तीन महिना कोमामा पुगेर बाँचेका युवाको साउदी अरबबाट उद्धार

परिवारको आवश्यकता पूरा गर्ने सपनासहित वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका थिए मोरङका बेदबहादुर भुजेल। तर  साउदीमा भने जस्तो काम नपाएपछि उनी बेखर्ची मात्र भएनन् गैरकानुनी रुपमा बस्न बाध्य भए । 

परिवारमा खुशी ल्याउने इच्छा पालेर साउदी पुगेका भुजेलको जिन्दगीमा त्यही क्रममा नसोचेको बज्रपात पर्यो । साथीभाइको सहयोगमा गैरकानुनी रहेर पनि एक कम्पनीमा काम सुरु गरेका भुजेल कामकै क्रममा ठूलो दुर्घटनामा परे । 

उनी स्थानीय अस्पतालमा साढे दुई वर्षसम्म उपचारका लागि भर्ना भए । त्यसक्रममा उनी महिनासम्म कोमामा परेका थिए। परदेशका बेखर्ची भुजेललाई अस्पतालले  दुई करोड ५० लाख (८ लाख २३ हजार रियाद) को बिल थमाइदियो । 

खान बस्न समेत समस्यामा परेका भुजेल अस्पतालको बिल देखेर छाँगाबाट खसे जस्तै भए । बिल तिर्न नसक्ने भएपछि साउदी अरबको रियादस्थित फ्यामेली केयर अस्पतालले उनीविरुद्ध मुद्धा दायर गरेको थियो । त्यही मुद्दाका कारण भुजेलले साउदी अरब छोड्न नपाउने स्थितिमा पुगे ।

विभिन्न माध्यमबाट उनी नेपाली दूतावास र गैरआवासीय नेपाली संघको सम्पर्कमा पुगे । दुई वर्षदेखि नेपाली दूतावासको सेल्टरमा रहेका भुजेलको मुद्दा फिर्ता गराउन  नेपाली दूतावासले  पहल गर्‍यो । दूतावासको पहलपछि अस्पतालले भुजेलविरुद्ध अदालतमा रहेको मुद्दा फिर्ता लिइदियो । मुद्दा त  फिर्ता भयो तर नेपाल फर्किने उपाय थिएन । 

आर्थिक रुपमा निकै कमजोर भुजेलको सहयोगका लागि नेपाली दूतावास साउदीले गैरआवासीय नेपाली संघलाई आग्रह गर्यो। त्यसपछि नेपालसम्म लैजाने जिम्मेवारी संघले लिएको थियो । संघको कोभिड-१९ राहत तथा उद्दार कार्यक्रम अन्तर्गत उनलाई साउदीदेखि  विराटनगरसम्म  पुग्न आवश्यक हवाई टिकट, काठमाडौंमा बस्न खान व्यवस्था गरियो । 



 उनको सहयोगार्थ संघले स्वयंसेवक परिचालन गरेको थियो । विराटनगरबाट घरसम्म जान गाडीको समेत व्यवस्था संघले मिलाएको थियो । गैरआवासीय नेपाली संघले सञ्चालन गरेको वैदेशिक रोजगारीका नेपालीको उद्दार र पुन:स्थापना कार्यक्रम अन्तर्गत भुजेलको सम्पूर्ण खर्च व्यहोरेर परिवारसमक्ष बुझाएको हो ।  

भुजेलको आर्थिक अवस्था अत्यन्त नाजुक छ । वैदेशिक रोजगारीका लागि  १ लाख  रुपैयाँ चर्को ब्याजमा ऋण लिएका भुजेलको ऋण अहिले  ब्याजसहित ३ लाख ५० हजार भन्दा बढी पुगेको छ । परिवारसँगको भेटपछि खुसी उनी अब के गर्ने भनेर चिन्तित छन् । 



उनको ठूलो चिन्ता  साहुको ऋण तिर्ने हो । 'जसोतसो बाँचेर त आएँ तर  अब के गर्ने भन्ने चिन्ता छ', उनले भने। साउदी अरबस्थित नेपाली दूतावासले बिहीवार एक विज्ञप्ति जारी गर्दै उनको उपचार खर्च मिनाहा गर्ने रियादस्थित फ्यामेली केयर अस्पताल, स्वदेश फिर्तीको व्यवस्था गरिदिने गैरआवासीय नेपाली संघ लगायतलाई धन्यवाद दिएको छ। 

 संघका उपाध्यक्ष एवं वैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजक डा.बद्री केसीले वैदेशिक रोजगारीमा अलपत्र नेपाली श्रमिकहरुलाई राहत र उद्दार जारी रहेको बताए। उनले संघको यस कार्यक्रम अन्तर्गत सेप्टेम्बर २०२० देखि हालसम्म कोभिड–१९ का कारण समस्यामा परेका १७ हजार भन्दा बढी नेपाली श्रमिकलाई सहयोग गरिएको बताए।

  • प्रकाशित मिति : बैशाख १०, २०७८ शुक्रबार १७:२४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया