोत सिंगो मानव समुदायसँग बाँड्दैछ।'

उद्घाटन समारोहमा रुवान्डाका राष्ट्रपति र डेनमार्कका प्रधानमन्त्री प्रमुख अतिथि थिए। समारोहमा स्वीडेनका पूर्व प्रधानमन्त्री कार्ल बिल्ट, अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री एन्थोनी एबोट, न्युजिल्यान्डका पूर्व प्रधानमन्त्री हेलेन क्लार्कको सहभागिता थियो। 
 यसका अलावा फ्रान्स, पोर्चुगल, स्लोभेनिया, रोमानिया, सिङ्गापुर, नाइजेरिया, जापान, इटली, स्वीडेन, अस्ट्रेलिया, केन्या, चिली, मालदिभ्स, इरान, कतार, पोल्यान्ड, टर्की र भुटानका परराष्ट्रमन्त्रीले पनि सो संवाद कार्यक्रममा उपस्थिति जनाएका थिए । 

सन् २०१६ बाट सुरु भएको र प्रत्येक वर्ष आयोजना हुने रायसिना संवाद भू–राजनीति र भू–अर्थसँग सम्बन्धित भारतको अत्यन्तै महत्वपूर्ण सम्मेलन हो । यो सम्मेलनलाई भारतको विदेश मामिला मन्त्रालय र अब्जरभर रिसर्च फाउन्डेसनले संयुक्त रुपमा आयोजना गर्दछ । कोभिड–१९ ले निम्त्याएको विषम परिस्थितिका कारण आयोजकहरुले संवाद कार्यक्रम भर्चुअल्ली आयोजना गर्ने निर्णय गरेका छन् । 





  • प्रकाशित मिति : बैशाख २, २०७८ बिहीबार १५:१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया