'पदकलाई पैसासँग दाँज्न मिल्दैन'

गोपी चन्द्र पार्की नेपाली एथ्लेटिक्समा ऐतिहासिक नाम हो। उनी १३औँ दक्षिण एसियाली खेलकुदको ५ किलोमिटर दौडतर्फ स्वर्ण जितेर उनी यो प्रतियोगितामा पदक जित्ने पहिलो नेपाली खेलाडी बने।

उनी हाल जापानमा आयोजना हुने ओलम्पिक २०२१ को तयारीमा जुटेका छन्। उनी ओलम्पिकमा एथ्लेटिक्स विधामा नेपाललाई स्वर्ण जिताउन चाहन्छन्। भन्छन्, ‘हामीभन्दा धेरै अब्बल खेलाडीहरु छन्। तर नेपाललाई जिताउने लक्ष्य छ। केही नभए पनि उत्कृष्ट १० भित्र पर्न सक्यौं भने पनि नेपालका लागि राम्रो कुरा हो।’

१३औँ दक्षिण एसियाको स्वर्णको सम्झना

१३औँ दक्षिण एसियाली खेलकुदमा इतिहास रचेको पल सम्झिँदा गोपी निकै रोमाञ्चित हुन्छन्। ‘हरेक नेपाली खेलाडीको एउटा लक्ष्य हो, दक्षिण एसियाली खेलकुद। मेरो पनि लक्ष्य थियो’ उनी भन्छन्।  

उनले दक्षिण एसियाली खेलकुदका लागि सात वर्षसम्म मेहनत गरेका थिए । १२औँ दक्षिण एसियाली खेलकुदमा आफ्नो ट्रयाकमा आएको समस्याका कारण उनले उक्त खेल गुमाएका थिए। 

‘१२औँ सागमा गुमाएको अवसर र पदक १३औँ सागमा पाएँ। एकदमै खुसीको क्षण थियो’ उनी स्वर्ण जित्दाको खुसी व्यक्त गर्छन्, ‘१३औं दक्षिण एसियाली खेलमा जितेको त्यो स्वर्णले गर्दा नै मलाई ओलम्पिकसम्मको यात्रा तय गर्न मद्दत पुग्यो।’



ओलम्पिकमा उनको व्याक्तिगत लक्ष्य भनेको सकेसम्म राम्रो गरेर जित हाँसिल गर्ने छ। पार्कीलाई थाहा छ, ओलम्पिकमा नेपाल भन्दा धेरै राम्रो सुविधा पाएका खेलाडीहरु हुन्छन्। हामी भन्दा धेरै राम्रो धावनमार्गमा तयारी गरी रहेका हुन्छन्। उनीहरुसँग प्रतिस्पर्धा गर्दा निकै गाह्रो हुने भएपनि जित्ने र नेपालको नाम राख्ने लक्ष्यमा ध्यान केन्द्रीत छ उनको। 

उनी बैकुण्ठ मानन्धरले राखेको राखेको कीर्तिमान तोड्न चाहन्छन्। पार्की भन्छन्, ‘१९८७ मा बनेको बैकुण्ठ गुरुको कीर्तिमान तोडेर नयाँ रेकर्ड बनाउन मन छ।’उनी एघार वर्षदेखि सशस्त्र प्रहरीमा आवद्ध छन्। उनी खेलकुदमा लागेको भने आठ वर्ष भयो। 



गोपीको खेल यात्रा 

उनी २०४६ साउनको १० गते धनगढी, कैलालीमा जन्मिएका हुन्। २०६३ सालमा उनी कक्षा ७ मा पढ्दै गर्दा पहिलो पटक दौडमा भाग लिएका थिए। स्कुलको प्रतिस्पर्धामा जितेर कापी र कलम पुरस्कार पाउँदा निकै खुसी हुन्थे उनी। त्यै पुरस्कारको लोभले दौडमा प्रतिस्पर्धा गर्थे। ‘पहिला रहरले दौडमा भाग लिन्थेँ, अहिले त्यही रहर करियर भयो’ उनी सुनाउँछन्।

त्यसपछि क्रमशः उनले जिल्ला स्तरीय, क्षेत्रीय र राष्ट्रिय खेलहरु खेल्दै गए। राष्ट्रिय खेल खेल्दासम्म उनलाई कसरी दौडने केही थाहा थिएन। दौडमा नियम हुन्छ भन्ने उनलाई थाहा थिएन। उनले कैलाली बस्दासम्म दौडको नियम थाहा नभई दौडमा भाग लिइरहेका थिए। २०६४ साल फागुनमा सशस्त्र प्रहरीमा उनी भर्ना भए। सशस्त्रमा भर्ना भएपछि भने उनले आफ्नो व्यवसायिक खेल जीवन सुरु गरे।

उनलाई राष्ट्रिय खेल खेल्दासम्म दौडमा प्रशिक्षणको आवश्यकता पर्छ भन्ने ज्ञान थिएन। ‘मलाई थाहा नै थिएन। दौडिने पनि खेल हो भनेर। यसमा प्रशिक्षकको आवश्यकता पर्छ। प्रशिक्षण हुन्छ भनेर निकै पछि थाहा पाएँ’ उनी भन्छन्।

कसरी तयारी गर्दैछन् ?

हाल एपीएफ र ओलम्पिक कमिटीको सहयोगमा उनले ओलम्पिकको तयारी गर्दैछन्। उनलाई हाल एपिएफका प्रशिक्षक सन्तोष कुमार श्रेष्ठले प्रशिक्षण गराइरहेका छन्। हरेक ओलम्पिक तयारी गर्दै गरेको खेलाडीका लागि ओलम्पिकले छात्रवृत्ति दिन्छ। तर उनी त्यो छात्रवृत्तिबाट वञ्चित रहे। केही प्रविधिक कमजोरीका कारण उनी फारम भर्नबाट छुटे। हाल ओलम्पिक कमिटीले कपडा, जुत्ता तथा खानाका लागि उनलाई महिनाको २० हजार रुपैया दिने गरेको छ।

ओलम्पिकका लागि छनोटमा खेलाडीका लागि छात्रवृत्ति स्वरुप प्रतिमहिना ५ सय डलर आउँछ।

सशस्त्रको सहयोग

एथ्लेटिक्समा उनले अहिले जे सफलता पाएका छन्, त्यो सशस्त्रकै सहयोगमा भएको पार्की सुनाउँछन्। ‘मेरो खेललाई व्यावसायिक बनाएको एपीएफले हो, उनी भन्छन्, ‘म जहाँ छु जे छु मेरो खेलका लागि वातावरण मिलाउने सम्पूर्ण काम सशस्त्रले नै गरेको हो।’

हाल उनलाई प्रशिक्षणदेखि हरेक सेवा सुविधामा विभागीय परिषदले सहयोग गरिरहेको छ। लकडाउनको समयमा पनि निरन्तर प्रशिक्षणमा रहने वातावरण एपीएफले बनाएको उनले जानकारी दिए। 

एथ्लेटिक्समा भविष्य 

दत्तचित्त भएर खेलकुदमा लाग्ने हो भने यसमा भविष्य रहेको गोपी सुनाउँछन्। ‘नेपालका हरेक खेलाडी आर्थिक रुपमा सबल हुन्छन् भन्ने हुँदैन’ उनी भन्छन्, ‘एथ्लेटिक्समा लागेर जीवन निर्वाह गर्छु भन्ने हो भने यो खेलमा भविष्य छ।’ खेलाडीका लागि आर्थिक अवस्था कस्तो भन्ने त भएपनि खेलकुद र पदकलाई अर्थसँग जोड्न नमिल्ने उनको भनाइ छ। 

‘पदक भनेको कास्य पदक होस् या स्वर्ण खेलाडीका लागि पदकले निकै महत्व राख्छ’ उनी भन्छन्। एथ्लेटिक्समा भविष्य रहेको तर समयसँगै टिक्न सक्नुपर्ने उनको धारणा छ। 

  • प्रकाशित मिति : बैशाख १०, २०७८ शुक्रबार १०:५०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया