कोरोनाको हटस्पट बन्दै मकवानपुर  : संक्रमण दर उच्च
३ दिनमा ७८ संक्रमित, दुईको मृत्यु

पछिल्लो समय मकवानपुर जिल्लामा लगातार कोरोना संक्रमण बढिरहेको छ । पछिल्लो ३ दिनमा बागमती प्रदेशको राजधानी हेटौंडामा समेत रहेको मकवानपुरमा जिल्लामा ७८ जनालाई कोरोना संक्रमण देखिएको छ भने दुई जनाको मृत्यु भएको छ ।

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रमा शुक्रबार एकजनाको कोरोनाको कारण मृत्यु भएको छ भने २४ जनलाई संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणबाट हेटौंडा उपमहानगर ४ भैरवरोडका ५० वर्षीय पुरुषको मृत्यु भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक तथा कोभिड फोकल पर्सन भोला चौँलागाईले बताए ।

मृतक पुरुष केही समयअघि विदेशबाट बिरामी अवस्थामा घर फर्केका थिए । शुक्रबार हेटौंडामा गरिएको परीक्षणका क्रममा थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । ४१ जनाको स्वाब परीक्षण गर्दा शुक्रबार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि हेटौंडामा संक्रमण दर उच्च रहेको प्रमाणित भएको छ । शुक्रबार संक्रमण पुष्टि हुनेमा एकजना दुई वर्षीय बालक समेत रहेका छन् ।

यस्तै, जिल्लामा बिहीबार मात्रै २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । बिहीबार ५२ जनाको कोरोना परीक्षण भएकोमा २९ जनाको रिपोर्ट पोजेटिभ आएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए । बिहीबार हेटौंडा उपमहानगरपालिका २२ जनामा कोरोना संक्रमण भेटिएको थियो । भीमफेदीका ४ जना  मनहरी गाउँपालिका  एकजना रहेको छन् ।  

जसमा २ जना बारा र नुवाकोटका एक जना रहेका छन् भने एक जना भारतीय रहेका छन् । यता बुधबार मात्रै २५ जनालाई कारोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

कार्यालयका अनुसार ४८ जनाको स्वाब परीक्षण गर्दा २२ जनामा संक्रमण देखिएको हो । बुधबार थपिएको संख्यासमेत गरी अहिले मकवानपुरमा ७३ जना सक्रिय संक्रमित छन् । उनीहरू सबै होम आइसोलेसनमा बसिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना संक्रमण हुनेमा ६ वर्षीय बालकदेखि वृद्धावस्थाका व्यक्तिसमेत छन् । मकवानपुरमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या बढ्दो क्रममा रहेको छ । 



कोरोना संक्रमणबाट बुधबार बिहान पनि एक पुरुषको मृत्यु भएको छ । कोरोनाको दोस्रो लहर आएपछि हेटौंडा ४ कर्राकोका ७४ वर्षीय वृद्धको मृत्यु भएको हो । यसअघि पहिलो चरणको संक्रमणमा कोरोनाबाट ३२ जनाको मृत्यु भएको थियो । 

आइतबारबाट जोर–विजोर, पार्क बन्द



मकवानपुरको हेटौंडामा आइतबारबाट निजी तथा सार्वजनिक सवारीहरूमा जोर–विजोर प्रणाली लागू गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणको न्यूनीकरणका लागि आइतबारबाट हेटौंडामा निजी तथा सार्वजनिक सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने तयारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिए ।

उनका अनुसार हेटौंडा उपमहानगरपालिका भित्र चल्ने निजी तथा सार्वजनिक सवारी सबैमा जोर–विजोर प्रणाली लागू हुनेछ । उनले भने, ‘जोर–विजोर मात्रै होइन, पार्क तथा पिकनिक स्पोटहरू वैशाख मसान्तसम्म बन्द गरिनेछ । उच्च संक्रमण दरलाई नियन्त्रण गर्न यस्तो निर्णय गरेका हौं ।’

  • प्रकाशित मिति : बैशाख १०, २०७८ शुक्रबार २०:९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया