एक वर्ष भन्दा बढी समयपछि नेपाली मैदानमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना भयो। नेपाल क्रिकेट सघ क्यानको आयोजनामा भएको त्रिकोणत्मक टि–२० अनतर्राष्ट्रिय सिरिजको फाइनल खेल मात्र बाँकी छ। फाइनलमा शनिबार नेपाल र नेदरल्याण्ड प्रतिस्पर्धा गर्दैछन्।
पहिलेको भन्दा यस प्रतियोगितामा नेपाले विशेष गरी ब्याटिङ निकै राम्रो प्रदर्शन ग–यो। नेपालको प्रदर्शनमा नव प्रवेशी खेलाडीको महत्वपूर्ण भूमिका देखियो। उनीहरुसँगै अन्य केही पुराना खेलाडी पनि लयमा देखिँदा नेपालको प्रदर्शन सुधारियो।
यस सिरिजबाट नेपालका तर्फबाट चार खेलाडीले डेब्यू गरे। शाहब आलम, आसिफ सेख, कुशल भुर्तेल र कमल सिंह ऐरीले यस खेलबाट सिनियर टिममा टि–२० डेब्यू गरेका हुन्। यी चारको प्रदर्शन यसपाली निकै सम्झना योग्य रह्यो।
कुशल भुर्तेल
यस सिरिजबाट सिनियर टिमबाट टी–२० डेब्यू गरेका कुशल भुर्तेल निकै चर्चामा रहे। यस सिरिजमा ओपनर ब्याट्म्यान भएर खेललाई रोमाञ्चक बनाए कुशलले। उनले डेब्यू खेलदेखि लगातार ३ खेलमा राम्रो प्रदर्शन गरी सबैको मन जिते।
यसै सिरिजमा डेब्यु गर्दै गर्दा उनले कीर्तिमान बनाए। उनी टी–२० अन्तर्राष्ट्रियमा लगातार तीन खेलमा अर्धशतक बनाउने पहिलो नेपाली बने।
यस सिरिजमा नेपालले चार खेल खेल्यो। चार खेलमा कुशलले तिन देशमध्ये सर्वाधिक रन जोडेका छन्। कुशलले चार खेलमा २०१ रन बनाइ धेरै रन बनाउनेको सूचीमा शीर्ष स्थानमा छन्।
कुशल बुटबलमा जन्मिएर हुर्किएका हुन्। उनले यसअघि अन्तर्राष्ट्रिय खेलमा २०१९ को एसीसी इमर्जिङ् एसिया कप खेलका थिए। घरेलु खेलहरुमा उनी अलराउन्डरको भूमिकामा देखा पर्थे। यस सिरिजमा भने उनलाई प्रशिक्षकले ओपनर ब्याट्म्यान भूमिकामा पठाए। उनले त्यो जिम्मावारीमा आफू समक्षम रहेको प्रमाणित समेत गरे।
उनको ओपनिङ नेपालका लागि भाग्यशाली साबित भयो। उनले चलाएको ब्याटको जादु नेपाली क्रिकेटमा देखिएको ब्याटिङको समस्यालाई ठूलै राहत दियो।
यो सिरिजमा उनको ब्याटिङको प्रशंशा निकै चुलियो। नेपालको जितहरुमा उनको नाम जोडियो। पहिलो खेलमा नेदरल्यान्ड विरुद्ध ४६ बलमा समान ५ चौका र ५ छक्का प्रहार गर्दै ६२ रनको योगदान दिए। उक्त खेलमा उनी म्यान अफ दि म्याच नै घोषित भए। पहिलो खेलमा देखाएको आक्रमक ब्याटिङ्लाई उनले तीन खेलमा निरन्तरता दिए , मलेसियाविरुद्धको दोस्रो खेलमा पनि कुशलले आक्रामक सुरुवात गरेका थिए।
२ छक्कासहित १३ बलमा १६ जोडेका उनी छिट््टै आउट भए।
आसिफ शेख
यस टि–२० सिरिजमा आसिफ शेखको पनि सिनियर टोलीबाट पहिलो अन्तराष्ट्रिय खेल हो। यस सिरिजमा उनी ओपनर ब्याट्म्यानको भूमिकामा देखा परे। उनले उमेर समुह अन्तर्गत थुप्रै अन्तराष्ट्रिय खेलहरु खेलिसकेका थिए।
वीरगंजमा जन्मिएर हुर्केका उनले सानैबाट आफ्ना दाजु आरिफ शेखको क्रिकेट प्रेमलाई पछ्याए। उनका दाजु आरिफ शेख नेपाली राष्ट्रिय टोलीका अलराउन्डर खेलाडी हुन्।
आसिफ भने घरेलु टोलीबाट खेल्न थालेबाट नै ओपनर ब्याट्म्यानको भूमिका खेल्थे। उनले यस सिरिजको पहिलो खेलमा कुशल भुर्तेलसँग गरेको साझेदारीले नेपालको बलियो प्रतिद्धन्द्धि मानिएको नेदरल्यान्ड माथि जित हाँसिल गर्न सफल भएको थियो।
उनले सिरिजको पहिलो खेलमा समान ४ चौका र ४ छक्का प्रहार गर्दै ५४ रनको योगदान दिएका थिए। पहिलो खेलमा नै उनले अर्धशतक बनाएका थिए। टि–२० को डेब्यु खेलमा नै उनले देखाएको ब्याटिङ क्षमताले अब नेपालमा ब्याट्म्यानको खडेरी टार्छ कि भन्ने आशा पलाएको छ। उनको ब्याटिङ शैली एकदमै व्यवसायिक र परिपक्क रहेको टिमका कोच डेभ वाटमोरले भनेका थिए।
कमल सिंह ऐरी
टि–२० सिनियर टोलीबाट डेब्यु गरेका अर्का खेलाडी हुन् कमल सिंह ऐरी। कमलले यस सिरिजको चौथो खेलमा मात्र खेल्ने अवसर पाए। अघिल्ला तीन खेलहरुमा वैकल्पिक खेलाडीका रुपमा मैदान बाहिर थिए उनी। मलेसियाविरुद्धको दोस्रो खेलमा उनले पहिलो टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गरे।
पहिलो खेलमा नै उनले बलिङमा गरेको प्रदर्शन प्रशंसनीय रह्यो। उनले ३.१ ओभरमा ३ विकेट लिँदै १६ रन खर्चेका थिए। उनले खेलको पछिल्लो समयमा ३ विकेट लिदैं मलेसियालाई अलआउट गरेका थिए। उनले यस अघि नेपालको यू–१९ टिमबाट पनि नेपालको लागि खेल खेलिसकेका छन्।
उनले २०१७ मा एसीसी यू–१९ एसिया कप खेलेका थिए। सिनियर टिमको खेलमा नेपालमा नै आयोजना भएको एक दिवसीय क्रिकेट प्रतियोगिताबाट उनले एक दिवसीय क्रिकेटमा डेब्यू गरेका थिए।
अलराउण्डर कमलले ब्याटिङको मौका नपाएपनि बलिङमार्फत सिनियर टोलीमा आफ्नो प्रभाव देखाउन सफल भए।
शाहब आलम
नेपालको लागि पहिलो अन्तर्राष्ट्रिय खेल खेलेका व्याक्ति हुन् शाहब आलम। शाहब आलमले यो भन्दा अघि नेपालका कुनै पनि अन्तर्राष्ट्रिय खेलहरु खेलेका थिएनन्। उनले यस सिरिजको तीन वटा खेलहरु खेले। उनी देब्रे हाते अर्थोडस्क स्पिनर हुन्। उनले यसअघि थुप्रै घरेलु प्रतियोगितामा भने राम्रो प्रदर्शन गर्दै आएका थिए।
यस सिरिजको पहिलो खेलबाट शाहब प्लेइङ ११ मा परेका थिए। पहिलो र दोस्रो दुवै खेलमा एक एक विकेट लिएका थिए। तेस्रो खेलमा भने विकेट लिन सकेनन। ३ खेलमा ८८ रन खर्चेर २ विकेट लिएका थिए।
यी खेलाडीहरुको नेपाली सिनियर टोलीमा प्रवेशले नेपाली क्रिकेटको भविष्यमा आशाका किरणहरु देखिएका छन्। यो प्रर्दशनलाई उनीहरुले आगामी खेलमा पनि निरन्तरता दिनसके उनीहरुको र नेपाली क्रिकेटको पनि भविष्य उज्ज्वल देखिन्छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।