कोरोनाको डबल म्युटेन्ट के हो ? नेपाल कति जोखिममा ?

कोरोना भाइरस (कोभिड-१९) को प्रकोप विगत एक वर्षदेखि निरन्तर चलिरहेको छ । कोभिडको पहिलो स्वरूप केही मथ्थर हुन नपाउँदै कोरोना भाइरसको परिवर्तित (म्युटेन्ट) स्वरूपले पुनः आतंक मच्चाउन थालेको छ । विश्वका केही मुलुकहरूसँगै छिमेकी राष्ट्र भारतमा पनि कोरोनाको म्युटेन्ट स्वरूपको संक्रमण बढेको छ । भारतसँगको १८ सय किमि लामो खुला सीमाका कारण नेपालमा पनि यो संक्रमणको खतरा दिनप्रति दिन बढ्दै गइरहेको छ ।

नेपालमा पुनः पहिलेको रूपमा यो भाइरस फैलिएमा मृत्युदर बढ्ने कुरामा सरुवा रोग विशेषज्ञहरू चिन्तित देखिन्छन् । नेपालमा दोस्रो चरणको कोरोना भाइरसको म्युटेन्ट विशेषतः कम उमेरमा बढी संक्रमित देखिएको छ । हाल फैलिरहेको दोस्रो स्वरूपको संक्रमणले १८ वर्ष मुनिका बालबालिका र वृद्धवृद्धालाई बढी असर पार्ने विशेषज्ञहरूले बताएका छन् । 

के हे डबल म्युटेन्ट ?

डबल म्युटेट भनेको एउटै भाइरसमा एकैपटक दुई प्रकारको स्वरुप देखिनु हो । पहिलो पटक नेपालमा देखिएको कोरोना भाइरस वाइल्ड टाइप भाइरस हो । हरेक भाइरसले रूप परिर्वतन गरे जस्तै कोरोनाले पनि रूप परिवर्तन गरेको हो । परिवर्तित स्वरूपको भाइरसले पहिलेको जस्तै काम गर्छ भन्ने हुँदैन । यसले पहिलेको रूपभन्दा फरक-फरक किसिमका लक्षणहरू देखाउन थाल्नु स्वाभाविक हो ।

भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दा यसको लक्षणमा केही परिवर्तन हुनुलाई म्युटेसन भनिन्छ । केही म्युटेसन हुँदा शरीरमा भाइरस प्रवेश गराउने प्रोटिन बढाउने हुँदा म्युटेसन भएका भाइरसहरू बढी संक्रमित हुन्छन् ।

कोरोना भाइरसको डबल म्युटेन्ट स्वरूपले पनि शरीरको प्रतिरोधी क्षमतालाई कमजोर बनाउँदै संक्रमण बढाउँछ । पहिलेको महामारीमा नेपालमा एक प्रकारको मात्र भाइरसको प्रकृति देखिएको थियो तर हाल यसको म्युटेन्ट स्वरूप नेपालमा भित्रिनु चिन्ताको विषय बनेको छ । 



भारतमा फैलिएको डबल म्युटेन्ट स्वरूप नेपालमा पनि तिव्र गतिमा फैलिएकाले यसले चिन्ता बढाएको विशेषज्ञहरू बताउँछन् । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार भारतीय स्वास्थ्य मन्त्रालयले पनि यो भाइरसमा छिटो सर्न सक्ने सम्भावना भएको बताएकाले नेपालमा पनि यसको संक्रमण बढ्ने सम्भावना रहेको छ ।

त्यस्तै जनस्वास्थ्यविद् डा. रवीन्द्र समीर भन्छन्, ‘एउटै भाइरस दुई पटक म्युटेसन भएको भाइरसलाई डबल म्युटेन्ट भाइरस भनिन्छ’, उनी भन्छन्, ‘डबल म्युटेन्ट भनेको पहिलेको भाइरस सय जनालाई लागेको थियो भने २ सय जनामा सार्ने क्षमता राख्थ्यो । यो भाइरस एकबाट एकमा मात्रै नभई धेरैमा सर्ने क्षमता राख्छ । तुलनात्मक हिसाबले यो भाइरसको प्रजाति निकै नै छिटो सर्ने क्षमता राख्छ ।



नेपालमा पछिल्लो पटक कुन प्रजातिको भाइरस 

नेपालमा हाल धेरै मात्रामा देखिएको भनेको युके भेरियन्ट हो । यो भाइरस पहिलेको तुलनामा ७० प्रतिशत बढी संक्रामक पाइन्छ । यो भाइरसको प्रकोप नेपालमा पहिलेकै अवस्थामा फैलिएमा नियन्त्रण गर्न गाह्रो हुने चिकित्सकहरू बताउँछन् ।

‘यो पहिलेको तुलनामा ७० प्रतिशत बढी संक्रामक छ’, डाक्टर रवीन्द्र समीरका अनुसार यो भाइरसलाई सरकार तथा सम्बन्धित निकायले लापरबाही गरेमा यसले प्रकोप निम्त्याउन सक्छ । अनुसन्धान अनुसार यो भाइरस निकै नै संक्रामक रहेको छ । यो भाइरस फैलिएमा सबैमा एकै किसिमको र खतरायुक्त नै हुन्छ भन्ने हुँदैन ।

छिमेकी मुलुक भारतमा फैलिएको युके भेरियन्ट नेपालमा पनि फैलिएको हो । नेपालमा हाल सीमित मात्रामा आइसियु तथा भ्यान्टिलेसन भएकाले यसको लहर धेरै फैलिएमा स्वास्थ्यकर्मी तथा सामान्य उपचार र हेरविचार समेत नपाउने अवस्था नेपालमा सिर्जना हुन सक्ने विज्ञहरू बताउँछन् ।

कोरोना खोप कत्तिको प्रभावकारी

हाल नेपालमा देखिएको युके भेरियन्टका लागि खोप प्रभावकारी र उचित देखिएको विशेषज्ञहरूको ठहर छ । विश्व स्वास्थ्य संगठन तथा बेलायतमा भएको एक अनुसन्धानले हाल प्रयोगमा आएको खोप प्रभावकारी रहेको बताएका छन् । यो खोप युके भेरियन्टका लागि प्रभावकारी छ । यो खोप अन्य भेरियन्टका लागि भने कत्तिको प्रभावकारी भन्ने हालसम्म प्रमाणित नभएको विज्ञहरू बताउँछन् ।

भाइरसको नयाँ प्रवृत्ति आएसँगै खोप पनि नयाँ प्रविधिहरू थपिँदै जाने चिकित्सकहरू बताउँछन् । भाइरसमा आएको परिवर्तनसँगै खोप पनि अपग्रेड हुँदै गएर सबै प्रकारका भेरियन्टका लागि उपयुक्त हुने खोप आउन सक्छ । 

सुरक्षित कसरी रहने 

कोरोनाको म्युटेन्ट स्वरूपबाट बच्न मानिसहरूले स्वास्थ्य सतर्कता अपनाई हात धुने, मास्कको प्रयोग गर्ने तथा भिडभाडयुक्त ठाउँमा नजाने अथवा जानै परेमा स्वास्थ्य सर्तकता अपनाई जाने कुरामा ध्यान दिनुपर्छ । कोरोनाको यो भेरियन्ट निकै संक्रामक रहेका कारण मानिसहरूले आफ्नो व्यक्तिगत तहबाट स्वास्थ्य सर्तकता अपनाउनु  जरुरी रहेको विज्ञहरू बताउँछन् ।

  • प्रकाशित मिति : बैशाख ४, २०७८ शनिबार १९:४३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया