पुनः त्रासमा पर्यटन व्यवसाय

कोरोना भाइरसको पहिलो लहरमा केही कमी आएसँगै गत साउन १५ देखि होटल तथा रेस्टुरेन्ट खुले । त्यसपछि भदौमा अन्तर्राष्ट्रिय उडान खुला गरियो । असोज पहिलो सातादेखि आन्तरिक उडान खुले । विदेशी पर्यटकका हकमा सबैभन्दा पहिला खुलेको क्षेत्र हो, पर्वतारोहण । सरकारले माघमा सबै पर्यटकीय क्षेत्र खुलाउने निर्णय लियो ।

यससँगै पर्यटन क्षेत्रले पुरानै लय समात्न थालेको थियो, तर फेरि कोरोनाको अर्को लहर सुरु भयो । कोरोनाको अत्यधिक असर पर्ने पर्यटन क्षेत्र पुनः मन्दीतर्फ धकेलिन थालेको यस क्षेत्रका व्यवसायीहरू बताउँछन् । उनीहरूका अनुसार कोरोनाको दोस्रो लहर सुरु भएसँगै होटल तथा रेस्टुरेन्ट व्यवसायमा मन्दी छाउन थालेको छ । पछिल्ला केही दिन यता ग्राहकको संख्या पनि घटेको छ । समग्रमा यतिबेला पर्यटन व्यवसायमा त्रास उत्पन्न भएको छ ।

होटल एसोसिएसन नेपाल (हान) का वरिष्ठ उपाध्यक्ष विनायक शाहका अनुसार कोरोनाको असरले व्यवसायीहरू अत्तालिएका छन् । ‘कोरोनाको दोस्रो लहर व्यापक रूपमा फैलिन थालेको छ’, वरिष्ठ उपाध्यक्ष शाह भन्छन्, ‘आगामी दिनमा यसले पर्यटन व्यवसाय धराशायी अवस्थामा पुर्‍याउने देखिएको छ ।’ अहिले नै ग्राहक, व्यवसायी तथा पर्यटनको अवस्था अस्तव्यस्त बनाइसकेको उनी बताउँछन् ।

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) का अनुसार गत तिहारपछि महामारी साम्य हुँदै जाँदा ५०–६० प्रतिशत व्यापार हुन थालिसकेको थियो ।
‘मूलतः पर्यटकका लागि खोलिएका रेस्टुरेन्टहरूमा अझै पनि व्यापार शून्यप्रायः नै छ, मैले नै ठमेलको रेस्टुरेन्ट अस्थायी रूपमा बन्द गरें,’ रेबानका महासचिव एकराज अधिकारी भन्छन्, ‘अरू रेस्टुरेन्टहरू पनि ग्राहकविहीन हुन थालेका छन् ।’

उनका अनुसार अहिले घाटामा चलिरहेका रेस्टुरेन्ट र क्याफे आफैं बिक्रीमा रहेको विज्ञापन सामाजिक सञ्जाल र ई–कमर्स साइटहरूमा देखिन थालेका छन् । कतिपय रेस्टुरेन्टले सटर बन्द गरेर त कतिले खुलै राखेर बिक्रीको सूचना राखेका छन् । 

होटल तथा रेस्टुरेन्ट व्यवसाय अन्योलमा



आन्तरिक भ्रमणमा निस्कने बानीको विकास हुँदै जाँदा विदेशी पर्यटक बाहेकै पनि नेपालका होटल तथा रेस्टुरेन्ट भरिभराउ हुन थालेका थिए । कोरोनाको प्रभावसँगै व्यवसाय संकटमा पर्‍यो । गत साउनपछि ४० देखि ५० प्रतिशतको अकुपेन्सीमा साना होटल व्यवसाय सञ्चालनमा आए ।

पोखरा, सौराहा, चितवनलगायत पर्यटन गन्तव्यका होटल व्यवसाय आन्तरिक पर्यटकबाटै केही हदसम्म धानिए पनि । तर, कोरोना महामारीको दोस्रो लहरसँगै होटल तथा रेस्टुरेन्टहरू पुनः बन्द हुने अवस्थामा पुगेका छन् । बढ्दो कोरोना महामारीलाई ध्यानमा राख्दै सरकारले राति ९ बजेसम्म मात्रै होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्न दिने निर्णय गरेको छ ।



कोरोनाको प्रभावसँगै बन्द भएका विदेशी पर्यटक लक्षित पाँचतारे होटल अझैसम्म सञ्चालनमा आउन सकेका छैनन् । साना होटल, रेस्टुरेन्ट तथा रिसोर्ट आन्तरिक युवा पर्यटकका कारण केही चलेका भए पनि ठूला एवम पाँच तारे होटल सञ्चालन नहुँदै पुनः दोस्रो लहर फैलिसकेको शाह बताउँछन् ।

केही समूहलाई लक्षित गर्दैमा व्यवसाय पुनरुत्थान नहुने उपाध्यक्ष शाहको भनाइ छ । कोभिडको दोस्रो लहरले विदेशबाट हुने सोधपुछमा असर गरेको हुँदा पुनः होटल व्यवसाय अन्योलमा पुगेको उनको भनाइ छ । सरकारले विदेशी पर्यटक भित्र्याउन खुकुलो नीति ल्याएका कारण बढेको सोधपुछ केही दिनयता पुनः घटेको शाह बताउँछन् ।

कोरोनाका कारण थङथिलो बनेको पर्यटन क्षेत्रमा संलग्न व्यवसायीहरू अन्य व्यवसायको खोजीमा रहेको शाहको भनाइ छ । व्यवसायीहरू आफ्नो लगानी डुब्ने त्रासमा रहेकाले पनि अरु नै व्यवसायमा आबद्ध बन्न खोजिरहेको उनी बताउँछन् ।​

उठ्ने प्रयास गर्दा पुनः अवरोध 

नेपालमा साना खाजा पसलदेखि रेस्टुरेन्ट, बार, क्याफे जस्ता व्यवसायमा १० अर्ब रुपैयाँभन्दा बढी लगानी भएको अनुमान छ । रेस्टुरेन्ट जाने, खाने, रमाइलो गर्ने संस्कृति मौलाइरहेकाले यो व्यवसायको लगानीलाई अरूभन्दा सुरक्षित र प्रतिफलमुखी पनि मान्न थालिएको थियो । सहर मात्र होइन, राजमार्ग क्षेत्र र सहरीकरण भइरहेका गाउँहरूमा पनि रेस्टुरेन्ट संस्कृति फैलिँदै थियो ।

२०७६ माघसम्म रेस्टुरेन्ट, क्याफेमा हुने व्यापार बढ्दो दरमा थियो । नयाँ–नयाँ सोचमा साथ यो व्यवसायमा प्रवेश गर्नेहरूको संख्या पनि ठूलो थियो । अन्य पेसा–व्यवसायमा भएकाहरूले पनि क्याफे–रेस्टुरेन्ट समेत हुनुलाई कमाइसँगै प्रतिष्ठाको विषय मान्न थालेका थिए ।

सानो र मध्यम लगानीमै खोल्न सकिने र नाफा पनि राम्रो हुने भएकाले धेरैले रेस्टुरेन्ट–क्याफेमा लगानी गरेका छन् । महामारी अघिसम्म विदेशबाट फर्किएकाहरू पनि धमाधम यो व्यवसायमा हात हालिरहेका थिए । ठूला व्यवसायीदेखि राजनीतिक दलका नेता, कार्यकर्ता, सेलिब्रेटी र पत्रकारसम्मले क्याफे–रेस्टुरेन्ट चलाएका थिए । आफ्नो जनसम्पर्क (पिआर) प्रयोग गरेर आम्दानी गर्न यो व्यवसाय उत्तम ठहरिएको थियो ।

चीनमा कोरोनाको महामारी फैलिएर ‘सामाजिक दूरी’का लागि आह्वान हुन थालेपछि भने संसारभर नै रेस्टुरेन्ट व्यवसाय थला पर्न थाल्यो । नेपालमा २०७६ चैत ११ बाट लकडाउन सुरु भएपछि रेस्टुरेन्टहरूले बढीमा ‘टेक–अवे’ सेवा दिन थाले । लकडाउन खुलेपछि पनि यो व्यवसाय पुरानो लयमा फर्किन समय लाग्यो ।

२०७७ को तिहार अघिसम्म आम्दानी न्यून हुँदा अन्य व्यवसायीलाई जस्तै रेस्टुरेन्ट सञ्चालकलाई पनि कर्मचारीको तलब, घरभाडा, बिजुली र पानीको न्यूनतम खर्चलगायतले पिरोलिरहेको थियो । धेरै रेस्टुरेन्ट सञ्चालकहरू बेच्ने कि बन्द गरेर हिँड्ने मनोदशामा देखिए ।

रेस्टुरेन्ट समस्यामा पर्दा व्यवसायी मात्रै होइन, त्यहाँ निर्भर धेरै कर्मचारी समस्यामा पर्छन् ।  ग्राहक घटेपछि नगद प्रवाह रोकिएर रेस्टुरेन्टले भाडा तिर्न पनि समस्या परेको छ । सहरमा ठूलो खाली क्षेत्र र भवन भाडा लिएर रेस्टुरेन्ट सञ्चालन गरिएकाले भाडाबापतको रकम धेरै हुने गर्छ । केही रेस्टुरेन्टले अनलाइन प्लेटफर्ममार्फत् परिकार बेचेर टिक्ने कोसिस गरे । तर, धेरैका लागि यो सम्भव भएन । जसोतसो टिकेकाहरूलाई फेरि खराब दिन नदोहोरिने आशा थियो । तर, अहिले फेरि व्यवसायीले समस्या दोहोरिने खतरा देख्न थालेका छन् ।

कोरोना महामारीको दोस्रो लहर सुरु भएर रेस्टुरेन्ट व्यवसायमा फेरि नकारात्मक असर देखिन थालेको रेबानको भनाइ छ । रेबानका अध्यक्ष अरनिको राजभण्डारी तिहारपछि विस्तारै लयमा फर्किन थालेको व्यवसायमा फेरि कालो बादल मडारिएको बताउँदै भन्छन्, ‘फेरि उठ्ने कोसिसमा रहँदै गर्दा अर्को समस्या आइपरेको छ ।’

व्यवसाय बन्द नगरी प्रोटोकलमा कडाइ गर्नु जरुरी छ : रेबान

मुलुकको होटल तथा रेस्टुरेन्ट व्यवसायमा ठूलो लगानी रहेको छ । थुप्रै चेन होटल तथा रेस्टुरेन्टहरू सञ्चालनमा छन् । भर्खरै स्थापित भएर लगानी उठाउन नपाएकाहरू त त्यसै पनि सकसमा छन् ।

रेबानका महासचिव एकराज अधिकारी व्यापारले कर्मचारीको तलब र घरभाडा धान्न नसक्दा व्यवसायीहरू पलायन हुने अवस्था पुगेको बताउँछन् । पटक–पटक एउटै खालको समस्या भोगिरहनुपर्दा व्यवसायीमा नैराश्य पैदा भएको उनले बताए ।

रेबानका अध्यक्ष राजभण्डारी सरकारले रेस्टुरेन्ट बन्द गराउने नसोची स्वास्थ्य प्रोटोकल कायम गराए सबैको भलो हुने बताउँछन् । ‘रेस्टुरेन्टहरू स्वास्थ्य प्रोटोकल पालना गर्न तयार छन्,’ उनी भन्छन्, ‘सरकारले कार्यान्वयनमा कडाइ गर्दा हुन्छ ।’

समसाँझै रेस्टुरेन्ट बन्द गराउँदैमा कोरोना नियन्त्रण नहुने बरु दिउँसो, राति जतिबेला पनि स्वास्थ मापदण्ड प्रयोगमा कडाइ गरेर व्यावसाय सञ्चालन गर्नदिनु बुद्विमानी हुने उनले बताए । साथै यसबाट सरकारलाई समेत नोक्सान हुने उनको तर्क छ । रेस्टुरेन्ट व्यवसायबाट सरकारलाई वार्षिक ४ अर्बभन्दा बढी कर प्राप्त हुन्छ, यसरी व्यवसाय बन्द हुँदा उक्त करबापतको रकम सरकारलाई घाटा हुने राजभण्डारीको भनाइ छ ।

  • प्रकाशित मिति : बैशाख १०, २०७८ शुक्रबार २२:१७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया