सुदूरपश्चिममा कोरोना संक्रमण बढ्यो :  मास्क नलगाउनेलाई सय रुपैयाँ जरिवाना
माक्स नलगाउनेलाई सम्झाइ-बुझाइ गर्दा प्रहरी । तस्बिर : कैलाश जोशी

सुदूरपश्चिममा कोरोना संक्रमण हरेक दिन बढेको बढ्यै छ । तर, स्थानीयहरूले भने कोरोना संक्रमणबाट बच्न सुरक्षाका सामान्य उपाय समेत पालना गरेका छैनन् । स्थानीय प्रशासनले स्वास्थ्य सुरक्षा मापदण्डमा कडाइ गरे पनि लापरबाही बढेको छ । स्थानीयले माक्स समेत लगाउन छोडेपछि प्रशासनले कारबाही सुरु गरेको हो ।

जिल्ला प्रशासन कार्यालय कैलालीलाको निर्देशनपछि सडकमा मास्क नलगाई हिँड्नेलाई कारबाही गर्न थालिएको छ । संक्रामक रोग ऐन, २०२० बमोजिम जिल्ला प्रशासन कार्यालय कैलालीको निर्देशन अनुसार कैलाली प्रहरीको मातहतमा रहेका प्रहरी युनिटहरू मास्क नलगाई हिँड्नेलाई कारबाही गर्न थालेका हुन् ।

माक्स नलगाउनेलाई सम्झाइ-बुझाइ गर्दै एक सय रुपैयाँ जरिवाना गर्ने गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । ‘जति माइकिङ गर्दा पनि नागरिकहरूमा माक्स समेत लगाउन छोडेपछि बाध्य भएर जरिवाना गर्न सुरु गरेको हो’, उनले भने ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक भरत चौधरीले सुरुमा सम्झाइ-बुझाइ गर्न थालिएको र आवश्यक परे जरिवाना पनि तिराउने गरेको बताए । चैत महिनाको दोस्रो सातादेखि निरन्तर सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमण दरमा उकालो छ ।

गत चैत ३ गते भारतबाट फर्किनेहरूको सीमा नाकामा परीक्षण गर्न सुरु गरिएको थियो । सोही दिन भारतबाट आउने नेपालीहरूमध्ये केहीमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसयता सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमण दर दिनप्रतिदिन बढ्दै गएको छ ।

बुधबार मात्र सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परीक्षणमा थप २५ जनामा कोरोना पुष्टि भएको छ । कोरोना संक्रमितहरू बढ्दै गएपछि धनगढीको कोरोना अस्पताल समेत भरिएको छ । ३८ जना कोरोना अस्पतालमा उपचाररत छन् । ३ जना भेन्टिलेटरमा, १० जना आइसियुमा र बाँकीको अक्सिजन दिनुपर्ने अवस्था रहेको अस्पतालले जनाएको छ ।



भारतका विभिन्न स्थानबाट नेपाल फर्किरहेका नेपालीहरूमा कोरोना भाइरस संक्रमण बढेको भए पनि कुन भेरियन्टको हो भन्ने विषयमा भने अन्योल थियो । त्यसका लागि हङकङ पठाइएको नमुनामा सुदूरपश्चिम प्रदेशमा देखिएको कोरोना भाइरसको भेरियन्ट ‘युके भेरियन्ट’ पुष्टि भएको छ ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालका अनुसार पछिल्लो कोरोना भाइरसको प्रकार पत्ता लगाउन विभिन्न जिल्लाका २० जनाको नमुनाहरू गत चैत १५ गते काठमाडौं पठाइएको थियो । त्यसमध्ये तीन जनामा कोरोनाको नयाँ भेरियन्ट पुष्टि हुँदा त्यो भेरियन्टको प्रकार पत्ता लगाउन हङकङ पठाइएको नमुनामा तीन जनामा नै युके भेरियन्ट पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।



डोटीको जोरायल गाउँपालिका, कञ्चनपुरको कृष्णपुर नगरपालिका र डडेलधुराको परशुराम नगरपालिकाका एक/एक जनामा युके भेरियन्ट कोरोना रहेको पुष्टि भएको छ । त्यसपछि भने कसैको पनि नमुनामा भेरियन्ट छुट्ट्याउनका लागि काठमाडौँ पठाइएको छैन । एक चिकित्सकका अनुसार सुदूरपश्चिम प्रदेशमा फैलिएको कोरोना भारतमा जस्तै युके मात्रै नभएर अन्य मुलुकमा फैलिएको भेरियन्ट पनि पुष्टि हुने संकेत देखिएको छ ।

सुदूरपश्चिम प्रदेशमा हाल ३१७ सक्रिय संक्रमित छन् । स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार कैलालीमा सबैभन्दा बढी १८० संक्रमित छन् । कञ्चनपुरमा ८८, बैतडीमा २३, अछाममा ४, डडेल्धुरामा ९, डोटीमा ८, बाजुरा र अन्य जिल्लाका २/२ तथा बझाङ्गमा एक जना संक्रिय संक्रमित रहेको छन् । सुदूरपश्चिममा हालसम्म ५९ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

निर्देशनालयका अनुसार सबैभन्दा बढी कैलालीमा ३१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कञ्चनपुरमा १२, बैतडी, बझाङ्ग, डडेल्धुरामा ३/३ जना संक्रमितको मृत्यु भएको छ । अछाम, बाजुरा, दार्चुलामा २/२ जना तथा डोटीमा एक जना कोरोना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

सुदूरपश्चिम कोरोनाको उच्च जोखिममा हुनुमा भारत प्रमुख कारण बनेको छ । रोजगारीका लागि सुदूरपश्चिमबाट भारत जानेहरू निकै छन् । कोरोना जोखिम बढ्दै गएपछि कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि स्थानीय प्रशासनले कैलाली र कञ्चनपुरमा आंशिक निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार धनगढी उपमहानगरपालिकाका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ भने अन्य स्थानीय तहलाई पनि १० दिनसम्म विद्यालय बन्द गर्न आग्रह गरिएको छ ।

सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल, हाटबजार, फुटसल बन्द गर्न आदेश दिएको सूचना अधिकारी जोशीले बताए । धेरै भीड रहने मालपोत कार्यालय धनगढीले कोभिडको जोखिम बढेपछि स्थानीय तहका नागरिकलाई सेवा दिन छुट्टाछुट्टै बार तोकेको छ ।

प्रदेश सरकार कोरोनाको संक्रमण बढेपछि सुदूरपश्चिम सरकारले कोरोना अस्पतालका लागि भवन निर्माणमा जुटेको छ । केही महिना अगाडिसम्म कोरोना संक्रमणदर घटेपछि सुस्ताएको प्रदेश सरकार कोरोना संक्रमणदर बढेपछि ५० शय्याको भवन निर्माण गर्न लागेको छ ।

  • प्रकाशित मिति : बैशाख ८, २०७८ बुधबार २०:९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया