प्रदेश १ : मुख्यमन्त्रीले बोल्नै नपाइ प्रदेशसभा अधिवेशन अन्त्य

विपक्षी दलहरूको अवरोधपछि प्रदेश १ को सातौँ प्रदेशसभा अधिवेशन अन्त्य भएको छ। विपक्षीको अवरोधका बीच प्रदेश प्रमुख सोमनाथ अधिकारीले पठाएको प्रदेश सभा अधिवेशन अन्त्यको पत्र सभामुख प्रदीपकुमार भण्डारीले बाचन गरेका छन्। 

गत माघ ७ गते सुरु भएको प्रदेशसभा अधिवेशनको अन्तिम दिन प्रदेशसभालाई सम्बोधन गर्न मुख्यमन्त्री शेरधन राई उपस्थित थिए। तर विपक्षी दलहरुले उभिएर अवरोध गरेपछि उनले बोल्न पाएनन्। 

नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले चालु वर्षका लागि स्वीकृत कार्यक्रम सुचारू गर्नुपर्ने, विकास आयोजना निरन्तरता दिनुपर्ने, अलपत्र बहुबर्षे विकास आयोजना सुचारु गर्नुपर्ने माग गर्दै पछिल्ला बैठक अवरुद्ध गरेका हुन्। तर सरकार र विपक्षीबीच संवाद नभइरहेका बेला अधिवेशन नै अन्त्य भएको हो।

आइतबारको बैठकमा पनि विपक्षी दलहरुले सुरुमै उठेर विरोध जनाए। सभामुख भण्डारीले विपक्षी दलहरूका कुराको जवाफ दिन मुख्यमन्त्री उपस्थित भएको भन्दै बस्न भनेका थिए। तर, नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले  मुख्यमन्त्रीको भाषण सुन्न नआएको भन्दै आफ्ना मागहरु सम्बोधन नभएसम्म बैठक चल्न नदिने अडान राखे।

मुख्यमन्त्री राई प्रदेशसभाको अधिवेशनका कुनै बैठकमा गएनन्। फागुन ११ मा पुन:स्थापित भएपछि संघीय संसदको प्रतिनिधिसभामा पनि प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भएका छैनन्। तर अधिवेशन अन्त्य गर्ने निर्णय प्रदेश प्रमुखको कार्यालयमा पठाएर उनी सभामा बोल्न गएका थिए। तर, विपक्षीहरूको अवरोधका कारण उनले बोल्न पाएनन्। विपक्षीहरूको विरोधकाबीच सभामुख भण्डारीले अधिवेशन अन्त्यको पत्र पढेर सुनाए।

हिउँदे अधिवेशनलाई विधेयक अधिवेशन पनि भनिन्छ। तर यो अधिवेशनमा सरकारले एउटा पनि विधेयक टेबुल गर्न सकेन। कृषि अनुदानसम्बन्धी एउटा विधेयक प्रदेशसभा सचिवालयमा लगिए पनि त्यसले प्रदेशसभामा पुग्नै नपाई अधिवेशन नै अन्त्य गरिएको छ।





  • प्रकाशित मिति : बैशाख ५, २०७८ आइतबार १४:४०:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया